१५ चैत्र २०८० बिहीबार
अर्थ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी बजेटः एक अर्ब खर्चेर खुमटारमा ज्ञानपार्क बनाइने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा नीति कार्यक्रममा ललितपुरको खुमलटारमा अत्याधुनिक खालको ज्ञान पार्कको योजना प्रस्ताव गरेको छ।

मन्त्रालयले आगामी आवको बजेटमा खुमलटारस्थित साविकमा रेडियो नेपाल मातहत रहेको जग्गामा अत्याधुनिक खालको ज्ञानपार्क बनाउन एक अर्ब रूपैयाँ बजेटको माग गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनोदप्रकाश सिंहले ललितपुरमा आइटीपार्कजस्तै ज्ञान पार्कको स्थापना गर्न लागिएको बताए। ‘ज्ञान पार्क भनेको आइटी पार्क जस्तै सुविधासम्पन्न भएको पार्क निर्माण गर्न लागिएको हो’, उनले भने– ‘ज्ञानपार्क बृहत् र व्यवस्थित खालको हुनेछ। जहाँ आइटी सम्बन्धी नवीन योजनाको विकास र वितरणको काम गरिनेछ।’ ज्ञानपार्कमा सूचना प्रविधिको विकास र वितरण लगायतका धेरै काम गरिने योजना समावेश गरिएको छ। मन्त्रालयले यो ज्ञानपार्कको लागि आगामी आवमा १ अर्ब मात्रै बजेट विनियोजन गर्र्ने प्रस्ताव गरेको छ। मन्त्रालयले आगामी आवको बजेटमा ज्ञानपार्कको अलवा डाटा सेन्टर, सेक्युरिटी प्रेस लगायतका योजनालाई पनि प्रथामिकतासाथ बजेट तथा कार्यक्रममा राख्न अर्थमन्त्रालयलाई प्रस्ताव गरेको छ।

प्रवक्ता सिंहले आगामी आर्थिक वर्षको बजेटमा हुलाक सेवा विभागको पुनर्संरचना गर्नुपर्ने भएकाले आवश्यक बजेटमा समावेश गर्ने प्रस्ताव गरिएको बताए। राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आठ अर्बको सिलिङमा रहेर बजेट निर्माण गर्न प्रस्ताव गरेको थियो। मन्त्रालयले भने आगामी आवमा ८ अर्ब रूपैयाँको सिलिङले नपुग्ने भन्दै थप चार अर्ब रूपैयाँको सिलिङ बढाउन अनुरोध गर्दै आइरहेको छ। ‘मन्त्रालयले आगामी आवमा केही नयाँ योजना अघि बढाउन लागेकाले बजेटको सिलिङ थप गर्न माग गरिएको हो’– उनले भने। मन्त्रालयको लागि चालु आर्थिक वर्षमा ८ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको थियो। गत चैत मसान्तसम्म पुँजीगत खर्चको १८.९२ प्रतिशत मात्रै गरेको थियो।

मन्त्रालयले तीन वर्ष अघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पनि विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाउने भएको छ। मन्त्रालयका प्रवक्ता सिंहले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रालय एउटैले भन्दा पनि धेरै सरोकारवाला निकाय भएकाले सबैसँग अन्तरसरकारी निकाय समन्वय गरेर अघि बढ्ने बताए। सरकारले २०७६ कात्तिक ५ गते फ्रेमवर्क स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App