१६ चैत्र २०८० शुक्रबार
अर्थ

इलाम नगरको दूरदृष्टी: समुन्नत इलाम-सम्पन्न इलामेली

१ अर्ब २२ करोडको बजेट पारित

इलाम नगरपालिका।

‘समुन्नत इलाम, सम्पन्न इलामेली’को दूरदृष्टीसहित इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। जिल्ला सदरमुकाम समेत रहेको नगरका लागि आउँदो वर्ष १ अर्ब २२ करोड ३७ लाख रुपैयाँको बजेट तथा कार्यक्रम अनुमान गरिएको छ।  

बजेटले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा मेयर केदार थापाले जानकारी दिए। उनका अनुसार यो दूरदृष्टि नै अहिले नगरको सपना भएकाले नगरले यसमैमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्नेछ। नगरले अहिले ५० हजार हाराहारी रहेको जनसंख्यालाई २ लाख पुर्‍याउने, नगरका प्रत्येक खोलाबाट बिजुली उत्पादन गरी बिक्री गर्ने, नगरमा कम्तीमा ५० हजार आन्तरिक र बाह्य पर्यटक ल्याउने तथा इलाम बजारलाई पर्यटन ‘हब’का रूपमा विकास गर्ने दूरदृष्टि राखेको उनले जानकारी दिए।  

नगरको ११औं सभाले आउँदो वर्षका लागि आन्तरिक स्रोतमा २० करोड ४९ लाख, संघीय सरकारबाट ८४ करोड २८ लाख, प्रदेश सरकारबाट ४ करोड २८ लाख तथा राजस्व बाँडफाँटबाट १३ करोड ३१ लाख रुपैयाँ आय अनुमान गरेको छ।  

व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १६ करोड ५८ लाख, वडास्तरीय योजना तथा कार्यक्रमतर्फ १२ करोड, नगरस्तरीय योजना तथा कार्यक्रमतर्फ २२ करोड ९७ लाख, संघीय ससर्त अनुदानमा ४७ करोड ४६ लाख, प्रदेश ससर्त अनुदानमा ३ करोड ३५ लाख र सामाजिक सुरक्षामा २० करोड रुपैयाँ अनुमानित छ। वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा १ करोड ३२ लाख, सामाजिक विकासमा १ करोड ९८ लाख, पूर्वाधार विकासमा ५ करोड ९६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड र सुशासन तथा संस्थागत विकासमा ७३ लाख विनियोजन गरिएको छ।  

नगरस्तरीय योजना तथा कार्यक्रमतर्फ आर्थिक विकासमा ४९ लाख, सामाजिक विकासमा ४ करोड ७६ लाख, पूर्वाधार विकासमा १३ करोड २२ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, सुशासन तथा संस्थागत विकासमा ३ करोड ७९ लाख बजेट विनियोजित छ। संघीय ससर्त अनुदानमा आर्थिक विकासतर्फ १ करोड ५१ लाख, सामाजिक विकासमा ३० करोड ७४ लाख, पूर्वाधार विकासमा ११ करोड ९९ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८० लाख र सुशासन तथा संस्थागत विकासमा १ करोड ४२ लाख छ। प्रदेश ससर्त अनुदानमा सामाजिक विकासमा ९ लाख ५३ हजार, पूर्वाधार विकासमा ३ करोड २५ लाख रुपैयाँ छ।

अनुमानित बजेटबाट प्रत्येक वडामा न्यूनतम पाँच लाखका दरले कृषि कार्यक्रम, ५ लाखका दरले लक्षित कार्यक्रम, ५ लाखका दरले शिक्षा तथा स्वास्थ्य कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।  

मेयर थापाले गाई खरिदमा ३३ लाख, पशु स्वास्थ्य शिविरमा ८ लाख, मानव स्वास्थ्य शिविरमा १० लाख, कृषि सहकारीसँग सहकार्यमा १० लाख, ज्येष्ठ, दलित र अति विपन्नलाई स्वास्थ्य बिमाका लागि १० लाख, छात्रवृत्तिका लागि १० लाख, नमुना विद्यालयका लागि १६ लाख रुपैयाँ विनियोजित रहेको बताए।

उनका अनुसार बोटानिकल गार्डेनका लागि ५ लाख, कृषि अनुसन्धान केन्द्रका लागि ५ लाख, मिलगोलाई वीणापानी सडकका लागि ३ करोड ७५ लाख, फोहोरमैला व्यवस्थापन केन्द्रका लागि १ करोड ८० लाख, माई भगवती रङ्गशालालाई २ करोड र स्वास्थ्य उपचार कोषमा १० लाख रुपैयाँ विनियोजन भएको छ।  

खेतीयोग्य जमिन बाँझो नराखी व्यावसायिक कृषि प्रवर्द्धन तथा निकासी गर्ने, अर्गानिक सागसब्जी, फलफूल तथा कृषिउपज निकासी गर्ने, नगरको आन्तरिक आय न्यूनतम २५ करोड रुपैयाँ पुर्‍याउने नगरको लक्ष्य छ। इलाम अस्पताललाई ३ सय शय्यामा स्तरवृद्धि गर्दै मेडिकल कलेज बनाउने, राष्ट्रियस्तरको रङ्गशालाको कामलाई निरन्तरता दिने, महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने र नगरमा प्राविधिक शिक्षालय थप्ने पनि उनले बताए। ‘आधारभूत तथा माध्यमिक विद्यालय उत्कृष्ट र नमुना बनाउने, गौतमबुद्ध सभागृहको क्षमता विस्तार गर्ने योजना दूरदृष्टिका अभिन्न अङ्ग हुन्,’ थापाले भने, ‘नगरका सबै सडक कालोपत्रे गर्ने, मुख्य मार्गलाई बाह्रै महिना सञ्चालनयोग्य राख्ने र फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको स्तरोन्नति गर्ने काम पनि नगरले गर्नुछ।’

कृषिजन्य उद्योगधन्दा टोल–टोल र बस्ती–बस्तीमा खोली उद्यमशीलता विकास गर्ने, फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्रणालीलाई सुदृढ गरी सफा सहर बनाउने, विद्युत्, खानेपानी र सञ्चार सेवाको उपलब्धलाई सर्वसुलभ बनाउनेलगायतका विषय नगरले उल्लेख गरेको छ।

प्रकाशित: १२ असार २०७९ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App