८ वैशाख २०८१ शनिबार
अर्थ

बाजुरा वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

वीरे झरना नजिकैको माछा पालन पोखरी।

बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्। बडीमालिका ६ कोर्धका विक्रम साउँद र विमल साउँदले व्यक्तिगत लगानीमा माछा पालन सुरु गरेका छन्।

पर्यटकीय क्षेत्र पनि भएकोले रिर्सट सञ्चालन गर्ने र विशेष माछाका परिकार मात्र बिक्री गर्ने लक्ष्यसहित माछा पालन सुरु गरिएको सञ्चालक विक्रम साउँदले बताएका छन्। जिल्ला बाहिर गएर माछा पालन बारे तालिम लिएपछि ट्राउट माछा पाल्न सुरु गरिएको साँउदको भनाइ छ।

चिसो र संग्लो पानीमा मात्र पाल्न सकिने माछा भएकोले बडीमालिका पर्वतको फेदीबाट बग्ने नदीकै पानीमा माछा पाल्न थालिएको हो। ट्राउट माछाका लागि बगीरहने संग्लो र सफा अनि चिसो पानीको आवश्यकता पर्ने गर्दछ। संसारमै विशेष स्वाद र पोषण प्राप्त हुने माछा प्रजातीमा ट्राउट पर्ने गरेको छ।

तीन फिट उचाइको बग्ने वालुवा, माटो रहित चिसो पानी ट्राउट माछाका लागि आवश्यक पर्ने भएकोले वीरेखोला झरनाको छेउलाई रोजेको सञ्चालकले बताएका छन्। माछाका (बच्चा) भुरा जिल्ला बाहिरबाट ल्याएर पाल्न सुरु गरेका छन्। महँगो पर्ने ट्राउट माछा २५० ग्रामदेखि १ केजीसम्मको हुने गरेको छ।

व्यवस्थित माछा पालन पोखरी निर्माण गरी ६ महिनादेखि साउँद दाजुभाईले माछा पालनमा जोड दिएका छन्। हालसम्म १७ लाख व्यक्तिगत लगानी र ५ लाख जिल्ला भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अनुदान सहयोगबाट सुरु गरिएको छ। जिल्लामै पहिलो अभ्यासका रुपमा थालिएको माछा पालन सफल हुने देखिएको छ।

हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरण गर्न पर्यटकीय स्थलको छेउमै भएकोले सहज हुने साउँद दाजुभाइको विश्वास छ। सञ्चालक मध्येका विमल साउँद विदेशबाट फर्किएर माछा पालन सुरु गरेका हुन्। सुरुवातीमै राम्रो उत्पादन हुने देखिएकोले आफूहरु उत्साहित बनेको विक्रम साउँदले बताएका छन्।

झरनामा रमाउन आउने पर्यटकलाई माछा विशेष परिकार दिन सके पनि राम्रो आम्दानी गर्न सकिने विश्वास नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको विश्वास छ। पूर्वमन्त्री समेत रहेका थापासहित प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, नेकपा एमाले सचिव भरत थापा, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दाकुमारी थापासहितले अनुगनम समेत गरेका छन्।

उनीहरुले नयाँ काम र आम्दानीको श्रोत बढाउने काम गरेको प्रति प्रशंसासहित सहयोगको आश्वासन दिएका छन्। सुरुमा ५ लाखमा खरिद गरेर ल्याएका माछाका भुराहरु बीचमै गर्मीका कारण मरेका थिए। हिम्मत नहारेरै फेरि थप लगानी गरेर ६ महिनादेखि माछा पाल्न नै सुरु गरिएको छ। ट्राउट बाहेक तीन प्रकारका माछा पालन गरिएको छ।

ट्राउट माछा विश्वमै लोकप्रीय र सबैको रोजाइ रहने माछा हो। खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटिन युक्त पोषिलो माछाका रुपमा ट्राउटलिने गरिएको नरेन्द्र थापाको भनाइ छ। यो अभ्यासको बाजुरामा पहिलो सुरुवात गरिएको हो।

प्रकाशित: ३ असार २०७९ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App