८ वैशाख २०८१ शनिबार
अर्थ

कमलामाई नगरपालिका: मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जा

कमलामाई नगरपालिका सिन्धुलीले रासायनिक मलको जोहो गर्ने नीति बनाएको छ। मलको चरम अभाव हुँदै गएकाले कृषकलाई प्राथमिकतामा राखेर कमलामाई नगरपालिकाले ल्याएको नीति कार्यक्रममा मलको जोहो गर्ने जनाइएको छ।

कृषकलाई आवश्यक समयमै पाउन कठिन रहेको रासायनिक मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जाको व्यवस्था गर्ने कमलामाई नगरपालिकाले सार्वजानिक गरेको नीति कार्यक्रममा उल्लेख गरिएको छ। कमलामाई नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ।

व्यवसायीक रुपले तरकारी खेती गर्न चाहने किसानलाई जग्गा प्राप्तसहित यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गर्ने निति लिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए। नगरउपप्रमुख सँग कृषक भेटघाट तथा बाली एम्बुलेन्स समेत सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले राखेको छ।

यस्तै जिल्लाको पुरातात्वियिक तथा धार्मिक क्षेत्रहरुको संरक्षण गर्दै जाने नगरपालिकाले निति लिएको छ। जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान गर्दै संरक्षण गरिनेछ नगरप्रमुख पोखरेलले भने, सिन्धुलीगढी दरबारमा पुरातात्विक वस्तुहरु स्थापित गरिनेछ। यस्तै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउने नीति लिएको नगरपालिकाले जनाएको छ।

नगरपालिका भित्र एउटा ट्रमा सेन्टर बनाउन आवश्यक पहल गर्नेछु, नगरप्रमुख पोखरेलले भने, प्रसुती अवस्थाका महिलाहरुलाई अस्पताल आउने र फर्कने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध नगरपालिकाले गराउनेछ। यस्तै दैवी प्रकोपमा परेका र विपन्नका लागि नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्सको सेवा समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ।

यसैगरी नगरक्षेत्र भित्रका दिर्घरोगीहरुलाई घरघरमै स्वास्थ्यकर्मी पठाइ निःशुल्क चेकजाँचको समेत व्यवस्था गर्ने नीति नगरपालिकाले राखेको छ। यसैगरी नगरपालिकाले शिक्षा खेलकुद भौतिक पूर्वधार लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। नगरक्षेत्रभित्रका सडकलाई कालोपत्रे गर्दै लैजाने, सिन्धुलीको बसपार्कलाई  बहु तले बनाउने लगायतका पूर्वधारका कार्यक्रम नगरपालिकाले बनाउने नीति लिएको छ।

यस्तै नगरपालिकाले सुशासन तथा संस्थागत विकासमा नगरपालिकामा सेवा लिन आउने कर्मचारीलाई हेल्प डेक्स निर्माण गरि सेवा दिने भएको छ। नगरपालिकामा सेवा लिन आउने सेवाग्राहिलाई फाइल बोकेर सेवाग्राही आफै शाखामा पुगेर काम गर्न कठिनाई भएकाले हेल्प डेक्स स्थापना गरी कर्मचारी आफैंले सहयोग गरिदिने व्यवस्था नगरप्रमुख पोखरेलले ल्याएका छन्। कमलामाई नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ३४ करोड बजेट ल्याएको छ।

प्रकाशित: १० असार २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App