coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसीले आफ्ना ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द भएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व मेयर जिसीले आफ्ना ज्वाईंको कम्पनीलाई प्रक्रिया मिचेर ठेक्कामा दिएको ६३ रोपनी सार्वजनिक जग्गा दिने सम्झौता खारेज गरेको हो।

नापी कार्यालयका प्रमुख दीनेश काफ्लेको संयोजकत्वमा बनेको छानविन समितिको सिफारिसमा पोखरा उपत्यका नगर विकास समितिको पूर्ण बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।

पूर्व मेयर जिसीले प्रक्रिया मिचेर आफ्ना ज्वाईंलाई पोखरा पर्यटन बसपार्क, गल्फ र पृथ्वीचोकको यातायात कार्यालय नजिकैको ६३ रोपनी सार्वजनिक जग्गा कौडीको भाउमा ठेक्कामा दिएका थिए। प्रक्रिया मिचेर सार्वजनिक जग्गा भाडामा दिएको खुलेपछि पोखरेलीहरुले आलोचना गरेपछि नगर विकास समितिले काफ्लेको संयोजकत्वमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम सदस्य रहेको छानविन समिति रहेको थियो।

एक हप्ताको समय दिएको सो समितिले शुक्रबार दिउँसो सम्झौता खारेज गर्न सुझावसहितको प्रतिवेदन नगर विकास समितिका अध्यक्ष धनराज आचार्यलाई बुझाएको थियो। लगत्तै नगर विकास समितिको पूर्ण बैठकले छानविन समितिको प्रतिवेदनमा दिइएको सुझाव अनुसार सम्झौता खारेज गर्ने निर्णय गरेको पोखरा महानगरपालिकाका मेयरसमेत रहेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष आचार्यले जानकारी जानकारी दिए।

समितिको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी, नापी विभागका प्रमुख, वन कार्यालय कास्कीका प्रमुख लगायतको उपस्थिति रहेको थियो। छानविन समितिको प्रतिवेदनमा प्रक्रिया नपुर्‍याइ सार्वजनिक जग्गा भाडामा दिएको पाइएको उल्लेख छ।

समितिका संयोजक काफ्लेका अनुसार ठेक्का सम्झौता गरेको करीब एक हप्तापछिको टेण्डर आह्वान गरेको पत्रिका समावेश गरेको छ भने ठेक्कामा लिने कम्पनीले सम्झौता गरेको दुई दिनपछिको करचुक्ता लिएको कागजात पेश गरेको छ। त्यस्तै, सम्झौता प्रक्रियामा समावेस बैंक भौचरमा हस्तलिखित अंक र अक्षर लेखिएको, चिठीपत्रको दर्ता र चलानी नम्बरमासमेत त्रुटी भएको पाइएको संयोजक काफ्लेले बताए।

प्रतिवेदनमा भनिएको छ, ‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’ छानविन समितिले पोखरा उपत्यका नगर विकास समिति मातहत रहेका सार्वजनिक जग्गा तथा संरचनाहरु भाडामा लगाउँदा कार्यविधि तथा मापदण्ड पुर्‍याएर मात्र गर्न भनेको छ। समितिले नगर विकास समिति मातहत रहेको जग्गाको यकिन विवरण पनि अद्यावधिक गर्न सुझाव दिएको छ।

पूर्व मेयर जिसीले आफ्नो कार्यकालको अन्त्यमा पोखरा पर्यटन बसपार्कको १८ रोपनी र गल्फ एकेडेमीको ४० रोपनी जग्गा आफ्नै ज्वाईका भाई विष्णु भण्डारीको शिलाशालिग्राम निर्माण सेवा र एक्सन विल्डर्स सेवा प्रालिलाई दिएका थिए। त्यस्तै पृथ्वीचोकमा रहेको ट्रायल सेन्टरको पाँच रोपनी जग्गासमेत राईजिङ्ग कन्स्ट्रक्सन प्रालिलाई ठेक्कामा दिएका थिए।

नयाँ मेयरका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा गत जेठ ३ गते पूर्व मेयर जिसीले करीब ६३ रोपनी जग्गा ती कम्पनीलाई कौडीको भाउमा १० देखि २५ वर्षसम्मका लागि दिने सम्झौता गरेका थिए। पूर्व मेयर जिसीले महानगरमा नभइ आफ्नै निवासमा बोलाएर सम्झौता गरेका थिए। सम्झौताबारे नगर समितिका सरोकारवाला कसैलाईपनि थाहा नदिएको पाइएको थियो।

पोखरा महानगरपालिकाका मेयरको अध्यक्षमा रहने नगर विकास समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी, नापी विभाग प्रमुख सदस्य रहने व्यवस्था छ। चौतर्फी विरोध भएपछि पूर्व मेयर जिसीले विधि र प्रक्रिया अनुसार ठेक्कामा लगाइएको दाबी गरेका थिए साथै उनले प्रक्रिया मिचेको भन्ने लागे छानविन गरेर सम्झौता खारेज गर्न चुनौती दिएका थिए।

पूर्व मेयर जिसीले पर्यटन बसपार्क रहेको १८ रोपनी क्षेत्रफल भएको जग्गा मासिक १ लाख ७५ हजार रुपैयाँमा १० वर्षका लागि, गल्फको पोखरा–१७ मा पर्ने ३, ३५, ३६ र १८० कित्ता नम्बरको कुल ४० रोपनी जग्गा मासिक दुई लाख ७२ हजार रुपैयाँ तिर्नेगरी एक्सन विल्डर्स निर्माण सेवा र यातायातको ५ रोपनी जग्गा राइजिङ कन्स्ट्रक्सन प्रालिलाई मासिक १ लाख ३५ हजार रुपैयाँ तिर्ने गरी जग्गा भाडामा दिने सम्झौता गरेको थियो।

भाडामा दिइएको पोखरा पर्यटन बसपार्क पोखरा महानगरपालिकाको मातहत नआईकनै ठेक्कामा लगाइएको थियो। निर्माणको चरणमै भएकाले महानगरलाई हस्तान्तरण नगरिएको यो बसपार्क बल्ल असार २२ गते महानगरलाई हस्तान्तरण गरिएको थियो।

प्रकाशित: ३२ असार २०७९ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App