८ वैशाख २०८१ शनिबार
अर्थ

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याएको थियो।

जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार छुट्याइएको छ। वित्तीय समानीकरण, समपूरक, सशर्त र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनीयोजन प्रस्ताव गरिएको छ ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि बजेट बहुमतले पारित भयो। बजेट माथि लगातार तीन दिन छलफल भएको थियो। छलफलमा प्रतिपक्ष दल एमालेका सांसदहरूले बजेट माथि चर्को आलोचना गरेका थिए।

नीति कार्यक्रम भन्दा बाहिर गएर टुक्रे योजनामा रकम बाँडिएको र बजेटलाइ चुनाव लक्षित गरिएको भन्दै एमाले सांसदहरूले बजेटको आलोचना गरेका थिए। सत्ता पक्षकै केही सांसदहरूले समेत बजेटको आलोचना गरे। त्यसको जवाफ दिदै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेटले जनताको माग र भावनालाइ समेटेको बताए। बजेट सबैको साझा भएकाले सबैले आफ्नो दायित्व सम्झेर बजेट पारित गर्न मुख्यमन्त्री केसीले सांसदहरूलाई आग्रह गरे।

आर्थिक मामिला मन्त्री खडकाले पनि बजेटले सबैको भावना समेटेको बताए । बुधबारकै प्रदेशसभा बैठकले प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार माध्यम सम्बन्धी विधेयक पारित गरेको छ। कानुन समितिका सभापति दामाकुमारी शर्माले दुईवटा विधेयक पेश गरेकी थिइन। विधेयक पेश भएपछि सभाले पारित गरेको हो ।

प्रकाशित: १७ असार २०७९ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App