५ वैशाख २०८१ बुधबार
अर्थ

विषादी छर्न फुच्चे ‘हेलिकप्टर’

खैरहनी नगरपालिका १३ गबईका सूर्यबहादुर बोगटीको धान खेतमा शनिवार मध्याह्न ‘फुच्चे हेलिकप्टर’ उड्यो। त्यसले पानीका फोहरा फ्याँकिरहेको थियो।

मानिसहरू उत्सुक भएर हेरिरहेका थिए। त्यहाँ रहेकामध्ये सबैभन्दा उत्साहित बोगटी देखिन्थे। ‘पहिलोपटक धानमा विषादी छर्न ड्रोन प्रयोग भएको छ’, विगत सम्झँदै बोगटीले भने– ‘पहिले विषादी छर्ने मान्छे पाइँदैन्थो। एक ट्याङ्की छरेको सय रूपैयाँ दिनुपर्दथ्यो। अहिले त्यो भन्दा कम लागेको छ।’  

उनको खेतमा फुच्चे हेलिकप्टर नभई विषादी छर्ने ड्रोन उडेको थियो। चितवनमा पहिलोपटक विषादी छर्न ड्रोन प्रयोग भएको हो। २ विघामा लगाइएको चैते धानमा घाँटी मरुवा रोग देखिएपछि उनले विषादीको प्रयोग गरेका हुन्। प्रविधिको प्रयोग गर्दा लागत मूल्य समेत कम परेको सुनाए। ‘२ बिघा क्षेत्रफलमा ४ सय ८० लिटर विषादी प्रयोग गर्नुपर्दथ्यो।

विषादीलाई मात्रै ७ हजार रूपैयाँ लाग्दथ्यो। यसपटक ३२ लिटरले नै पुग्यो’, उनले भने– ‘प्रविधिको प्रयोग गर्दा किसानलाई फाइदा नै हुने देखेको छु ।’ बोगटीले दुई वर्षदेखि धान रोप्नेदेखि काट्नेसम्मको काम मेसिनबाट नै गर्ने गरेका छन्। धान गोड्न पनि मेसिनको प्रयोग गरेका थिए।

प्रविधिको प्रयोग गर्दै जाँदा लागत मूल्य घट्दै गएको उनले बताए। ‘मैले दुई वर्षदेखि चैते धान मेसिनबाट रोपेको छु। बिऊ रोप्ने, उखेल्ने खेताला खोज्नुपरेको छैन। काट्न पनि मेसिनबाटै काटिन्छ’, उनले भने– ‘२ बिघामा बिऊ रोप्नेदेखि काट्नेसम्मका ६० हजार रूपैयाँ भन्दा बढी लाथ्यो। अहिले प्रविधिको प्रयोग गर्दा १० हजार रूपैयाँमा उम्कने गरेको छु ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यायन्यन इकाई चितवनले ८५ प्रतिशतमा ड्रोन खरिद गरिदिएपछि यहाँका किसानहरूले विषादी छर्न ड्रोनको प्रयोग गर्न थालेका हुन्। चीनबाट विषादी छर्ने ड्रोन ल्याइएको हो। राष्ट्रिय आविस्कार केन्द्रका प्राविधिकले किसानलाई ड्रोन चलाउन सिकाइरहेका छन्।

परियोजनाले परिक्षणका रूपमा शनिवार खैरहनी नगरपालिका १३ स्थित गवईमा धानमा विषादी छरेको थियो। चितवनमा अत्याधुनिक प्रविधि ड्रोनबाट पहिलोपटक विषादी छरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख धनबहादुर थापाले जानकारी दिए। ‘कृषिजन्य वस्तुको उत्पादन बढाउन र लागत घटाउन चितवनमा परीक्षणको रूपमा पहिलो पटक ड्रोनबाट विषादी छरिएको छ’, उनले भने– ‘यस प्रविधिले सफलता पाएमा अन्य ठाउँमा प्रयोग गर्नेछौं।’ धान, तोरी, गहुँ लगायतका बालीमा किसानहरूले लागत अनुसार प्रतिफल नपाइरहेको अवस्थामा प्रविधिको प्रयोग गर्र्दै जाने उनले बताए। यो ड्रोनबाट धान, तरकारी, केरा, मेवा लगायतका बालीमा विषादीसँगै माइक्रोन्यूटेन र नाइट्रोजनहरू छर्न सकिने उनको भनाइ छ।

ड्रोनबाट विषादी प्रयोग गर्दा लागत मूल्य र विषादीको समेत कम प्रयोग हुने बताइएको छ। वातावरणीय हिसाबले पनि फाइदा पुग्ने कार्यायलका कृषि अधिकृत माधव पौडेलले बताए। ‘किसानहरूले ट्याङ्कीबाट विषादी छर्दा क्यान्सरजस्ता रोगहरू लाग्ने सम्भावना हुन्थ्यो’, उनले भने– ‘ड्रोनबाट छर्दा रोगहरूबाट बच्न सकिन्छ ।’ यस प्रविधिबाट विषादी कम लाग्ने उनको भनाइ छ। ‘किसानहरूले एक कठ्ठामा ३० लिटर प्रयोग गर्थे’, उनले भने– ‘यसको प्रयोग गर्दा ३० लिटरले एक विघामा पुग्छ ।’ बाली संरक्षणका लागि ड्रोन प्रविधि प्रभावकारी रहेको अनुमान गरिएको छ।

विषादीको कम प्रयोग, समयको बचत र किसानहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्ने पौडेलले बताए। ‘नयाँ पुस्ता कृषिमा आकर्षित हुनुको साटो विकर्षित हुँदै आएका छन्, उनले भने– ‘युवालाई आकर्षित गर्न अत्याधुनिक प्रविधिको प्रयोग गर्न थालिएको हो ।’ परियोजनाले यसअगाडि धान गोड्ने, रोप्ने, काट्ने लगायतका मेसिन किसानलाई उपलब्ध गराएको छ।

यो ड्रोन परियोजनाको सहयोगमा भरतपुर २५ मा रहेको युवा आधुनिक सामूहिक खेती समूहले गरेको हो। समूहले १५ लाख रूपैयाँमा यो ड्रोन खरिद गरेका हुन्। त्यसमध्ये उनीहरूको साढे २ लाख रूपैयाँ परेको छ। बाँकी रकम परियोजनाले सहयोग गरेको हो। तरकारी खेतीमा विषादी बढी प्रयोग गर्नुपर्ने भएकाले ड्रोनको महसुस भएर समूहले ड्रोन किन्ने निर्णय गरेको समूहका सचिव सुमन सुवेदीले बताए। कार्यविधि बनाएर ड्रोन सञ्चालन गरिने उनले बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App