coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र

फाइल तस्बिर

गत आर्थिक वर्ष २०७८-७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ।  

गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन्। मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन। बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ।  

कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय अन्तर्गतका ठेक्काबाट ८ .५ किलोमिटर छ। तम्घास–रेसुङ्गा सडकअन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ। आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ। हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ।  

तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क– डुवा छिर्ने–पटौती–प्युठान सडकअन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ। सडकको खाम्सेपानी–चेक्मी खण्डमा चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो। विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो। कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ।  

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाँडा–सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्र भएको छ। विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो। कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक  नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो। अहिलेसम्म कम्पनीको नाममा  चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिए।  

संघीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ। रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो। कूल ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव–इन्जिनियर नारायण बुढामगरले जानकारी दिए।  

रुद्रवेणी–वामीटक्सार सडकअन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ। सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६/७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो। सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए। गत आवमा रेसुङ्गा नगरपालिका–७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ। प्रदेश समपूरक कोषबाट  ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो।रासस

प्रकाशित: १९ श्रावण २०७९ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App