१६ चैत्र २०८० शुक्रबार
अर्थ

किसान उकास्ने नीति आवश्यक

साना किसानहरूको रूपान्तरण एवं दिगो व्यवस्थापनको लागि सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

युएसएआइडी र सीआरएसको आयोजनामा ललितपुरमा आयोजित ‘साना कृषि फर्महरूको रूपान्तरण एवं रूपान्तरणको दिगो व्यवस्थापनको लागि राष्ट्रिय सम्मेलन २०७९’ का सहभागीले सो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा। पुण्यप्रसाद रेग्मीले साना किसानहरूलाई माथि उकास्ने खालको ठोस नीति कार्यक्रमको खाँचो रहेको औंल्याए। पछिल्लो समय सरकारी संस्थाहरू भग्नावशेष जस्तो भएको भन्दै उनले सरकारी संस्था बलियो भए सेवा प्रवाह पनि बलियो हुने बताए। आगामी आर्थिक वर्षको बजेट किसानमैत्री भएको भन्दै त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने उपकुलपति रेग्मीले बताए। किसानहरू तल्लो तहमै रहेको भन्दै रेग्मीले पूर्वाधार र प्रविधिलाई स्थानीय तहसम्म पठाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले अहिले पनि साना किसानहरूको समस्या जस्ताको त्यस्तै रहेको बताए। किसानहरूले जोखिमको यात्रा गरिरहेको भन्दै उनीहरूले प्रविधिक पाउन नसकेको, उत्पादन र किरासँग लड्ने खालको प्रविधि नभएको बताए। ‘किसानहरू बाढी, पहिरो जस्ता प्राकृतिक विपद्सँग पनि ठगिएका छन्,’ उनले भने– ‘उत्पादित वस्तुको मूल्य पाउन र भुक्तानी सहजै पाउन नसक्नु दुखद् छ।’ कृषि पेशा राजनीतिक दलको प्राथमिकतामा नपरेको उनले बताए। ‘कृषिमा आएर काम गर्न चुनौती नै चुनौती रहेको छ’, उनले भने– ‘बजेटको हिसाबले पनि कम मात्र छुट्याउने गरेको पाइन्छ।’ साना किसानहरूलाई नीति, प्रविधि र भूमिमा समस्या रहेको उनले बताए।

कृषि मन्त्रालयका सहसचिव डा।राजेन्द्र मिश्रले देश तीन तहमा गइसकेपछि मात्रै कृषि क्षेत्रमा एक खर्ब बराबरको सहयोग भएको बताए। पछिल्लो समय कृषि प्राविधिकहरूका साथै निजी लगानीकर्ताहरू पनि बढेको उनको भनाइ छ।

‘कृषि ट्रान्फर्मेसन’को फेजमा रहेको भन्दै उनले त्यसलाई गाइड गर्न सक्नुपर्ने बताए। कृषिको व्यवस्था स्थानीय तहबाट बलियो बनाउँदै लैजानुपर्ने उनको भनाइ छ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान संस्थान, त्रिभुवन विश्वविद्यालयका डीन डा भार्गव धितालले कृषि प्रधान देश नेपालमा किसानहरूले अझै पनि सहजै रासायनिक मल पाउन नसकेको भन्दै गुनासो गरे। सरकारले कृषि क्षेत्रमा करोडौं लगानी गरे पनि प्रतिफल भने कम मात्रै पाएको बताए। गण्डकी विश्वविद्यालय पोखराका उपकुलपति प्रा नवराज देवकोटाले कृषि क्षेत्रको विकास जटिल अवस्थामा रहेको बताए। उनले किसानदेखि किसान कार्यक्रमले विशेषज्ञ र स्वयंसेवी सेवा दिने कार्य आफैंमा महŒवपूर्ण रहेको बताए।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरकी विभाग प्रमुख प्रा दुर्गा देवकोटाले नेपालमा पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेको भन्दै उनीहरूलाई नेपालमै कृषि क्षेत्रको माध्यमबाट व्यवसायिक बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्ने बताइन्। युएसएआइडीका नभिन हाडाले किसानहरूले आफ्नो व्यावसायलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताए। कृषि क्षेत्रमा काम गर्नका लागि कस्तो किसिमको कार्यक्रम ल्याउने भनेर आफूहरूले कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ। साना किसान लक्षित नीति बनाउन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ छ।

सिआरएस नेपाल ‘फार्मर टु फार्मर’ प्राजेक्टका निर्देशक निर्मल गडालले नेपालमा साना किसानहरूको दीर्घकालीन रूपान्तरण, वर्तमान अवस्था र आगामी कदमका बारेमा जानकारी गराउँदै आफूहरूले साना किसानहरूको हक हितका लागि विगतदेखि नै काम गर्दै आएको बताए।

उनले समग्र कृषिको अवस्था संवेदनशील मोडमा पुगेको भन्दै उत्पादन सामग्री र खाद्यान्नको आयात बढेको बताए। आगामी दिनमा यो समस्या समाधानका लागि आफूहरू लागि रहने बताए।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष नवराज बस्नेत, नेपाल कृषि सहकारी केन्द्रीय संघका महेश्वर सुवेदी लगायतले ८० प्रतिशत भन्दा बढी उत्पादन साना किसानको योगदानमा केन्द्रित रहेको बताए।

प्रकाशित: १३ असार २०७९ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App