५ वैशाख २०८१ बुधबार
अर्थ

पोखरा महानगरद्वारा ‘कृषि उपज ढुवानी सेवा’ सुरु

बजारभन्दा पर उत्पादित कृषिजन्य उत्पादन सहज ढुवानी नहुँदा थन्क्याउनुपर्ने बाध्यता किसानलाई पर्छ। उत्पादित कृषिजन्य वस्तु गाईवस्तुलाई आहारा बनाउनुपर्ने पीडा पनि नभएको होइन। अर्कोतिर बजार भाउ नपाउँदाको दुःख पनि उस्तै छ।  

गाउँघरबाट उत्पादित कृषिजन्य उत्पादनलाई बजारसम्म ल्याउन महानगरले सहजीकरण गरेको छ। पोखरा महानगरपालिकाले कृषि उपज ढुवानी सेवा सुरु गरेको छ। कृषि उपज ढुवानी सेवाले किसानले उत्पादन गरेको कृषिजन्यलाई बजारसम्म ल्याउन सहज हुने विश्वास छ।

महानगरले आफनो नीति कार्यक्रममै कृषि एम्बुलेनस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। वर्षायाममा कृषकलाई सुविधा दिन यस्तो सेवा आरम्भ गरेको कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। कृषि विकास महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै सेवाको सुरु गरिएको हो। सेवाको सुरुवात पोखरा–२१ बाट गरिएको थियो।

पोखरा महानगरपालिका भित्र उत्पादन भएको कृषि उपजको ढुवानीमा समस्या भएमा, आफ्नो टोल वा क्षेत्रमा साना कृषकहरूले उत्पादन गरेको कृषि उपज संकलनको लागि निशुल्क सेवा सहित ढुवानी गाडी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

किसानलाई आफूसँग आफ्नो टोलमा केही उत्पादन भए सम्बन्धित वडा कार्यलय, कृषि सेवा केन्द्र तथा कृषि महशाखामा उत्पादन विवरणसहित जानकारी गराउन प्रमुख कडरीया किसानसँग आग्रह गरेका छन्। ‘यो सेवा साना किसान केन्द्रित हुने छ,’ उनले भने, ‘बिचौलियाको अन्त्य हुने विश्वास छ।’  

किसानले उत्पादन गर्ने कृषि उपज खेर फाल्न नदिन सुरुमा यस्तो सेवा दिइएको र अगामी आर्थिक वर्षबाट कृषि एम्बुलेन्स सञ्चालन गरिने उनले जानकारी दिए। ‘कृषकका उत्पादन खेर जान हुँदैन। उनीहरुको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्दै मेयर धनराज आचार्यकै चाहना र किसानको हितलाई ध्यान दिँदै हामीले यो सेवा सुरु गरेका हौं,’ उनले भने।

महानगरको तर्फबाट सात लाख ५० हजार रुपैयाँ अन्नपात एग्रोलाई अनुदान स्वरुप उपलब्ध गराएको छ। ढुवानी सेवा महानगरका कृषि उपज उत्पादन हुने क्षेत्रमा खासगरी साना किसानलाई लक्षित गरेर सञ्चालन गरिने उनले बताए।

‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन। साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ। उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ। त्यहाँ आवश्यकता अनुरु कृषि ढुवानी सेवा सञ्चालन हुन्छ। त्यसका लागि किसानले छुट्टै पैसा तिरिरहनु पर्दैन। यो सेवा आवश्यकताका आधारमा सबै वडामा लागु हुन्छ’ उनले भने।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदीले महानगरको पहिलो कार्यपालिका बैठकमै कृषकलाई उत्पादन भन्दापनि त्यसको बजारीकरणको समस्या रहेको भनेर आफूहरुले गरेको गुनासोको सम्बोधन भएको सुनाए।

‘हाम्रो पहिलो कार्यापालिका बैठकमै हामीले कृषकका समस्याका बारेमा जानकारी गराएका थियौं,’ उनले भने, ‘समस्याको समाधान गर्न ढुवानी सेवा शुरु गरियो।’ उनका अनुसार अब २–४ किलो उत्पादन उत्पादन गर्ने किसानले पनि आफ्नो उत्पादन विक्री गर्न पाउँछन्।  

प्रकाशित: ११ असार २०७९ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App