६ वैशाख २०८१ बिहीबार
अर्थ

स्वदेशी उत्पादन प्रयोग गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले कोभिडले थलिएको अर्थतन्त्रलाई माथि उकास्न स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएका छन्। रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको अधिवेसनलाई शनिबार भलवारीमा सम्बोधन गर्दै उनले स्वदेशी वस्तु प्रयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन्।  

स्वदेशी उत्पादन प्रयोगले देशको अर्थतन्त्र चलायमान गराउने र उद्योगी व्यवसायीलाई पनि त्यसले राहत दिने उनले बताए। उद्योगी व्यवसायीको सफलता नै सरकारको सफलता भएको उनको भनाइ छ।  

उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने भन्दै उनले निजी क्षेत्रलाई मार पर्नेगरी सरकारले कुनै काम नगर्ने बताए। गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगतदेखिका विद्युत् आपूर्ति तथा ट्रंक लाइनका समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए। उद्योगी व्यवसायीले बनाएको नारालाई नै मुल आधार बनाएर सरकारले नीति तथा बजेट ल्याएको बताउँदै उनले सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरु सफल हुनुपर्ने उल्लेख गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशको शहरी विकास तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए।

त्यस्तै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाको विकासका लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे। तिलोत्तमा लगानीको हिसाबले उपयुक्त र सुरक्षित नगर रहेकाेले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्ने प्रतिबद्धता मेयर खाँणले गरे।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति निजी क्षेत्र मैत्री बन्न आवश्यक रहेको बताए। साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले राज्यले निजी क्षेत्रलाई सकारात्मक ढंगबाट हेर्न नसके आर्थिक समृद्धि नारामा मात्र सीमित हुने बताए। उद्योगी व्यवसायीका मुख्य समस्या बैंक तथा वित्तिय संस्थाहरुले स्वेच्छाचारी ढंगले गर्ने ब्याज निर्धारण तथा वृद्धि रहेको र राजस्व कार्यालयहरुबाट कानुनी  प्रक्रियाका नाममा उद्योगी व्यवसायीहरुलाई दुःख दिने र आर्थिक भारमा पार्ने कार्य तत्काल रोकिनु पर्ने बताए।  

तिलोत्तमा प्रदर्शनी मण्डप निर्माणका लागि नगरपालिकासँग पहल गर्ने तथा तिलोत्तमा नगरभित्र औद्यौगिक क्षेत्र निर्माणका लागि सम्बन्धित निकायसँग पहल गरिने अध्यक्ष भण्डारीले बताए।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष बालकृष्ण सुबेदी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज न्यौपाने, तिलोत्तमा च्याम्वर अफ कमर्सका उपाध्यक्ष नेत्र न्यौपाने, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, संघका सल्लाहाकार पशुपति घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासचिव कमल कँडेल लगायतले बोल्दै सरकारको उद्योग व्यवसाय मैत्री नीति नहुँदा समस्या भएको भन्दै सरकारका नीति कार्यक्रम उद्योग व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय निकाय निर्वाचन २०७९ मा तिलोत्तमा नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, १७ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो। यस्तै संस्थाको भौतिक विकास तथा व्यवसायी हकहितमा योगदान पुर्‍याएकाे भन्दै संघका सल्लाहकार बालकृष्ण भुसाल र कार्यालय व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघका कार्यालय प्रमुख लोकनाथ खनाललाई सम्मान गरिएको थियो। 

त्यसैगरी तिलोत्तमा उद्योग वाणिज्य संघको तेस्रो अधिवेसनले पुन: गुणनिधि भण्डारी (माधव) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राज कुमार पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायणबहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुषाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक माधवप्रसाद घिमिरेले जानकारी गराए।  

यस्तै कार्यसमिति सदस्यमा कृष्णप्रसाद पाण्डे, मधुसुदन घिमिरे, धनबहादुर गुरुङ, अमनमान श्रेष्ठ, सूर्यप्रसाद न्यौपाने, रोमनाथ गैरे, चन्द्रकुमार दुबे, रुस्तम कंडेल, अजय राना, नरेशबहादुर क्षेत्री तथा महिला सदस्यमा विना न्यौपाने र राधिका देवी शर्मा निर्वाचित भएका छन्। 

प्रकाशित: १९ असार २०७९ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App