८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

स्याम्पु आयातमा विदेशियो एक अर्ब, ४३ करोडभन्दा बढीको बडीलोसन

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ। कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो। तर भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ।

देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ। संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ। नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ। तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ।  

ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ। भन्सार विभागको तथ्यांक अनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ। विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिक लगायतका सामग्रीको आयातमा उक्त  परिमाणको रकम बाहिरिएको हो।

स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन। चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ। ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार राजस्व संकलन गरेको छ।

भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ। त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ।

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ। ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ। चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन्।

जसका लागि २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ। यसबाट राज्यले आठ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गरेको छ। आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ।  

त्यस्तै चीनबाट छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन्। त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ। मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ।

विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा  ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व संकलन गरेको छ। यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार मूल्य विदेशिएको छ।

यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ। विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर  नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ। एघार महिनामा नेपालीले पाँच करोड नौ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन्।

मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ। यस अवधिमा चीनबाट दुई करोड ५८ लाख ४१ हजार तथा भारतबाट दुई करोड ३९ लाख १८ हजार बराबरको नेलपोलिस आयात भएको छ।

४३ करोडभन्दा बढीको बडीलोसन

विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी लोसन आयात भएको छ। त्यसबाट सरकारले १६ करोड ३३ लाख ६४ हजार राजस्व संकलन गरेको छ। भारतबाट मात्रै ३१ करोड ४२ लाख ६८ हजार मूल्यमा दुई लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ।

त्यस्तै थाइल्यण्डबाट पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेशियाबाट दुई करोड ६२ लाख ३५ हजार मूल्य बराबरका लोसन आयात भएका छन्। महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ। एघार महिनामा ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ।

सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ। विभागका अनुसार भारतबाट ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ। त्यस्तै शृङ्गारका अन्य समानको आयातमा दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ।  

स्याम्पु आयातमा एक अर्ब विदेशियो

हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ। चालु आवको ११ महिनामा एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ। करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो। स्याम्पुको आयातबाट सरकारले भने ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ।

यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार बराबरको रकम मुलुक बाहिर गएको छ। एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि छ करोड १७ लाख ६६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ।

प्रकाशित: २० असार २०७९ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App