८ वैशाख २०८१ शनिबार
अर्थ

बाँकेलाई सन्तोषजनक बजेट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ। जेठ २५ गते प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा नसमेटिँदा बाँके निराशाजनक बनेको थियो।

उक्त निराशालाई सम्बोधन गरेर प्रदेश सरकारले बजेट ल्याएको छ। उक्त बजेट बाँकेका लागि सन्तोषजनक रहेको सर्वसाधारणको भनाइ छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० वर्षका लागि ल्याएको बजेटमा बाँकेका धेरै योजनालाई धेरै समावेश गरेको छ। जुन संघ सरकारका योजनाभन्दा बढी हुन्।

बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन बजेट छुट्याइएको छ। गुणस्तर मापन प्रयोगशाला स्थापनाका लागि एक करोड ४७ लाख रकम विनियोजन भएको आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले जानकारी दिए।

‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने नीतिअनुरुप खाद्य वस्तु तथा औद्योगिक उत्पादनको गुणस्तर मापन गर्न नमुना परियोजनाको रुपमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइनेछ,’ उनले भने। सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका व्यक्तिको उपचार नेपालगन्जको भेरी अस्पतालबाट गर्न सकिने व्यवस्था बजेटमा गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटमा नेपालगन्ज आसपासका क्षेत्रमा एग्रो मार्ट स्थापना गरी सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। स्थानीय उत्पादनको बजारीकरणका लागि नेपालगन्ज विमानस्थल नजिकै कोशेली घर सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ।

मन्त्री खड्काले संघ सरकारसँगको समन्वयमा रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने बताए। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था बजेटमा गरिएको छ।

‘संघ सरकारसँगको सहयोग र समन्वयमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ ‘वन्यजन्तु सुरक्षित गाउँबस्ती कार्यक्रम’ सञ्चालन गरी क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छुँ,’ मन्त्री खड्काले भने। दाङ, बाँके र सबै पहाडी जिल्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट छुट्याइएको छ।

यो कार्यक्रम सञ्चालनको लागि चार करोड ७४ लाख विनियोजन गरिएको हो। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग बाँकेको बागेश्वरीलगायतलाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसेचौबिसे सर्किटका गन्तव्यस्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ।

बाँकेको परसपुर बेलभार राधापुर सहादतपुर सडकका लागि समेत आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएको छ। यो सडकलगायतका प्रदेशका अन्य सडकका लागि ९६ करोड विनियोजन गरिएको मन्त्री खड्काले जानकारी दिए। डुडुवाको मञ्जुरबाबा समाधिदेखि छोटी भन्सार जोड्ने सडकलगायत १८ वटा सडकका लागि २६ करोड २५ लाख विनियोजन गरिएको छ। प्रदेश सरकारले ल्याएको बजेटलाई केही सम्बोधन गरेको यहाँका बासिन्दाहरुको भनाइ छ।

प्रकाशित: ४ असार २०७९ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App