७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवनका सार्वजनिक सवारीलाई केन्द्रीय बस ट्रमिनल केन्द्रित गर्ने तयारी

सवारी दुर्घटनामा ३ महिनामा ३४ जनाको मृत्यु

चितवनका सार्वजनिक सावारी साधानलाई केन्द्रीय बस ट्रमिनल केन्द्रित भएर सञ्चालन गर्ने तयारी गरिएको छ। बसपार्क प्रयोग नगरी जथाभावि सवारी साधान सञ्चालन हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक सवारी साधनलाई बसपार्क केन्द्रित बनाउन लागेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले स्थानीय निकायसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाइने बताए। केन्द्रीय बस ट्रमिनललाई केन्द्रमा राखेर सार्वजनिक सवारीहरु त्यहीबाट छुट्ने व्यवस्था मिलाउन पहल भैरहेको बताए। ‘केन्द्रीय बसपार्क पूर्णरुपमा चल्नुपर्छ, सवारीहरु चौविसकोठी र पुलचोक केन्द्रित हुँदा समस्या देखिएको छ’, उनले भने, ‘साना सवारीहरुकै कारण चाप बढेको छ, व्यवस्थापन गर्ने विधिबारे छलफल भैरहेको छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। कार्ययोजनामा ट्राफिक प्रहरी पोष्ट र जनपद प्रहरीको संयुक्त टोलीबाट चेकजाँचलाई कडाई गर्ने, ट्राफिक सचेतना, चालकलाई प्रशिक्षण, स्कुलमा हरेक हप्ता सचेतना अभियान चलाउने उल्लेख छ। यस्तै एक विद्यालय एक ट्राफिक प्रशिक्षक अभियानलाई निरन्तरता दिने, वृहत ट्राफिक सप्ताह कार्यक्रम गर्ने, २ सय ५० किमि दुरी भन्दा लामो दुरीमा चल्ने यात्रुवाहक सवारीमा ६–६ घण्टामा चालक फेरबदल भए नभएको चेकजाँचमा कडाई गर्ने लगायतका कामहरु कार्ययोजनमा उल्लेख छन्। 

उनले गोन्द्राङ–पुलचोक सडक निर्माणाधिन अवस्थामा रहेकाले यात्रु पिक एण्ड ड्रपमा केही समस्या रहेपनि ट्राफिक व्यवस्थापनमा उच्च ध्यान दिइएको बताए। उनका अनुसार वीरेन्द्र क्याम्पस रोड, अस्पताल रोड, शहिदचोक–बेलचोक, कमलनगर रोडहरुमा एकतर्फि पार्किङ तथा हेभी सवारीलाई दिनभर निधेष गरिएको बताए। १० वटा अतिव्यस्त सडक क्षेत्रका २० वटा टोलहरुसँग ट्राफिक व्यवस्थापनका लागि पहल भैरहेको बताए। नारायणगढ बजार क्षेत्रमा साना नीजि सवारीहरुको पार्कीङमा समस्या पाइएको छ।  

३ महिनामा ३४ जनाको मृत्यु

चितवनमा पछिल्लो ३ महिनामा ३४ जनाको सवारी दुर्घटनामा परेको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीका अनुसार चैतमा १६ जना, बैशाखमा ८ जना र जेठमा १० जनाको ज्यान गएको छ। चैतदेखि जेठसम्म १ सय ४१ वटा सवारी दुर्घटनामा ३ सय २१ जना घाइते भएका छन्। उनका अनुसार पछिल्लो ३ महिनामा ८ हजार २ सय ६४ सवारीहरु कारवाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट तीन महिनामा ७६ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको।  

प्रकाशित: १२ असार २०७९ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App