२७ श्रावण २०७९ शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः जनवरी एकदेखि संचालन लक्ष्य (तस्बिरसहित)

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक

राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेको छ। तर, तोकिएको समयमा उडान सुरु हुने वा नहुने भन्ने अझै यकिन भईसकेको छैन।  

विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रुपमा तयार भएको आयोजनाले बताएको छ। आपतकालिन अवस्थामा यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिने भएको छ। विमानस्थलका लागि अब आन्तरिक रुपमा गर्नुपर्ने काम बाँकी छैन। आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले विमानस्थलको धेरैजसो काम सकिएको बताए।

‘विमानस्थल संचालनका लागि केही प्रक्रिया बाँकी छन। क्यालिब्रेसन फ्लाइट हुन बाँकी छ। भन्सार, अध्यागमन लगायतका निकायको पनि तयारी हुनुपर्छ। तर पूर्वाधार बनाउने काम सकिएको छ,’ उनले भने। उनका अनुसार अब विमानस्थलका लागि आवश्यक पूर्वाधार बनाउन बाँकी छैन। थप संरचना बनाउनु पर्ने आवश्यकता महसुस भएमा बाहेक योजनामा रहेका सबै काम पुरा भएको उनले बताए। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो।  

कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि थपिएको म्याद आगामि जुलाई १० का सकिन्छ। तर, विमानस्थल अहिले पूर्ण रुपमा तयार भइसकेको छ।  

‘जनवरी एकदेखि उडान संचालन गर्ने टार्गेट राखेर योजना भने बनेको हो। विमानस्थल संचालन कार्यदलले त्यसका लागि काम गरिरहेको छ,’ उनले भने, ‘बाँकी रहेका केही काम भएमा जनवरी एकमा विमानस्थल संचालनमा ल्याउन समस्या पर्दैैन।’ 

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन। यी जहाज २ सय सिट भन्दा कम यात्र क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। 

विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको पौडेलले बताए। ‘हामीसँग अन्तर्राष्ट्रिय उडान गर्न सक्ने ठुला ३ वटा र आन्तरिक उडानका ८ गरि ११ जहाज पार्किङ क्षमता छ। टर्मिनल भवनको क्षमतामा पिक आवरमा ६१० जना यात्रुलाई ह्याण्डल गर्न सकिन्छ,’ उनले भने।

विदेशी निर्माण कम्पनिले विमानस्थल पूर्णता दिएपनि नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको भने अहिलेसम्म टुंगो लागेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने कसैलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्। हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढी व्यवस्थापन, आउजाउँमा पहुँच पुग्नेगरि सडक बिस्तार लगायतका मुख्य काम बाँकी नै छन। 

 ‘बाहिरी संरचनाको केही काम बाँकी छ। पूर्वतर्फ एप्रोचमा पर्ने रिठेपानी डाँडाको ४० मिटर कटान गर्नुपर्ने हुन्छ। त्यस्तै विमानस्थलको दक्षिणतिर डेढ किलोमिटरको दूरीमा ल्याण्डफिलसाइट छ, त्यसलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ। ती काम नभएसम्म विमानस्थल संचालनमा समस्या हुन्छ,’ उनले भने।  

पहुँचमार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को प्रक्रिया चलिरहेको छ। डाँडाको १४ मिटर उचाई घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर, नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्।  

यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण हो। वर्षायाममा बजारतिरबाट सोहोरिएर गएको भेलबाढीले विमानस्थलको पूर्वि भेगमा क्षति पुर्‍याउने गरेको छ। आयोजनाले नै भित्रिखण्डको भेल व्यवस्थापनको लागि नालाको आकार बढाएको छ भने बाहिरी काम भने थाती रहेको छ, जुन सिंचाई विभागको जिम्मा हो।  

विमानस्थलको अर्काे टड्कारो समस्या हो नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण। ल्याण्डफिल साइट व्यवस्थापन विमानस्थल संचालनको सबैभन्दा ठुलो बाधक मानिएको छ। तर, वर्षाैदेखिको यो समस्या ज्यूँ का त्यूँ छ। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट  विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा पर्छ।  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बनेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो।  

विमानस्थल पूरा भएर संचालनमा आएपछि यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्नेमा पोखरेली विश्वस्त छन। ‘विमानस्थल कुनैपनि सहरको लागि प्रवेशद्वार हो। अहिले आन्तरिक उडान मात्र हुन्छ र दिउसोको समयमा मात्र हुन्छन। अब सिधा उडान गरेर अन्तर्राष्ट्रिय सहरसम्म जोड्ने भएकोले पाहुनाको आगमन बढ्छ,’ पौडेल भन्छन, ‘पोखरा आँफैमा पर्यटकीय सहर भएकोले पर्यटकको आकर्षण बढाउनेछ। यसले अर्थतन्त्रमा सहयोग गर्नेछ।’  

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो।

प्रकाशित: १२ असार २०७९ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App