coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फुङलिङ नगरपालिकाद्वारा साढे ६६ करोड बढीको बजेट

एकाध बाहेक अधिकांश पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिँदै ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ। नगर उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ६६ करोड ७७ लाख ७४ हजार २ सय १० रुपैयाँको बजेट पेश गरेकी छिन्।

उनका अनुसार जसमा चालूतर्फ ४३ करोड ८९ लाख ४४ हजार २ सय १० रुपैयाँको बजेट रहेको छ। यो कूल बजेटको ६५.७५ प्रतिशत हो। यस्तै पुँजीगततर्फ २२ करोड ६८ लाख ८३ हजार रुपैयाँ बजेट रहेको छ। यो कूल बजेटको ३४.२५ प्रतिशत हो।

कूल बजेटमध्ये सामाजिक विकासतर्फ ४४ प्रतिशत २९ करोड ५९ लाख ३८ हजार (४४ प्रतिशत), पूर्वाधार विकासतर्फ १८ करोड ६४ लाख ५७ हजार (३२ प्रतिशत), आर्थिक विकासतर्फ ३ करोड ५१ लाख १० हजार (५ प्रतिशत), सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड ५० लाख ५० हजार (२ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासननिक खर्चतर्फ १४ करोड ३२ लाख २३ हजार २ सय १० रुपैयाँ (१७ प्रतिशत) रकम विनियोजन गरिएको नगर उपप्रमुख ओझाले जानकारी दिइन्।

यो खर्चको स्रोतका रुपमा नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान १७ करोड २१ लाख, संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड वापतको ९ करोड ४३ लाख ५४ हजार, संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान २८ करोड ८९ लाख, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान ३ करोड, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड ७० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणको ९५ लाख ९७ हजार, राजश्व बाँफाँडको १ करोड ४ लाख २ सय १० रुपैयाँ, प्रदेश सरकारबाटै प्राप्त हुने समपुरक अनुदान १ करोड, प्रदेश सर्शत अनुदान ४९ लाख २३ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ३ करोड ७७ लाख व्यहोर्ने गरी आन्तरिक स्रोत संकलनको महत्वाकाँक्षी लक्ष्य राखिएको छ।

चालू आर्थिक वर्षमा १ करोड ८० लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको नगरपालिकाले जेठ मसान्त सम्म १ करोड ३८ लाख अर्थात् ७६.६६ प्रतिशत लक्ष्य भेटाएको छ। नगरप्रमुख अमिर मादेनले एकाध बाहेक पुरानै नीति र कार्यक्रममा आधारित रहेर आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। मादेनले पूर्वाधार विकासतर्फ सडक तथा पुल, भवन तथा शहरी विकास, पदमार्ग निर्माण र खेल मैदान निर्माणका नीति अघि सारेका छन्।

यस्तै सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र खेलकुद, लैंगिक समानता र तथा सामाजिक समावेशीकरण, खानेपानी, संस्कृति प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्। यस्तै आर्थिक विकासतर्फ कृषि, पुशसेवा, उद्यम विकास र सहकारी विकास र सहकारी प्रवर्द्धन कार्यक्रम, वन तथा वातावरण विपद् व्यवस्थापन कार्यक्रम र सार्वजनिक सेवा तथा क्षमता विकास कार्यक्रम समेटेर ‘यातायात सञ्जाल, व्यवसायीक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने नारा सहितको नीति प्रस्तुत गरेका छन्।

नगरसभामा फुङलिङ नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको २०७९ पेश भएको छ भने करको दरमा केही थपघट तथा शंसोधनका लागि प्रस्ताव पेश गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालका अनुसार नगरसभाको दोस्रो सत्र शनिबार समेत सञ्चालन हुनेछ।

प्रकाशित: १० असार २०७९ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App