coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस

निक्षेपकर्ताको रकम फिर्ता नगरेर अर्बौ रूपैयाँ जोखिममा पारेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ।

निक्षेपकर्ताको रकम फिर्ता नगरेर सञ्चालक फरार भएपछि विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले बताए। ‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’

सहकारीको करिब पाँच अर्ब रूपैयाँ भन्दा बढी जोखिममा परेको बताइए पनि १ अर्ब ७० करोड रूपैयाँ निक्षेप फिर्ताको माग गर्दै आवेदन दिइएको उप–रजिष्ट्रार उपाध्यायले बताए। सहकारीले गत शुक्रबारबाट अफिस बन्द गरेपछि निक्षेप फिर्ताको माग गर्दै पीडितहरू सहकारी विभाग पुगेका हुन्।

सहकारीका अध्यक्ष रामबहादुर गौतमसहित कर्मचारी पनि अफिस नआएर बन्द गरेको पीडित बताउँछन्। सहकारी विभागले गौतम श्री बहुउद्देश्यीय सहकारीको विभिन्न ठाउँमा रहेको सम्पत्ति र सञ्चालक तथा व्यवस्थापकका नाममा रहेको सम्पत्ति रोक्का गर्न पत्राचार गरिसकेको छ। विभागका अनुसार सहकारीको सात स्थानमा सम्पत्ति रहेको छ।

विभागले प्रहरी प्रधान कार्यालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। सहकारीको काठमाडौं वडा नं १४ कुलेश्वरमा केन्द्रीय कार्यालय छ। केन्द्रीय कार्यालय रहेको भवन तथा जग्गा, टेकु, पोखरा, नारायणघाटमा रहको सेवा केन्द्रका चलअचल सम्पत्ति सुरक्षा गर्न पनि प्रहरीलाई भनेको छ। सहकारीको कुलेश्वरमा सुपरमार्केट, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म रहेको छ।

सहकारी, सञ्चालक र व्यवस्थापकको बैंकमा रहेको खाता रोक्का गर्न पनि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। सहकारीका अध्यक्ष गौतम हुन् भने संस्थाका सचिव राम गौतम, सदस्यहरू होम कुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, सुभाष भुसाल रहेका छन्।

लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रबिन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह रहेका छन्। सहकारीहरू एकपछि अर्को समस्याग्रस्त बन्दै गएको अवस्थामा पछिल्लो पटक गौतम श्री सहकारीमा यो समस्या देखिएको हो।

मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखे पनि सहकारीमा समस्या देखिनेक्रम बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन्। सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने घटना बाहिरिएसँगै एकपछि अर्को सहकारीका सञ्चालक धमाधम पक्राउ परेका छन्।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङले निक्षेपकर्ताको रकम नतिरेर पक्राउ परेका थिए। करिब साढे २२ करोड रूपैयाँ हिनामिना भएको आरोपमा प्रहरीले साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति संयोजक काठमाडौं महानगरपालिका–१५ का ४८ वर्षीय पञ्चमान महर्जनलाई पनि पक्राउ गरेको थियो।

निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरूद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रूपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो।

सहकारी विज्ञहरू पनि राज्यका निकायबाट प्रभावकारी नियमन नहुँदा समस्या सिर्जना भएको बताउँछन्। सहकारी क्षेत्रको कानुन पनि कमजोर रहेको एकथरीको तर्क छ। निक्षेपकर्ताको अर्बौं रूपैयाँ डुबाएको ओरियन्टल कोअपरेटिभ लिमिटेडका सदस्यले रकम फिर्ता पाएका छैनन्।

सो सहकारीमा करिब साढे ८ अर्ब रकम डुबेको भन्दै पीडितले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै आएका छन्। समस्यामा परेका सहकारीलाई हेर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएर काम गरे पनि परिणाम आउन सकेन। तीनवटै तहका सरकारले पनि प्रभावकारी रूपमा सहकारीको नियमन गर्न सकेका छैनन्।

प्रकाशित: २० श्रावण २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App