२३ श्रावण २०७९ सोमबार
अर्थ

सुरूङमार्ग निर्माण गर्न स्वदेशी जनशक्ति तयार

नेपालमा सुरूङमार्ग सम्बन्धी ज्ञान भएका इन्जिनियरको संख्या निकै कम छ’, उनले भने– ‘सुरूङमार्ग सम्बन्धी ज्ञान, सीप र अनुभव हासिल गर्न यो परियोजना निकै लाभदायक भएको छ।’ – नौबिसे सुरूङमार्गका आयोजना निर्देशक नरेशमान शाक्य 

निर्माणाधीन नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजनाले सुरूङमार्ग सम्बद्ध दक्ष नेपाली जनशक्ति उत्पादन गरेको छ। २०७६ सालदेखि निर्माणाधीन सुरूङमार्गले करिब एक सयभन्दा धेरै जना सुरूङमार्ग सम्बन्धित दक्ष जनशक्ति तयार भएका छन्।

अहिले सुरूङमार्गमा जापानिज ठेकेदार कम्पनी हाज्मा आन्दो कर्पोरेसन, सबकन्ट्र्याक्टर र परामर्शदाता कम्पनीको तर्फबाट दक्ष तथा अर्धदक्ष कामदार गरेर करिब ५ सय भन्दा धेरैले काम गर्दै आइरहेका छन्। नेपालमा सडकतर्फको पहिलो सुरूङमार्ग भएकाले पनि यो सुरूङमार्गमा कार्यरत इन्जिनियर, मेकानिकल तथा अन्य कामदारले सुरूङ निर्माण सम्बन्धित ज्ञान र अनुभव बटुल्ने सुनौलो मौका पाइरहेका छन्।

नागढुंगा नौबिसे सुरूङमार्गका आयोजना निर्देशक नरेशमान शाक्यले आयोजनाले नेपालमा इन्जिनियरहरूलाई सुरूङमार्ग निर्माण सम्बन्धी ज्ञान तथा सिप हासिल गर्नका लागि उपयुक्त माध्यम बनेको बताउँछन्। ‘नेपालमा सुरूङमार्ग सम्बन्धी ज्ञान भएका इन्जिनियरको संख्या निकै कम छ’, उनले भने– ‘सुरूङमार्ग सम्बन्धी ज्ञान, सीप र अनुभव हासिल गर्न यो परियोजना निकै लाभदायक भएको छ।’

आयोजनाका निर्देशक शाक्यले नेपाली इन्जिनियरले अहिल्यै सुरूङको डिजाइन गर्न नसक्ने भए पनि सुरूङ निर्माणका काम अघि बढाउन सक्ने हैसियतमा पुगेको बताउँछन्। ‘अहिले नै सुरूङको सबै डिजाइन तयार पार्ने जनशक्ति त तयार भएका छैनन् तर सुरूङमार्ग निर्माण गर्ने र व्यवस्थापन गर्ने विषयमा धेरै ज्ञान हासिल गरिसकेका छन्।’

निर्देशक शाक्यले नौबिसे–नागढुंगा सुरूङमार्ग निर्माणको अनुभव नेपालमा आगामी दिनमा बन्ने सुरूङमार्गका लागि उपयो गर्न सकिने बताए। ‘अहिले नेपालमा सयौं इन्जिनियरहरू सुरूङमार्गको निर्माण र परामर्शदाताको रूपमा कार्यरत रहनुभएको छ,’ उनले भने– ‘उहाँहरूले सिकेको ज्ञान, सीप र अनुभव पक्कै पनि आगामी दिनमा निर्माण हुने सुरूङमार्गका लागि फलदायी हुनेछ।’

प्रमुख शाक्यले नेपाली इन्जिनियरहरूले विदेशमा सडक सुरूङमार्ग सम्बन्धमा सैद्धान्तिक रूपमा अध्ययन गरे पनि व्यवहारिक रूपमा काम गर्ने अवसर पाइरहनुभएको थिएन। ‘नागढुंगा सुरूङमार्ग निर्माण भएसँगै नेपाली इन्जिनियरहरूले सुरूङमार्ग कसरी खन्ने, सुरूङमा ड्रिलिङ गरेर विस्फोटक पदार्थ राख्ने र ब्लास्टिङ गर्ने लगायतका कामको अनुभव गर्न पाएका छन्,’ उनले भने– ‘नागढुंगा सुरूङमार्ग नेपाली इन्जिनियरहरूको लागि पाठशाला जस्तै भएको छ।’

अहिले नागढुंगा सुरूङमार्गमा विदेशी तथा स्वदेशी गरेर कुल ५ सय ४० जना कामदारले काम गर्दै आइरहेका छन्। आयोजनाको मुख्य जिम्मेवारीमा जापानिज तथा फिलिपिन्सका कामदार भए पनि अन्य विभिन्न पदमा भने नेपाली इन्जिनियर तथा अन्य कामदारले पनि काम गर्दै आइरहेका छन्। हाज्मा आन्दो कर्पोरेसनको तर्फबाट १९ जना र फिलिपिन्सका ६ जना कार्यरत छन्।

नागढुंगा नौबिसे सुरूङ मार्गमा परामर्शदाता कम्पनीको तर्फबाट काम गर्दै आइरहेका डेपुटी टिम लिडर अच्युत भट्टले जापानिजहरूले सुरूङमार्ग निर्माण गरेको हेर्दै सिक्दै आइरहेको बताए। ‘हामीले सुरूङमार्ग सम्बन्धी अध्ययन पनि गरेका छैनौं तर जापानिजहरूले गरेको काम हेर्दै सिक्दै आइरहेका छौं।’ उनले भने– ‘यस अघि सुरूङमार्ग निर्माण सम्बन्धी कुनै अनुभव थिएन। कम्तिमा सुरूङमार्ग यसरी बन्ने रै’छ भन्ने थाहा पाएका छौं।’

उनले यो आयोजना निर्माणमा पाएको ज्ञान र अनुभवलाई अन्य आयोजनामा पनि प्रयोग गर्न सक्ने क्षमताको विस्तार हुँदै आइरहेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा सिद्धबाबा सुरूङमार्गको निर्माणसहित २४ वटा सुरूङमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढाउने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरूङमार्ग निर्माण र अध्ययनको लागि एक अर्ब १९ करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। चालु आवमा सिद्धबाबा सुरूङमार्ग निर्माण गर्ने योजना बनाइएको छ। बाहिरी जिल्लालाई राजधानी काठमाडौंसँग जोडने एक मात्र नागढुंगा नौबिसे सुरूङ मार्ग अन्तर्गत मुख्य सुरूङको ५८ प्रतिशत प्रगति भएको छ।

नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजनाका अनुसार मुख्य सुरूङको कुल लम्बाइ २६ सय ८८ मिटर मध्ये अहिलेसम्म १४ सय ३४ मिटर मात्रै सुरूङ खनिएको छ। इभाक्युएसन (वैकल्पिक) सुरूङतर्फ भने १५ सय ७० मिटर खनिएको छ ।

प्रकाशित: २० श्रावण २०७९ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App