सरकारी सेतो नम्बर प्लेटका सवारी साधन प्रयोगविहीन अवस्थामा रहेका छन्। जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा बिग्रिएको अवस्थामा गाडी एकातिरको कुनामा थन्किएर बसेका छन्। ति मध्य कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत पाइदैन।
जिल्लामा बिग्रिएको अवस्थामा रहेका गाडीहरु मध्य शिक्षा विकास तथा समन्वय ईकाई, पलाँता गाउँपालिका, जिल्ला अदालत, नेपाल रेडक्रस सोसाईटी र खाँडाचक्र नगरपालिकाले खरिद गरेका गाडी बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका हुन्।
बा १ झ ९३०८ नम्बरको शिक्षा विकास तथा समन्वय ईकाईको ४ वर्ष अगाडि शिक्षा कार्यालय हुँदा मन्त्रालयले दिएको गाडी मर्मतको लागि पैसा अभावले गर्दा प्रयोगमा नआएको र अहिले माथिबाट कुनै पनि श्रोत नआउँदा समस्या भएको निमित्त कार्यालय प्रमुख प्रकासचन्द्र धितालले बताए। 'गाडी बिग्रिएको छ। मर्मत हुन्छ तर हामिसंग कुनै श्रोत छैन,' उनले भने, ‘पलाँता गाउँपालिकाको गाडी बिग्रिएको एक वर्ष भयो गुडाउन समस्या छैन यतै बनाउन पनि सम्भव छैन।' कर्णाली नदीमा पुल नहुँदा २५ लाखको गाडीलाई मर्मतगरी पुनः प्रयोगमा ल्याउन समस्या भएको बताइएको छ।
जिल्ला अदालतको बा १ झ ७६९१ नम्बरको ल्यान्डरोभर गाडी पनि बजेटको अभावले मर्मत गर्न नसकेको बताएको छ। खाँडाचक्र नगरपालिकाले ३ वर्ष पहिला करिब ३२ लाख रकम पर्ने एम्बुलेन्स खरिद गरेको थियो। १ प्रतिशत खरिद छुट भ्याटमा भारतबाट खरिद गरेको कर्णाली प्रदेश–०२००१झ ००९८ नम्बरको एम्बुलेन्स ६ महिनादेखि बिग्रिएर सडकमै थन्किएको छ। एम्बुलेन्स बन्ने अवस्थामा छ तर यी गाडीहरुलाई मर्मत गर्न कार्यालयले चासो नदिँदा गाडी जहाँको तेही रहेको खाँडाचक्र नगरपालिकाका स्थानीय देवानन्द्र बरालले बताए।
एम्बुलेन्सदेखि यात्रा गर्ने साना गाडीसम्म प्रयोगविहीन अवस्था रहेका छन्। रेडक्रस सोसाईटी एम्बुलेन्स मर्मको बारेमा बेखबर छ। जिल्ला रेडक्रस सोसाईटी कालिकोट शाखाले सहयोग पाएको एम्बुलेन्स बिग्रिएको सात वर्ष पुग्यो केही ६२ सालमा भारत सरकारले सहयोग स्वरुप दिएको थियो। बा ६ झ ३४८८ नम्बरको एम्बुलेन्सलाई जिल्ला अस्पताल कालीकोटको अगाडि सडक छेउमा भग्नावशेष अवस्थामा छाडिएको छ।
रेडक्रस सोसाईटी कालिकोट शाखाले पटक पटक गाडीको मर्मत गरेर थाकेको हुँदा अब यी गाडीलाई लिलाम गर्नको लागि समिति गठन गरीएको जनाएको छ। छ वटा गाडी बिग्रिएको अवस्थामा छन्। जसमध्ये एउटा मोटरसाईकल छ भने अन्य ल्यान्डरोभर कम्पनीका गाडी र एम्बुलेन्स छन्।
यामाहा कम्पनीको दुई लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल पनि प्रयोगविहीन अवस्थामा छ। नरहरीनथ गाउँपालिकाको वडा न. ५ ले खरिद गरेको सेतो नम्बर प्लेटको मोटरसाईकलको केही चिनारी समेत छैन। सरकारले दिएको गाडीहरुको यसरी दुरुपयोग बढ्दै गएको छ।
प्रकाशित: ८ जेष्ठ २०७९ १५:०८ आइतबार