साताको पछिल्ला दुई दिनमा सेयर कारोबारमा आएको सुधारले नेप्से परिसूचक ७१ बिन्दुले बढेको छ।
आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार भएको सेयर कारोबारमा परिसूचक ७७ बिन्दुले घटेको थियो। मंगलबार र बुधबार आएका सुधारले भने सोमबारको गिरावटलाई लगभग क्षतिपूर्ति गरेको छ। मंगलबार ११.६८ र बुधबार ५९.५४ बिन्दुले सेयर बजार बढेको हो। बुधबारको बढोत्तरी ३.०९ प्रतिशत हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ५९ बिन्दुले बढेर नेप्से परिसूचक १९८६.८२ मा पुगेको छ। बुधबार १९२८ बिन्दुबाट बजारकोे कारोबार सुरु भएको थियो। बजार सुरु भएपछि दिनभर नै लगातार कारोबार बढेको थियो। कुनै कुनै समय कारोबारमा गिरावट आउन खोजे पनि तत्कालै सुधार आएको थियो। लगातारको वृद्धिपछि बजार १९८६ बिन्दुमा पुगेको हो।
एक्सचेञ्जका अनुसार बुधबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ १२.४२, फ्लोट ४.२७ र सेन्सेटिभ फ्लोट ४.५२ बिन्दुले बढेका हुन्।
यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबार बढेको छ। कारोबारमा सुधार आउनेमा सबै भन्दा धेरै विकास बैंक उपसूचक परेको छ। यो उपसूचक २०३ बिन्दुले बढेको हो। यस्तै अन्य ७ वटा उपसूचक पनि १ सय बिन्दु भन्दा धेरैले बढेका छन्। जीवन बिमा १७०, निर्जीवन बिमा १४४, जलविद्युत् १०४, फाइनान्स १०२, उत्पादन तथा प्रशोधन १४१, लघुवित्त १३८ र व्यापार १०३ बिन्दुले बढेका हुन्। होटल ९६ र अन्य उपसूचक पनि ६६ बिन्दुले बढेका छन्।
सबैभन्दा कम बिन्दुले कारोबार बढ्नेमा सामूहिक लगानी कोष छ। यो ०.५९ बिन्दुले मात्र बढेको हो। बैंकिङ उपसमूह २४ बिन्दुले बढेको छ। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले फाइनान्स उपसूचक बढेको छ। यो ६.९६ प्रतिशतले बढेको हो। विकास बैंक उपसूचक पनि ६.२५ प्रतिशतले बढेको छ। सबैभन्दा कम प्रतिशतले कारोबार बढ्नेमा जीवन बिमा १.८० प्रतिशत छ।
एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपाल फाइनान्स र रिलायन्स फाइनासकोे सेयर मूल्य बढेको छ। यी दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। यस्तै अन्य ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ। यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा एभरेष्ट बैंक परेको छ। यसको प्रतिसेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो।
यस्तै रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको ९ करोड २ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एनआसी बैंकको ८ करोड ३३ लाख रूपैयाँ र नेपाल बैंकको ७ करोड ५९ लाख रूपैयाँ कारोबार भएको हो।
यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर नेपाल बैंकको भएको छ। यसका २ लाख ७५ हजार ४ सय ७३ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै लक्ष्मी बैंकको २ लाख ६७ हजार ४ सय ८८ सेयर बिक्री भएका छन्।
एक्सचेञ्जका अनुसार बुधबार २२५ कम्पनीका ५७ लाख ८७ हजार १ सय ६२ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ४ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २८ खर्ब ३३ अर्ब रूपैयाँमा पुगेको छ ।
प्रकाशित: ३० असार २०७९ ००:५० बिहीबार