८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय धान दिवस: सुदूरमा वर्षेनी चामल आयात बढ्दै, अहिलेसम्म ४३ प्रतिशत रोपाइँ

असार १५ मा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरी। तस्बिरः नागरिक

असार १५, अर्थात् राष्ट्रिय धान दिवस। किसानकै खेतमा गएर मन्त्री, संसद, स्थानीय तहका जनप्रतिनिधि, नेता तथा कर्मचारीले धुमधामका साथ राष्ट्रिय धान दिवस मनाए। हिलोमै लतपतिएर जानी नजानी धान रोपे। एक आपसमा हिलो छ्यापे र छेउमै गएर दही चिउरा खाए। तर, तिनै राज्य संयन्त्रमा बसेकाहरूले किसानका समस्या नबुझिदिँदा सुदूरपश्चिममा धानबाली बर्सेनि घट्दै गइरहेको छ भने भारतबाट चामल आयात बढ्दै गएको छ।  

जमिन प्लटिङ भएर घडेरीमा बिक्री हुनु, युवाहरु विदेश पलायन भएर जमिन बाँझै हुनु र बर्सेनि बाढी पहिरोका कारण जमिन कटान तथा डुबानले धानबाली उब्जनीमा कमी भइरहेको छ। जसले गर्दा बर्सेनि चामल आयात बढ्दै गइरहेको कैलाली भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

सुदूरपश्चिम प्रदेशमा कैलाली भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ। गत आर्थिक वर्षमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका भएर  सुदूरपश्चिममा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो। तीन वर्षको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको देखिन्छ।  

कैलाली र कञ्चनपुर सुदूरपश्चिमको अन्न भण्डार क्षेत्र हो। तर, पनि बर्सेनि चामल आयात भने बढ्दै गएको छ। यस्तै उर्वर भूमिलाई प्लटिङ गरिनु, युवाहरु विदेश पलायन हुँदा खेत बाँझै हुनु र दैवी प्रकोपले उब्जाउ भूमि नासिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने जमिनको क्षेत्रफल पनि घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ८५ हजार आठ सय ६८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने त्यो क्षेत्रफल घटेर चालू आर्थिक वर्षमा १ लाख ८० हजार ७ सय ३१ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ। तर, आर्थिक वर्ष २०७८/७९ मा भने तराईमा बाढीका कारण राहत बुझ्नका लागि किसानले बढी क्षेत्रफल देखाएका कारण धान खेती गरिएको तथ्याङ्कमा ‘गलत तथ्याङ्क’ देखिएको बताइएको छ।  

सुदूरपश्चिममा धानको उत्पादकत्वमा पनि ह्रास आइरहेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख ४४ हजार ९ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको देखिन्छ। २०७८/०७९ मा प्रदेशमा चार लाख ४१ हजार ९ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको हावा हुरीसहितको बेमौसमी वर्षाले धानको मुख्य भण्डारण क्षेत्र कैलाली, कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुदूरपश्चिममा ३१ दशमलव ४९ प्रतिशतले उच्च गिरावट हुन आएको छ।

सुदूरमा ४३ प्रतिशत रोपाइँ  

गत वर्ष असार १५ मा सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ भइसकेको थियो भने यस वर्ष ३५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। सुदूरपश्चिममा मनसुन समयमै भित्रिए पनि ढिलो गरी वर्षात भएका कारण यस वर्ष रोपाइँमा ढिलो भएको हो। यस वर्ष समयमै पानी नपर्दा र किसानले मल नपाउँदा दोस्रो सातासम्म गत वर्षको तुलनामा धान रोपाइँमा कमी आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए। ‘बर्षात ढिलो सक्रिय भएकाले यसवर्ष ढिलोगरी रोपाइँ भएको हो,’ उनले भने,‘दुई दिन यतादेखि भने धमाधम रोपाइँ भइरहेको छ।’ प्रदेशमा सबैभन्दा बढी बैतडीमा रोपाइँ भएको छ। अहिलेसम्म बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम डोटीमा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ।

प्रकाशित: १५ असार २०७९ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App