३१ श्रावण २०७९ मंगलबार
अर्थ

निजी क्षेत्रलाई मल आयातको अनुमति दिए अभाव हुन दिदैनौं: गोल्छा

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को चौथौं प्रदेशसभा बैठकमा सहभागिहरू। तस्बिर : चुमन बस्नेत/नागरिक

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई मल खरिदको अनुमति दिए मल अभाव हुन नदिने बताएका छन्। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को  चौथो प्रदेश सभालाई सम्बोधन गर्दै गोल्छाले यस्तो बताएका हुन्।  

खेति लगाउने सिजनमा मल अभाव अन्त्य गर्न निजी क्षेत्रलाई मल आयात गर्न अनुमति दिनुपर्ने धारणा राखे। उनले निजी क्षेत्रलाई मल आयातको अनुमति दिए मल अभाव हुन नदिने दाबी समेत गरेका छन्। गोल्छाले भने, ‘निजी क्षेत्रलाई मल आयातको अनुमति दिए मल अभाव हुन दिने छैनौं।’  गोल्छाले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको बताए। उनले आगामि दिन नेपालीहरूका लागि थप कष्टकर हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउन आवश्यक रहेको बताए। अध्यक्ष गोल्छाले भने, ‘शोधान्तर घाटा निरन्तर बढ्दै गएको र विश्व बजारमा मूल्यबृद्धि तत्कालै नियन्त्रणमा आउने अवस्था नदेखिएका कारण नेपालीका लागि आगामि दिन निक्कै कष्टकर  हुने छ।’  चुनौतिपूर्ण समयमा सुझबुझकासाथ राष्ट्रप्रति जिम्मेवार भएर  काम गर्नुपर्ने उनको भनाई छ।  

सुनसरी–मोरङका उद्योगी व्यवसायीले उठाउँदै आएको मागको सम्बोधन गर्ने अर्थ मन्त्रीले प्रतिबद्धता जनाएकाले बजेट पास भएपछि प्रतिबद्धता अनुसार काम नगरे उद्योग बाणिज्य महासंघ पनि आन्दोलिन हुने गोल्छाले बताए। उनले भने, ‘अर्थमन्त्रीले जनाएको प्रतिबद्धता पुरा नगरे सिंगो नेपाल उद्योग बाणिज्य महासंघ तपाईहरूसँगै आन्दोलनमा उत्रिन्छ।’ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रले मल आयात गर्ने विषय सकारात्मक भएको बताए। उनले नेपालमै मल उद्योग स्थापना गर्न निजी क्षेत्र तयार भए प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताए। उनले भने, ‘नेपालमै मल उद्योग स्थापना गर्ने भए प्रदेश १ को सरकार जस्तो सुकै सहयोग गर्न पनि तत्पर छ।’ जे विषयमा पनि आलोचना जरुररु नभएको भन्दै मूल्य बृद्धि नेपालले चाहेर नभएका कारण सरकारले नियन्त्रण गर्न नसक्ने बताए। राईले भने‘ सरकारले   नियन्त्रण गर्न नसक्ने विषयमा आलोचना गर्नु न्यायोचित हैन।’    

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर  आङ्बोले सरकारले उत्पादन प्रवद्र्धन गर्दै निर्यात प्रोत्साहनको लागि आधार तयार पार्ने बजेट ल्याएकोले त्यसको कार्यन्वनयमा निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने बताए। उनले पहिलोपटक संघीयता प्रति उत्तरदायी भएर यो वर्षको  बजेट आएको दाबी गरे। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको औद्योगिक शाख फर्काउने काममा सहयोग गर्न  प्रदेश सरकार , संघ सरकार र निजी क्षेत्रलाई आग्रह गरे। उनले विराटनगरको औद्योगिक शाख फर्काउन  महानगरपालिका सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको स्पष्ट पारे। कोइरालाले विराटनगरलाई प्रदेशको राजधानीका रुपमा स्तारोन्नति गर्ने योजना ल्याउन प्रदेश सरकारलाई आग्रह गरे।  

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले कृषि उत्पादनलाई बृद्धि गर्नका लागि ल्याएको बजेटले आगामी वर्ष केहि सकारात्मक संकेत देखापर्ने विश्वास व्यक्त गरे। उनले स्थानिय स्रोत साधनको प्रयोग गरेर उत्पादित बस्तुको बजारीकरण आबश्यक रहेको बताए। उनले आयातमुखि अर्थतन्त्रलाई विस्तारै उत्पादनमुखि बनाउँदै लगे मात्रै नेपाली अर्थतन्त्र लिकमा आउने बताए। प्रदेशसभामा प्रदेश १ का १४ जिल्लाका जिल्ला, नगर उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रकाशित: १६ असार २०७९ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App