७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिन्धुलीमा आलुको उत्पादन घट्यो

सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडाका किसानहरु लगाएको आलु।

सिन्धुलीमा यसवर्ष आलु उत्पादनमा कमी आएको छ। रैथाने जातको आलु खेती गर्दै आएका किसानले यस वर्ष परीक्षणका लागि अन्य विभिन्न स्थानबाट आलुको बीउ ल्याएर लगाएपछि आलुको उत्पादनमा कमी आएको हो।

सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडाका किसानहरु वर्षौदेखि व्यवसायीक रुपमै आलु खेती गर्दै आएका छन्। आलुबारीमा किसानहरुले मकै समेत लगाएकाले मकै गोड्ने र आलु खन्नेकाम किसानहरुले एकसाथ गरेका हुन्। केही किसानहरुले बारीमा आलु मात्र लगाएको भएपनि अधिकांश किसानले आलुबारीमा मकै पनि रोपेकाले आलु खन्ने र मकै गोड्ने काम एकसाथ गरेका हुन्।

महादेवडाँडाका अधिकांश किसानहरुले आलुको व्यवसायीक खेती गर्ने गरेका छन्। विगतका वर्षमा रैथाने जातकै आलु रोप्दै आएको भएपनि यसवर्ष आलुको बीउ अन्यन्त्रबाट ल्याएर रोपेकाले हावापानी अनुसारको बीउ नभएकाले आलु उत्पादन घटेको किसानहरुको भनाइ छ।

यस्तै फिक्कल गाउँपालिका १ महादेवडाडाकी रिमा कार्की यसवर्ष आलु उत्पादन घटेको बताउँछिन्। यसवर्ष खासै राम्रो उत्पादन भएन आलुको उनले भनिन्, 'बीउ अन्यन्त्रबाट ल्याएर रोपेकाले उत्पादनमा कमी आएको हाम्रो अनुमान छ।' घरगाँउमानै बिक्री वितरण गर्दै आएको र सोचेको जस्तो मूल्य समेत नपाएको उनको गुनासो छ।

महादेवडाँडाका अधिकांश किसानहरुले आलु लगाउने गरेको भएपनि बजार मूल्य सोचेजस्तो नपाएको किसानहरुको गुनासो छ। सिन्धुलीको फिक्कल गाउँपालिका र सुनकोसी गाउँपालिकामा आलु प्रवर्द्धनको कार्यक्रम कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको छ।

फिक्कलमा आलुको ब्लक क्षेत्रनै बनाई किसानलाई आलुको बीउ वितरण लागत न्यूनीकरण गर्नका लागि कृषि यान्त्रिकीकरण आलु खेतीगर्ने किसानलाई सिपमुलक तालिमसहित प्राविधिक सहयोग गर्दै आएको कृषि ज्ञान केन्द सिन्धुलीका प्रमुख सुजन अंगाईले बताए। आलुको ब्लक क्षेत्रनै बनाएर व्यवसायीक रुपमा आलु खेतीलाई विस्तार गर्न ज्ञान केन्द्रले आवश्यक सहयोग गर्दै आएको कार्यालयले जनाएको छ।

स्थानीयले आलुको बीउ रैथाने जातकै वितरण गर्न अनुरोध गरेता पनि आलुको बीउको गुणस्तर प्रमाणित नभएकाले वितरण गर्न नसकिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका सुचना अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए।

कार्यालयले वितरण गरेको आलुको बीउ पनि उक्त स्थानमा राम्रो उत्पादन हुने भएपनि किसानहरुले आलु मकै बारीमा लगाएकाले उत्पादन राम्रो नभएको हुनसक्ने उनको भनाइ छ। 'यहीको स्थानीय जातकै बीउ वितरण गर्नका लागि बीउ प्रमाणीकरण गर्नुपर्ने हुन्छ, त्यो यहाँ भएको छैन, उनले भने, प्रमाणीकरण गरेर आएमा हामी यहीको बीउमा अनुदान दिने व्यवस्था मिलाउँछौं।'

सिन्धुलीले फिक्कलमा आलुको ब्लक क्षेत्रनै बनाइ किसानलाई आवश्यक सहयोग गरेपछि किसानहरु आलु खेती तर्फ थप आकर्षित भएका छन्। सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित महाभारत क्षेत्रमा वर्षौदेखि स्थानीय जातकै आलुको उत्पादन हुने गरेको छ। मकै गोड्ने समयमा खन्नुपर्ने उक्त आलुको बीउ समेत लगाउनु नपर्ने स्थानीय किसानको भनाइ छ।

'हामीले आलु खन्दा छोडिएर बाँकी रहेको आलुनै सिजनमा उम्रने र फल्ने हुन्छ, यो वर्षौदेखि यस्तै छ,' सुनकोसी गाउँपालिका ७ का एक किसानले भने, बादर दुम्सी लगायतका जङगली जनारवरले आलुको बिरुवामै उखेल्ने र नाश गर्ने क्रम बढ्दै गएकाले आगामी दिनमा आलुको बीउ जोहो गर्न हम्मे-हम्मे पर्ने अवस्था आउन लागेको भन्दै किसान चिन्तित भएका छन्।

प्रकाशित: ९ असार २०७९ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App