१५ चैत्र २०८० बिहीबार
अर्थ

कोहलपुर नगरपालिकाले ल्यायो एक अर्ब १६ करोड बजेट

बाँकेस्थित कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। ११ औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता सुवेदीले बजेट प्रस्तुत गरेका हुन्।  

कोहलपुरको समग्र विकास र समृद्धिलाई जोडेर नगर प्रमुख आचार्यले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे। उपप्रमुख सुवेदीले आगामी वर्षका लागि एक अर्ब १६ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।  

‘दिगो शान्ति, सुशासन, विकास तथा समृद्ध नगर निर्माण गर्ने सोच र लक्ष्य’ का साथ नीति तथा कार्यक्रम ल्याइएको छ।  

जनताको गुनासो सम्बोधन गर्न ‘सिधा कुरा मेयरसँग’ कार्यक्रम सञ्चालन गर्ने, ‘युवाको जवानी कोहलपुरमा लगानी’, किशोरी प्रजनन स्वास्थ्यका लागि ‘मेरो पहिलो रजश्वला’, विद्यार्थी टिकाउन ‘विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने’, मेरो विद्यालय मेरो जिम्मेवारी’ वातावरण संरक्षणका लागि ‘एक घर दुई विरुवा, हामी आफै कुरुवा’ जस्ता लोकप्रिय कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।  

यस्तै नयाँ बजेटतर्फ संघीय सरकारबाट प्राप्त ५८ करोड एक लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पाँच करोड १६ हजार र आन्तररिक राजश्वबाट २० करोड ३१ लाख ९५ हजार गरी ८३ करोड ३३ लाख ११ हजार, नगर विकास कोषको ऋण अनुदान ५ करोड र संचित कोषमा मौज्दात हुन आउने अनुमान १२ करोड गरेर कुल एक अर्ब १६ करोड ७६ लाखको आय लक्ष्य लिइएको उपप्रमुख सुवेदीले बताइन्।

संघीय सरकारको निःर्शत तर्फको बजेट ७१ करोड दुई लाख र संघीय सरकारबाट प्राप्त सशर्ततर्फ ३४ करोड ८४ लाख र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त एक करोड दश लाखलाई विभिन्न क्षेत्रगत विनियोजन गरिएको छ।  

प्रशासनिक खर्च १७ करोड ८० लाख, सामाजिक विकासतर्फ ८ करोड ५२ लाख रहेको छ। नगरपालिकाले शिक्षा क्षेत्रमा ६ करोड ३५ लाख, स्वास्थ्यमा एक करोड ३५ लाख, महिला बालबालिका तथा समाज कल्याणमा १८ लाख ५० हजार, आयुर्वेदमा ११ लाख र सामाजिक विकास शाखामा ५२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। आर्थिक विकास शाखामा एक करोड ६० लाख बजेट विनियोजन गरिएको छ।

प्रकाशित: ९ असार २०७९ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App