कानुनमा मर्जर प्रक्रिया यति समयभित्र गरिसक्नु पर्ने व्यवस्था छैन । तर, व्यवहारिक रुपमा सेयर लगानीकर्तालाई असर पारेकोले मर्जर प्रक्रिया छोट्याउनु परेको राष्ट्र बैंकको भनाइ छ । 'ग्रामीण विकास बैंकको मर्जर प्रक्रिया सम्पन्न गर्न दुई वर्ष लागेको थियो,' उनले भने, 'यो अवधिमा सेयर बिक्री हुन नसकेपछि लगानीकर्तालाई समस्या परेको थियो । त्यस्तो समस्या नआओस भनेर मर्जर प्रक्रिया छोट्याउनु परेको होे ।
मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकको पनि मर्जर प्रक्रिया सुरु भएको ११ महिना भइसकेको छ । यस अवधिमा सेयर कारोबार हुन सकेको छैन । लगानीकर्ताले सेयर बिक्रीमा समस्या आएको गुनासो नेपाल स्टक एक्सचेन्ज र राष्ट्र बैंकका गरेका छन् । लगानीकर्ताको हितलाई ध्यानमा राखी मर्जर प्रक्रिया छोट्याउनु परेको केन्द्रीय बैंकको भनाइ छ ।
केन्द्रीय बैंकले मर्जर प्रक्रियालाई छिटो र छरितो सम्पन्न गर्न दु्रत प्रक्रिया अपनाउन थालेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले मर्जरको प्रस्ताव ल्याएको थियो । मर्जरको प्रक्रिया अपनाएर चुक्ता पुँजी वृद्धि गर्दा लामो समय लाग्ने गरेको गुनासो बैंकरहरुले गरेपछि प्रक्रिया छोट्याउनु परेको राष्ट्र बैंकको भनाइ छ ।
अहिले (२०७२ असार मसान्तसम्म) ३० वाणिज्य बैंक, ७६ विकास बैंक, ४८ वित्त कम्पनी छन् । ती बैंक तथा वित्तीय संस्थालाई घटाएर साढे दुई दर्जनमा झार्ने रणनीतिमा पुगेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
केन्द्रीय बैंकले ल्याएको पछिल्लो मौद्रिक नीति कार्यान्वयन हुने हो भने २ वर्षपछि करिब १५ वाणिज्य बैंक, ८ देखि १० वटा मात्र विकास बैंक र करिब ५ वटा मात्रै फाइनान्स कम्पनी रहने बैंकरको भनाइ छ । राष्ट्र बैंकले पनि हाल भइरहेका बैंक, वित्तीय संस्था घटाएर ३० वटामा सीमित राख्न चाहेको एक बैंकरले बताए ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २ वर्षमा चुक्ता पुँजी वृद्धि गरेर ४ देखि २५ गुणासम्म पु¥याउने प्रस्ताव ल्याउनुको उद्देश्य पनि जसरी भएपनि संख्या घटाउनु हो । संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था भएको हेर्न चाहेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । 'मर्जरमा जान चाहने वित्तीय संस्थाका समस्या समाधान गर्न राष्ट्र बैंक तयार छ,' उनले भने ।
यसैगरी मर्जरमा जाने बैंक, वित्तीय संस्थाको सेयर कारोबारमा बढी समय रोक्का नराख्ने तयारी पनि भइरहेको उनले बताए । राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जबीच सेयर कारोबार लामो समय रोक्का नराख्ने आन्तरिक सहमतिको तयारी भइरहेको जानकारी पनि प्रवक्ता पंगेनीले दिए ।
नेपाल राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्थाहरु गाभिन थालेका हुन् । यसअघि लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स, नेपाल बंगालादेश बैंकमा नेपाल बंगालादेश फाइनान्स र नेपाल श्रीलंका फाइनान्स गाभिएका थिए । नारायणी र नेसनल फाइनान्स गाभिएर नारायणी नेसनल बनेका थिए । गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली आएपछि मर्जरमा जानेको संख्या ह्वातै बढेको राष्ट्र बैंकले बताएको छ ।
प्रकाशित: १४ पुस २०७२ २१:१० मंगलबार





