coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पटिहानीका किसानले बीउ बेचेरै साढे ६ करोड आम्दानी गरे

चितवनमा बीउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मुल बीउ उत्पादन गरेर नै वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।

उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।

उनका अनुसार, सबैभन्दा बढी धानको बीउ ८ सय मेक्ट्रिक टन उत्पादन गर्दै आएका छन्। त्यसपछि गहुँको बीउ, ४२५, मकै ५१, जौ घाँसको बीउ ५, तोरी ३ र मुसुरो १ मेक्ट्रिक टन उत्पादन गर्दै आएको उनले जानकारी दिए।

किसानले धानको बीउको प्रतिकेजि ३७, गहुँ ४०, मकै ८० र तोरी १५० देखि २०० रुपैयाँमा बिक्रि गर्दै आएका छन्। २०५९ सालमा स्थापना भएको उन्नत वीज वृद्धि कृषक समूहमा साढे ५ सय किसान आवद्ध छन्। शेयर सदस्य भने ९९ जना मात्र छन्। यो संस्था नेपाल सरकारबाट मुल बीउ उत्पादनका लागि मान्यता प्राप्त पहिलो संस्था समेत हो।

यहाँबाट उत्पादन भएको बीउ लोगो सहित पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म जाने गर्दछ। उनीहरुलाई संस्थाले बजार मूल्यभन्दा बढी पैसा दिएर बीउ खरिद गर्ने गरेको संस्थाका सहसचिव शान्तराज आचार्यले बताए।

‘किसानलाई हामीले नै बीउ दिन्छौँ। गुणस्तरीय बीउ उत्पादनमा ध्यानमा राखेर बीउ बिजन प्रयोगशाला हेटौँडाबाट बाली निरिक्षण गर्न आउनुहुन्छ,’ उनले भने, ‘बजार मूल्यभन्दा धानमा ३ र गहुँमा ६ रुपैयाँ बढी दिँदै आएका छौँ।’ संस्थाले प्रतिवर्ष किसानलाई ५ लाख रुपैयाँ बराबरको अनुदान दिने गरेको आचार्यले जानकारी दिए।

संस्थाले चार बिघा क्षेत्रफलमा बीउ उत्पादन समेत गर्दै आएको छ। यसअघि १० विघामा बीउ उत्पादन गर्दै आएको थियो। तर, जमिन पाइन छाडेपछि घटाएको संस्थाका सल्लाहाकार डा.कर्णबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार, एउटै व्यक्तिले १५ लाख रुपैयाँ सम्मको बीउ बिक्रि गर्दै आएका छन्। अहिले मुल बीउ उत्पादन गर्दै आएको संस्थाको हाइब्रिड बीउ उत्पादन गर्ने योजना समेत रहेको उनले बताए। राम्रो मुल्यमा बीउ खरिद गर्ने भएपछि फुलवारी, पार्वतीपूरसम्मका किसान यस संस्थामा समावेश भएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर १४ पटिहानीका दिपक अदै संस्थामा आवद्ध भएपछि काम गर्न सहज भएको बताउँछन्। ‘१० वर्षदेखि धान र गहुँको बीउ उत्पादन गर्दै आएको छु। सुरुवाती तीन वर्ष व्यापारीसँग बार्गेनिङ गरेर बेच्नुपर्दथ्यो,’ उनले भने, ‘यहाँ आएपछि अन्य ठाउँभन्दा एक दुई पैसा भएपनि फाइदा छ। टेक्टर, थ्रेससर पनि भन्ने बित्तिकै लैदिनुहुन्छ सहज भएको छ।’

उनले यस वर्ष गहुँको बीउ मात्रै १ सय ६० क्वीन्टल बिक्रि गरेका छन्। साढे तीन बिघामा धानको बीउ लगाउँदै आएका छन्। पटीहानीकै मथुरा महत्तो धान, गहुँ, तोरीको बीउ उत्पादन गर्दछन्। उनले यसवर्ष धानको बीउ ३७ र गहुँको बीउ २७ क्वीटल बिक्रि गरे। तर, मल, औषधि समयमै उपलब्ध गराउने हो भने उत्पादन बढाउन सकिने धारणा राखे।

बीउको उत्पादन बृद्धिका लागि प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ। यस वर्ष गहुँको बीउमा मात्रै ४५ लाख रुपैयाँ अनुदान प्रदान गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेले जानकारी दिए।

‘उत्पादकत्व बढाउने भनेकै गुणस्तरिय बीउले हो। हामीले यसमै बढी ध्यान दिएर काम गरेका छौँ,’ उनले भने,‘आगामी वर्ष धानको बीउमा अनुदान दिने गरी बजेट प्राप्त भएको छ।’ तर, कार्यविधि नआइसकेको उनले बताए।

प्रकाशित: २८ असार २०७९ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App