coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड

हेटौंडा उपमहानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।  

नेकपा एमालेको बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति, कार्यक्रम तथा बजेट आइतबार ल्याएको हो । हेटौंडा उपमहानगरले २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  

उपमेयर राजेश बानियाँले सार्वजनिक गरेको बजेट अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, महिला तथा बालबालिकातर्फ ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख तथा अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  

उपमहानगरले खर्च व्यहार्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय तथा संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  

उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा वस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ, हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  

यस्तै सीमान्तकृत तथा गरिब एकहजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेटौंडाको मेयर मीनाकुमारी लामाले गरिब तथा विपन्न परिवारका लागि खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी थिइन् ।  

खेलकुदतर्फ ३ करोड ७३ लाख

हेटौंडा उपमहानगरपालिकाले खेलकुद तर्फ ३ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये फुटबलको विकासका लागि मात्रै १ करोड रुपैयाँ विनियोजन भएको छ ।  

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालाको आवश्यक संरचना निर्माणका लागि २५ लाख, नगरमा थप एक मिनी रंगशाला तथा फुटसल निर्माणका लागि ८० लाख रुपैयाँ, स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताका लागि २५ लाख र फुटबलको नियमित प्रशिक्षण तथा एकेडेमीका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेयर लामा र उपमेयर बानियाँले चुनावी अभियानको क्रममा फुटबल खेलको विकासमा १ करोड रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।  

 

प्रकाशित: १२ असार २०७९ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App