coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अस्ट्रेलिया सरकारले भन्योः नेपाल घुम्न सहज छ, मुख्य अवरोध हटिसके

हिमाली क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमण केही कमजोर हुँदै गएपछि विभिन्न मुलुकले आफ्ना नागरिकको घुमघाममा सहजता दिलाउन थालेका छन्। पछिल्लो समय अस्ट्रेलियाले नेपालमा कोरोना संक्रमणको डरलाग्दो अवस्था नरहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न सक्ने भन्दै ट्राभल एडभाइजरी जारी गरेको छ।  

नयाँ ट्राभल एडभाईजरी जारी भएसँगै नेपालमा अस्ट्रेलियाका पर्यटक बढ्न सक्ने सम्भावना रहेको पर्यटन क्षेत्रका पदाधिकारीको भनाई छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपाल भ्रमण सहज रहेकोले घुमघामका लागि आउँदा कोरोना विरुद्धको पूर्ण रुपमा खोप लगाएको भए पुग्ने भन्दै अस्ट्रेलियाले विहीबार ट्राभल एडभाइजरी जारी गरेको बताए।  

‘कोरोना विरुद्धको पूरा डोज खोप लगाएको भए थप परीक्षण पनि जरुरी पर्दैन, नेपालमा मुख्य रुपमा रहेका कोरोना सम्बन्धित मुख्य अवरोध हटिसकेका छन,’ एडभाइजरीमा भनिएको छ। लामिछानेका अनुसार कोरोना विरुद्धको खोप लगाएको कार्ड लिएर नेपाल घुम्न आउन सक्ने भन्दै एडभाइजरीमा उल्लेख गरेकोले आगामि दिनमा थप विदेशी पर्यटक भित्रिन सक्ने उनले बताए।

‘नेपाल घुमघाम सहज भएको छ भनेर अस्ट्रेलियाले बताएको छ। ट्राभल एड्भाइजरी अपडेट गर्दै घुमघाममा निस्कन सक्ने भन्दै आफ्ना नागरिकलाई जानकारी दिएको छ। पर्यटन क्षेत्रका लागि यो खुसीको कुरा हो,’ उनले भने। कोरोना संक्रमण सुरु भएपछि अस्ट्रेलिया सरकारले करिब दुइवर्षसम्म आफ्ना नागरिकलाई देश छाड्नमा कडाई गरेको थियो। बाहिरबाट आउनेलाई पनि निकै कडाई गर्दै कोटा तोकेर अनुमति दिने गरेको थियो। भित्रिएका नागरिकलाई कडाईका साथ क्वारेन्टिनमा बस्नुपर्ने नियम पनि लागु गरेको थियो।

‘पूर्ण मात्रामा खोप लगाएको भए घुम्न जाने लिस्टमा नेपाललाई राखेको छ। कोभिडका कारणले नेपालमा घुमघाममा अवरोध छैन। घुम्न जाने भए जाउ भन्नु नेपाली पर्यटन बजारका लागि सुखद सन्देश हो,’ उनले भने, ‘अस्ट्रेलियन सरकारले ट्राभल एडभाइजरी जारी गर्दा नेपालमा आगामि दिनमा आउने विदेशी पर्यटकको संख्या बढाउने अपेक्षा गर्न सकिन्छ।’ नेपालमा घुमघाममा अवरोध नरहेको भन्ने यो सन्देशले अस्ट्रेलिया मात्र नभई अरु मुलुकका पर्यटक पनि भित्रिन सघाउ पुग्ने उनले बताए। अब बिस्तारै अरु मुलुकले पनि घुमघाम खुकुलो बनाउँदा पर्यटकीय गतिविधि पनि बढ्दै जाने उनले बताए।

लामिछानेका अनुसार नेपाल भित्रिने अस्ट्रेलियाका पर्यटकको संख्या पछिल्लो समय निकै नै बढिरहेको छ। गत मे महिनामा मात्र नेपाल भित्रिएका अस्ट्रेलियाका पर्यटकको संख्या एकहजार ६ सय ६ थियो। यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि २०१९ को मे महिनामा एकहजार नौ सय ५३ थियो। गत अप्रिल महिनामा नेपालमा अस्ट्रेलियाबाट भित्रिएका पर्यटकको संख्या २ हजार ७ सय २६ थियो।  

बोर्डका अनुसार नेपालको पर्यटक आगमनमा केही महिनादेखि निरन्तर सुधार छ। गत मे महिनामा नेपालमा ५३ हजार ६ सय ८ जना विदेशी पर्यटक भित्रिएका थिए। यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि २०१९ को मे महिनामा ७२ हजार १ सय ५६ थियो। अघिल्लो महिना नेपाल भित्रिएका विदेशी पर्यटक मध्ये अमेरिका, भारत र बंगलादेशका पर्यटकको संख्या कोरोना संक्रमण सुरु हुनुअघिको समयमा भन्दा पनि बढि थियो।  

‘बल्ल पर्यटनमा सकारात्मक संकेत देखिएको छ। आगामि दिनमा अरु मुलुकले पनि यस्तैगरि ट्राभल एडभाईजरी जारि गर्नेछन र त्यसले नेपालमा भित्रिने पाहुनाको आगमनको आकार बढाउनेछ,’ बोर्डका निर्देशक लामिछानेले भने, ‘यसले व्यवसायीलाई राहत दिलाउने छ।’

प्रकाशित: ९ असार २०७९ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App