coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

शिक्षा,स्वास्थ्य,उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ। बिहीबार नगरसभाको बाह्रौ अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले उपलब्ध श्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकाँक्षालाई पुरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबार कै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारीत गरेको हो।

समृद्ध नगर खुसी नगरबासीको नारासहित ल्याइएको नीति तथा कार्यक्रमले तिलोत्तमालाई समृद्ध,समतामुलक ,स्वच्छ, हराबरा र विकसित नगर बनाउने लक्ष्य लिइएको छ। जनप्रतिनिधिहरु शासक होइनन सेवक हुन भन्ने मान्यताबाट सन्तुलित र समन्यायिक विकासलाई ध्यानमा राखेर नगरको सेवालाइ छिटो छरितो,जनउत्तरदायि र पारदर्सी  बनाउने प्रद्धिबद्धता गरीएको छ।  

बाल्यकालमा शिक्षा,स्वास्थ्य र पोषण युवा अवस्थामा सीप,उद्यमशीलता र रोजगारी,जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई सम्मान संरक्षण महिलालाइ समता मुलक अवसर सिर्जना हुने गरी नीति कार्यक्रम तयार गरीएको नगरप्रमुख खाणले बताए।  

नीति कार्यक्रमले शिक्षा,स्वास्थ्य,उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता दिएको छ। श्रम बैंक तथा रोजगार सुचना केन्द्र स्थापना गरी सीप ज्ञान,दक्षताको आधारमा श्रमकार्ड वितरण गर्ने नीति लिइएको छ। हिंसा मुक्त र समतामुलक समाज निर्माणका लागि समुदाय स्तरमा सचेतना मुलक कार्यक्रमलाई जोड दिइएको छ। महिला बालबालिका र जेष्ठ नगारिक अनुकुलको नगर निर्माणमा ध्यान दिने भनिएको छ।एक वडा एक जेष्ठ नगारिक बिश्राम स्थलका लागि ‘तिलोत्तमा चौपारी’ निर्माणको नीति लिइएको छ। युवाका लागि नगरप्रमुख  युवा उद्यमी परिचालन कोष स्थापना गरी  उद्यामसीलताको विकास गर्ने नीति लिइएको छ।लैगिक, जातीय, क्षेत्रीय, धार्मिक सांस्कृतिक तथा भाषिक विभेदलाई निषेध गर्ने भनिएको छ।

शिक्षातर्फ समुदायिक विद्यालयहरुको विद्युत र पानीको महशुलमा  ५० प्रतिशत छुट दिने र इन्टरनेट निशुल्क बनाउने नीति लिइएको छ। वडा नं. १४ मा सिटी कजेज संचालनका लागि सिटिइभिटिइबाट सम्बन्धन लिएर बिभिन्न बिधामा कक्षा संचालन गर्ने, नैतिक तथा व्यवहारिक शिक्षाका लागि एक बिद्यालय एक पुस्तकालय तथा इलाइब्रेरी संचालन गर्ने नीति लिइएको छ। हाल १२ वटा स्कुलमा संचालन भएको एक बिद्यालय एक नर्सको नीति आगामी वर्ष सबै सामुदायिक विद्यालयमा लागू गर्ने भनिएको छ। आगामी बर्ष ३ वटा सामुदायिक बिद्यालयलाई बस खरिदमा १० लाख विशेष अनुदान दिने र ती बस संचालनमा प्रति महिना १ लाख दिने उल्लेख छ।

समुदायिक बिद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरीने छ। सामुदायिक बिद्यालयका कक्षा ६ सम्मका बिद्यार्थीहरुको खाजा खर्चमा नगरबाट १० थप गरी २५ पुर्याइएको छ। बालबालिकामाथि हुने यौनजन्य हिंसाबाट बच्न प्रतिरक्षात्मक शिप तथा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने उल्लेख छ। प्रत्येक वाडमा खेल मेदान र नगरमा रङ्गशाला निर्माण गर्ने भनिएको छ।  

स्वास्थ्यमा नगर प्रमुख विपन्न सहायता कोष स्थापना गरी गरिब विपन्न नागरिकहरुको  गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहूँच र व्यवस्था गर्ने नीति लिइएको छ। स्वस्थ नगरबासी स्वस्थ नगर भन्ने नारासहित गुणस्तरीय स्वास्थ्य सेवामा नगरबासीको समतामुलक पहुँच विस्तार गर्ने भनिएको छ। नगरस्तरीय ल्याव स्थापना, नगरप्रमुख संग जेष्ठ नागरिक स्वास्थ्य जाँच,व्लड बैंक स्थापनालाई प्राथमिकता दिइएको छ।  

सेमरा हेल्थ पोष्टलाइ १५ शैयाको अस्पताल बनाउने,वडा नं. ६ र १७ मा रहेको विपि ग्राममा निर्माणाधिन १५ शैयाको अस्पतालाई संचालनमा ल्याउने भनिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई १ हजार भत्ता निरन्तरता दिइने,गर्भवती महिलालाई निशुल्क क्याल्सियम वितरण तथा सुत्केरी महिलाको पोषण सुधार गर्न गर्भवतीसंग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ। गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भनिएको छ।  

कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि पाँँच बर्षे कृषि योजना तर्जूमा गरी कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ। नगरप्रमुख संग किसान कार्यक्रम मार्फत नगरका कृषकहरुलाई संघ सरकारको किसानसंग सरकार कार्यक्रमबीच समन्वय गरी जोडने नीति लिइएको छ। नगरको वडा नं. १४ लाइ तरकारीको पकेट, १२ लाइ मकै पकेट क्षेत्र,१३ लाइ माछा,१७ गहुँ  पकेट क्षेत्रलाइ प्रोत्साहन गर्दै अन्य वडामा पनि अध्ययन गरी  बिभिन्न बाली पकेट क्षेत्र बनाउने नीति लिइएको छ। 

कृषि र कृषक प्रोत्साहनका लागि बिभिन्न अनुदानका कार्यक्रम ल्याइएको छ। पशुपालक किसानका लागि आधारभुत भेटेनेरी सेवा  र भ्याक्सिन निशुल्क गर्ने भनिएको छ। वडा नं. १७ को निर्माणाधिन चिस्यान केन्द्र संचालनमा निजी तथा सहकारीसँग सहकार्य गर्ने भनिएको छ। जग्गा खाली राख्न नपाइने नीतिलाई निरन्तरता दिइएको छ। कृषि र्फामहरु संचालनलाई प्रोत्साहन गर्न नीति ल्याइएको छ। तिनाउ र रोहीणीका नदि उकास क्षेत्रमा उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने भनिएको छ। कृषि एम्बुलेन्स संचालनमा ल्याउने भनिएको छ। विदेशबाट फर्केकाहरुलाइ कृषि पेशामा जोडन सामुहिक तथा व्यवसायिक योजनाहरुलाई प्रोत्साहनको नीति लिइएको छ।  

एक घर एक धारा कार्यक्रम सफल बनाउन प्रदेश र केन्द्र सरकारसग समन्वय गरी काम गर्ने भनिएको छ। सिँचाइकालागि स्यालो ट्युवेल,पुराना सिचाइको मर्मत संम्भार गर्ने,१६/३६ सिँचाइका सम्पूर्ण ठूला साना नहर कुलो संरक्षण मर्मत सम्भार पक्की बनाउने लगायतका कामलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ।

तिलोत्तमालाई साइकल सिटीको रुपमा विकास गर्न आवश्यक गृहकार्य गर्ने भनिएको छ। यसअघि नगरका घरमा एकै किसिमका रङ्ग कोड लगाउनु पर्ने भनेर यसअघिको नेतृत्वले ल्याएको बाध्यात्मक नियमलाई हटाइ स्वेच्छिक बनाइएको छ। वडा नं. १३ र १४ मा प्रस्तावित प्रादेशिक बसपार्क, १६ र १७ मा एकीकृत जग्गा विकास योजना,१३ मा अटो भिलेज स्थापनालाई नीति कार्यक्रमले समेटेको छ।  नगरस्तरीय कोशेली घर,युवा तथा महिलासँग उपमेयर कार्यक्रम, ६ लेन सडकका मुख्य चोकमा आगलागी नियन्त्रणका लागि फायर वाटर हाइड्रयान्ट सिष्टम राख्ने जस्ता समुदायसंग जोडीएका कार्यक्रमहरु ल्याइएको छ।  

लेखा प्रणाली,बेरुजु फछ्यौट जस्ता कार्यलाइ चुस्त दुरुस्त र व्यवस्थित गर्न लेखा समितिको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ। विपत उद्यार व्यवस्थापनका लागि टाक्सफोर्स बनाइने भनीएको छ। लक्षित बर्ग महिला,बालबालिका,अपाङ्गता,आदिवासी,जनजाती,दलित,जेष्ठ नगारिक,मधेसी,मुस्लिम र पिछडा वर्ग समुदायको आर्थिक,सामाजिक र सांस्कृतिक समृद्धिका लागि महत्वपूर्ण कार्यक्रमहरु संचालन गरी विभेद रहित र समतामुलक समाज निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ। 

प्रकाशित: ९ असार २०७९ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App