१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

वायुसेवा संघको गैरजिम्मेवारी आपत्कालीन उडान पनि नगर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौं बाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिक उडान नभर्ने घोषणा गरेको हो।

वायुसेवा सञ्चालक संघले बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको विरोधमा संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिक उडान नगर्ने घोषणा गरेको हो। संघले आफूसँग आबद्ध कम्पनीहरूले आपत्कालीन उद्धार उडानसमेत नगर्ने भनेको छ। प्राधिकरणले असार ५ गते हेलिकोप्टर कम्पनीले असार ७ र हवाइजहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रातको समयका पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।

संघका अनुसार प्राधिकरणले हवाईसेवा कम्पनीहरूसँग यसबारे छलफल गरेको छैन। प्राधिकरणको स्वेच्छाचारी निर्णयका कारण निजी वायुसेवा कम्पनीबाट दिने सेवाहरूमा समस्या उत्पन्न भएको र लगानी डुब्ने अवस्था आएकोे भन्दै संघले उडान रोक्ने अप्रिय निर्णय गर्न बाध्य भएको जनाएको छ।

मुलुकको भौगोलिक स्थिति, सीमित बजार, वित्तीय तथा मानव संशाधन, स्रोतसाधनको असहजता र चुनौतीहरूको सामना गर्दै दुर्गम क्षेत्र तथा विभिन्न स्थानमा उद्धार तथा नियमित सेवा प्रदान गर्दै आइरहेका विमान कम्पनीलाई प्राधिकरणले अनपेक्षित रुपमा गरेको निर्णयका कारण अनावश्यक समस्या र अवरोध उत्पन्न भएको संघको ठहर छ।

वायुसेवा जस्तो अतिसंवेदनशील क्षेत्रमा वायुसेवा सञ्चालक संघजस्तो सामूहिक संस्थालाई बेवास्ता गरी एकतर्फी सूचना आदेशको रुपमा आउनु लोकतान्त्रिक मूल्यमान्यता र न्यूनतम व्यावसायिकताको मर्मअनुरुप नभएको संघको निष्कर्ष छ।

क्षेत्रीय विमास्थलको बढोत्तरी र स्तरोन्नति भए पनि हवाईजहाज तथा हेलिकोप्टरहरूको मर्मत तथा जाँच गर्ने प्राविधिक पक्ष तथा अन्य विविध भौतिक पूर्वाधारको विकास नभइसकेको आवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाहेक विमास्थलहरूमा राति विश्राम गरी उडान भर्न असमर्थ रहेको संघले जनाएको छ।

यस्तै संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि माग गरेको छ। संघले विमानस्थल सेवाशुल्क नियमावलीमा रहेको यात्रु सेवा, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम हुनुपर्ने माग गरेको छ। अन्तर्राष्ट्रिय विमास्थलबाट हेलिकोप्टर उडान सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतका लागि ह्यांगरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग पनि संघको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लिखित अपरेटिङ बेसका प्रावधानहरू हवाईजहाज तथा हेलिकोप्टर दुवै विमानसेवा कम्पनीहरूको हकमा खारेज हुनुपर्ने संघको माग छ। यस्तै हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रियलगायतका विमास्थलबाट सम्पूर्ण विमानसेवा कम्पनीले बिनाअवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने जनाएको छ।

संघले प्राधिकरणबाटै नियामक निकाय र सेवाप्रदायक संस्था सञ्चालन भइरहेका कारण युरोपियन एभिएसन सेफ्टी एजेन्सीबाट नेपाल हवाई सुरक्षा सूचीमा रहेकोमा त्यसबाट हटाउन नेपाल सरकार तथा प्राधिकरणबाट छिटो पहल गरिनुपर्नेलगायतका माग अघि सारेको छ। संघले आफ्ना माग सम्बोधन नभएसम्म आपत्कालीन उद्धार तथा नियमित उडान बन्द गर्ने भएको छ।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणका कारण उत्पन्न समस्याप्रति उदासिनता देखाएका कारण विमानसेवा कम्पनीहरूले सेवा बन्द गर्नुपरेको संघको जिकिर छ। संघको निर्णयले सेवाग्राहीलाई पर्ने असुविधाप्रति मन्त्रालय र प्राधिकरण जवाफदेही हुने संघले जनाएको छ।

राज्य र नागरिकसँग प्रत्यक्ष जोडिएका अतिसंवेदनशिल विषयहरूमा उत्पन्न समस्या तत्काल समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै संघले बाध्यात्मक परिस्थितिका कारण कठोर निर्णय लिनुपरेको जनाएको छ।

प्रकाशित: ८ असार २०७९ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App