पछिल्लो समयमा सहरमा सुदखोर र ‘मिटर ब्याज’ को अवैध धन्दाको कारोबार प्रहरी नियन्त्रणबाहिर गएको छ। प्रहरी कार्यालयमा चेक बाउन्सका धेरै उजुरी पर्ने र त्यसमा धेरैजसो मिटर ब्याजीले उजुरी हाल्ने गरेको पाइएपछि सुदखोर मिटर ब्याजको कारोबार प्रहरी नियमन्त्रणभन्दा बाहिर पुगेको अनुमान गरिएको हो।
एकदमै कम लगानी गरेर छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्नेहरूले अर्कोको सम्पत्ति हडप्ने र अदालतमा मुद्दा हाल्ने तथा लाख लगानी गरेर करोड असुल्दा सामाजिक अपराधसमेत बढेको छ। काठमाडौंभित्र यस्ता धेरै घटना भए पनि बाहिर आउन सकेका छैनन्। मिटर ब्याजमा पैसा लगानी गर्दा सुरुमै खाली चेक लिने त्यसका मनलाग्दी रकम लेखेर बैंकबाट चेक बाउन्स गराएर राखेपछि मिटर ब्याजमा पैसा लिने मानिस त्यसकै फन्दामा परेर घरबारविहीन हुन पुगेका छन्।
यस्तै एउटा मिटर ब्याजीको फन्दामा ३० वर्षीया सक्रिना महर्जन परिन। उनलाई मिटर ब्याजी निलम गुरुङ घिसिङले मिटर ब्याजमार्फत सम्पूर्ण सम्पत्ति हडप्ने प्रयासमा लागेको गुनासो लिएर नागरिक दैनिकमा आइपुगेकी छिन्। उनले मिटर ब्याजीको लिएको भन्दा तेब्बर रकम तिरिसक्दा पनि सबै सम्पत्ति हडप्न खोजेको, आफ्नो ज्यान मार्न खोजेको तथा आफूसँगै छोराछोरीको अपहरण गर्ने धम्की दिएको पनि बताएकी छिन्। महर्जनले सो धम्कीको प्रमाण जोगाएर मोबाइलमा राखेको पनि बताएकी छिन्।
निलम गुरुङ घिसिङसँग उनले २० लाख ऋण लिँदा ८ लाख रुपैयाँ ब्याज भन्दै कटाएर १२ लाख मात्रै दिएको तर २० लाखको चेक लिएको आरोप महर्जनले लगाएकी छिन्। ‘मैले मेरो कारोबार मिलाउन उनीसँग २० लाख मागेको तर १२ लाख पैसा दिएपछि २० लाखको चेक लगिन, जब पैसा दिइन् त्यसपछि दैनिक १ लाखको ३ तीन हजार ब्याज माग्न थालिन त्यति मात्र होइन मलाई डर धाक देखाएर मेरो अरु चेकमा जबर्जस्ती सही गराइन्,’ महर्जनले भनिन्।
उनका अनुसार १२ लाख लिएकोमा त्यसको केही दिनमै ११ लाख फिर्ता गरेको तर ब्याजबापतकै रकम पनि अन्य ७ लाख पनि फिर्ता गरिसक्दा पनि आफ्नो चेक फिर्ता नगरी बाउन्स गराएको बताएकी छिन्। ‘जम्मा १२ लाख पैसा लिएको थिए त्यसमा २० लाख त फिर्ता नै गरिसके अझै डेढ करोड भयो भनेर मेरो श्रीमान्को नाममा रहेको घरजग्गा पनि रोक्का गरिदिए। निलम गुरुङ यसअघि यस्तै काममा पक्राउ परी सजाय भुक्तान गरेकी महिला हुन्। यसअघि उनी अर्काको जग्गा देखाएर करोडौं ठगी गरेको आरोपमा पक्राउ परेकी थिइन्।
अहिले पनि सक्रिना महर्जनको परिवारलाई उनले तर्साएर करोडौं सम्पत्ति हडप्न खोजेको आरोप लागेको छ। यस विषयमा उनीसँग ९८५१०६१४५३ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। जग्गा कारोबारमा संलग्न एक महिलाले राजधानीकै एक स्थानमा रहेको जग्गा देखाई अर्कै स्थानमा रहेको जग्गा पास गरेको खुलेको छ। घिसिङले जग्गा बिक्रीबापत डेढ करोड रुपैयाँ लिएर ठगी गरेपछि प्रहरीले पक्राउ गरेको थियो। २०७६ साल जेठमा उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।
जग्गा कारोबारका क्रममा झुक्याएर करोडौं ठगी गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान गरेको थियो। घिसिङले धन गौचन नामका व्यक्तिलाई साविकको काठमाडौं सुन्टोल गाविस-३ मा रहेको जग्गाको कित्ता देखाई लप्सीफेदीमा रहेको अर्को ठाउँको जग्गा पास गरेको सो बापत १ करोड ५० लाख रुपैयाँ लिई ठगी गरेकी थिइन।
त्यसैगरी उनले तुलसीप्रसाद देवकोटालाई इटहरीको १० कट्ठा जग्गा मिलाइदिन्छु भनी ६० लाखसमेत ठगी गरेकी थिइन। अहिले पनि सक्रिना महर्जनको अन्य कारोवार पनि मिलाई दिन्छु भन्दै एक ठाउँको जग्गा देखाएर अर्को जग्गा दिएको र त्यो पास नगरी पैसा समेत लिएर उल्टै वैदेशिक रोजगारीको कागज समेत गराएको पनि महर्जनले बताइन्।
‘मेरो चेक बाउन्स भएपछि म सबै कारोबार मिलाउँछु, मलाई एउटा जग्गा मिलाई दिन भनेको त एउटा जग्गा देखाएर अर्को जग्गा पास गराइन् जसले गर्दा म समस्यामा परेँ,’ महर्जनले भनिन्। महर्जनका अनुसार उनलाई सो कार्यमा सहयोग गर्ने सहरमा मिटर ब्याजीका रुपमा परिचित वीरेन्द्रलाल श्रेष्ठ, श्याम केसीलगायतको हात रहेको पनि महर्जनले बताइन्।
‘दैनिक तीन हजारको ब्याजमा पैसा दिने, मैले पैसा तिरेको कागज पनि नदिने, सबै पैसा दिइसक्दा पनि चेक फिर्ता नगर्ने, अनि जबर्जस्ती कागज गराएर घरजग्गा पनि हडप्न खोजे। त्यति मात्र होइन मलाई धक्याएर म बाट जबर्जस्ती ढंगले लगेको चेक बाउन्स गराएका छन्,’ महर्जनले भनिन्।
उनका अनुसार निलम गुरुङ घिसिङबाट धेरै मानिसहरू पीडित भए पनि त्यसबारेमा कोही पनि बोल्न सक्ने अवस्थमा छैनन्। ‘प्रहरी प्रशासन मेरै हो, अदालतमा पनि सेटिङ मिलाएको छु कसैले केही गर्न सक्दैन भन्दै धम्क्याउने गरेको पनि महर्जनले बताइन्। उनले आफ्नो घरपरिवारका सबैलाई धम्क्याएर कागजमा सही गर्न बाध्य पारेको र त्यसकै आधारमा घर जग्गा रोक्का राखिदिएको पनि बताइन्।
दैनिक तीन हजारको ब्याजमा पैसा दिने, मैले पैसा तिरेको कागज पनि नदिने, सबै पैसा दिइसक्दा पनि चेक फिर्ता नगर्ने, अनि जबर्जस्ती कागज गराएर घरजग्गा पनि हडप्न खोजे। त्यति मात्र होइन मलाई धक्याएर मबाट जबर्जस्ती ढंगले लगेको चेक बाउन्स गराएका छन्।
सरकारले अबैध धन्दालाई नियन्त्रण गर्न सरकारी निकायबाट नेपाल प्रहरी प्रशासनलाई नै निर्देशन दिने गरिए पनि सो धन्दामा प्रहरीहरूनै संलग्न भएकाले सो अबैध धन्दाको कारोबारले तीव्रता पाएको स्रोतको दाबी छ। ‘तँलाईं दिएको पैसा मेरो होइन वीरेन्द्रलाल श्रेष्ठको हो, उसले प्रहरीका हाकिमहरूको पैसा ब्याजमा लगाउने गरेको छ त्यसकारण त जहाँ गए पनि केही हुन्न,’ घिसिङको भनाइ उद्धृत गदै महर्जनले भनिन्।
श्रेष्ठलाई पनि प्रहरीको पैसा चलाउने व्यक्तिको रुपमा चिनिने गरिन्छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पीडितबाट उजुरी आए त्यस्तालाई कारबाही गर्ने बताएका छन्। ‘विभिन्न छद्म नाममा मिटर ब्याजको धन्दा चलिरहेको छ भन्ने सुनिएको छ पीडित प्रमाणसहित आए वा प्रमाण पुग्ने विषय वस्तु भए कारबाही गर्न हामी तयार छौं, तर पीडित प्रहरीसँग आउनुपर्यो,’ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने।
प्रकाशित: ६ श्रावण २०७९ ०३:०२ शुक्रबार