coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा एकै दिन ९५ बिन्दुको उछाल

केही समयदेखि लगातार घटिरहेको सेयर बजारमा आइतबार अचानक उछाल आएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९४.९२ बिन्दुले बढेको हो। नेप्सेसँगै कारोबार रकम पनि २ अर्ब रूपैयाँमाथि पुगेको छ।

ठूला लगानीकर्ताले विभिन्न बहाना बनाएर सेयर बजार बढाउन चलखेल गर्दा नेप्से परिसूचक एकै दिन ठूलो बिन्दुले बढ्न पुगेको हो। सरकारले सेयर बजार सुधारका लागि गत शुक्रबार एउटा समिति बनाएको छ। सेयर बजारका ठूला लगानीकर्ताले यसैलाई आधार बनाउँदै आगामी मौद्रिक नीतिमा ४–१२ को प्रावधान हटाउने थप हल्ला चलाएर चलखेल गर्दा नेप्से परिसूचकमा अस्वभाविक वृद्धि भएको हो।  

‘ठूला लगानीकर्ताको हल्लामा साना लगानीकर्ताले विश्वास गर्दा सेयर कारोबार बढेको हो,’ नेपाल स्टक एक्सचेञ्जका एक अधिकारीले भने ‘यो वृद्धिदर धेरै दिन टिक्ने देखिँदैन।’

एक्सचेञ्जका अनुसार आइतबार २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अर्को ३१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढाइएको छ। यस्तै ५ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढ्ने कम्पनीको संख्या दर्जनौं छ।

गत साताभरको कारोबारमा नेप्से परिसूचक एक सय १० बिन्दु भन्दा बढीले घटेको थियो। आइतबार करिव एक सय बिन्दुले बढेपछि लगानीकर्तामा केही आत्मविश्वास जागेको छ।  

एक्सचेञ्जका अनुसार आइतबारको कारोबारपछि नेप्से परिसूचक १९५६.९८ बिन्दुमा पुगेको छ। आइतबार एकै दिन नेप्से ५.१० प्रतिशतले बढेको हो।  

एक्सचेञ्जका अनुसार आइतबार १८६३ बिन्दुबाट सुरु भएको कारोबार दिनभर जसो बढिरहेको थियो। बजार बन्द हुँदासम्म कारोबारमा आएको बढोत्तरीका कारण नेप्से १९५६ बिन्दुमा पुगेको हो।  

एक्सचेञ्जका अनुसार आइतबार नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ १७ र फ्लोट एंव सेन्सेटिभ फ्लोट ६ बिन्दु भन्दा धेरैले बढेका छन्।  

यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबारमा सुधार आएको छ। कारोबारमा १३ मध्ये ९ वटा उपसूचक एक सयभन्दा धेरै बिन्दुले बढेका छन्। जीवन र निर्जीवन विमा ३ सय भन्दा धेरै बिन्दुले बढेका छन्। एक्सचेञ्जका अनुसार जीवन बिमा सबैभन्दा धेरै ३७० र निर्जीवन बिमा ३६२ बिन्दुले बढेका हुन्।  

यस्तै २ सयभन्दा धेरै बिन्दुले बढ्नेमा उत्पादन तथा प्रशोधन, विकास बैंक र लघुवित्त परेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह २८४, विकास बैंक २५७ र लघुवित्त २३१ बिन्दुले बढेका हुन्।  

यस्तै एक सय भन्दा धेरैले कारोबार बढ्नेमा व्यापार, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स उपसूचक परेका छन्। जलविद्युत् १५६, होटल तथा पर्यटन १४६, व्यापार १२१ र फाइनान्स १०२ बिन्दुले बढ्न पुगेका छन्।  

नेप्से परिसूचकमा सबैभन्दा धेरै अंश ओगटेको बैंकिङ उपसमूह पनि ३५ बिन्दुले बढेको छ। लगानी उपसमूह भने ५ बिन्दुले मात्र बढेको छ। सबैभन्दा कम बिन्दुले बढ्नेमा सामूहिक लगानी कोष रहेको छ। यो उपसूचक ०.५० बिन्दुले बढेको हो। आइतबारको कारोबारमा १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ।  

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये नेशनल हाइड्रोसहित २१ वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढ्न पुगेको छ। यस्तै ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।  

यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा इनभेस्टमेन्ट बैंकको डिभेञ्चर परेको छ। यसको सेयर २.१६ प्रतिशतले घटेको हो। यस्तै एनसीसी र आइसीएफसी डिभेञ्चरको प्रतिसेयर मूल्य पनि घटेका छन्।  

यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ। यसको ८ करोड ६४ लाख रूपैयाँको कारोबार भएको हो। हिमालयन डिष्टिलरीको ८ करोड ३७ लाख र न्याग्दी ग्रुपको ८ करोड ३३ लाख रूपैयाँको कारोबार भएको हो।  

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर कुमारी बैंकको भएको छ। यसका ४ लाख २९ हजार ५ सय १ कित्ता सेयर बिक्री भएका हुन्।  

एक्सचेञ्जका अनुसार आइतबार २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब १९ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २७ खर्ब ९० अर्ब रूपैयाँमा आएको छ।

प्रकाशित: १३ असार २०७९ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App