८ वैशाख २०८१ शनिबार
अर्थ

‘राष्ट्रिय उत्पादन दशक घोषणा गर्न माग’

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले स्वदेशी उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्तो धारणा राखेका हुन्। उनले वि.स. २०७९ देखि २०८९ सम्मको दशकलाई ‘राष्ट्रिय उत्पादन दशक घोषणा’ गर्न माग गरे। यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएको जानकारी दिए।

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेकाले उत्पादन बढाएर व्यापार घाटा कम गर्नुपर्ने थापाको धारणा थियो। उत्पादन बढाउनका लागि पूर्वाधारमा सघाउनुपर्ने थापाको तर्क छ। ‘प्रविधि भित्र्याएर प्रतिस्पर्धी क्षमताको विकास गर्नुपर्छ’, थापाले भने–‘त्यसका लागि हार्ड र सफ्ट पोलिसी आवश्यक छ।’

मेक इन नेपाल, मेड इन नेपाल जस्ता अभियानलाई साथ दिनुपर्ने उनले बताए। मुलुकको अर्थतन्त्रबारे चिन्तित रहेको बताउँदै आगामी आवको बजेटबाट सुधार गर्ने मौका रहेको धारणा राखे। निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमभन्दा पनि दीर्घकालीन महत्त्व राख्ने बजेट ल्याउनुपर्ने थापाले बताए। ‘बजेटले व्यापार घाटा कम गर्ने र उत्पादन बढाउने विषयमा ध्यान दिनुपर्छ’–थापाले भने।

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएकोमा दुःख व्यक्त गरे। भान्सादेखि सबैमा परनिर्भर भएकोमा चिन्ता व्यक्त गरे। ‘हामीले बेलुका गएर भान्सामा हेर्‍यौं भने बारीको थोरै विदेशबाट आएको धेरै वस्तु प्रयोग गर्छौं’, उनले भने–‘हाम्रो कृषि प्रधान देशको अवस्था यस्तो छ।’

उत्पादन वृद्धि र स्वदेशमा रोजगारी सिर्जना गर्न राष्ट्रिय उद्योग सञ्चालन गर्ने योजना चाहिएको बताए। सरकारले उद्योगलाई संरक्षण गर्ने नीति लिनुपर्ने थापाको धारणा थियो। ‘राष्ट्रिय उत्पादन  प्रवर्द्धन गर्नका लागि एउटा हार्ड पोलिसी र अर्को सफ्ट पोलिसी आवश्यक छ’, उनले भने–‘उत्पादन बढाउन पूर्वाधारमा सघाउनुपर्छ।’

उत्पादनका लागि केही क्षेत्र छान्नुपर्ने उनको धारणा थियो। धागो, कपडा उद्योग, फुटवेयर (जुत्ताचप्पल), निर्माण सामग्री, कृषि खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, हस्तकला लगायतका वस्तुलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

वैदेशिक र आन्तरिक लगानी बढाउने, जनशक्तिलाई प्रशिक्षित गर्ने, साना मझौला उद्योगलाई प्रोत्साहित गर्ने काम गर्नुपर्ने बताए। ‘उत्पादन वृद्धि र निर्यातलाई प्रोत्साहित गर्न निश्चित अवधि भन्सार छुट दिनु आवश्यक छ’, थापाले भने-‘उद्योगले १० वर्षसम्म प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ। त्यसपछि सरकारले छुट दिँदैन भनेर अहिले नै घोषणा गरेर जान सक्छौं।’

जुत्ता, टेक्सटाइलमा सरकारले सहजीकरण गरे उत्पादन वृद्धि गर्न सक्ने अवस्था रहेको थापाले बताए। नेपालीले अहिले वर्षको करिब नौ करोड जोर जुत्ता उपभोग गरे पनि पाँच करोड जोर जुत्ता विदेशबाट आयात भैरहेको बताए। ‘चार करोड जोर जुत्ता नेपालमा उत्पादन भएको छ’ थापाले भने–‘अझै साढे चार करोड जोर जुत्ता स्वदेशमै उत्पादन गर्न सक्ने सम्भावना छ।’

सरकारले चोरी पैठारी, न्यून मूल्यांकन हुन नदिए स्वदेशी जुत्ता तथा कपडा उद्योग फस्टाउने थापाले बताए। तीन करोड नेपालीले वार्षिक करिब ६० करोड मिटर कपडा प्रयोग गर्ने भए पनि तथ्यांकमा १० प्रतिशत कपडा स्वदेशमा उत्पादन र १० प्रतिशत मात्र भन्सार तिरेर आयात भएको देखिएको थापाको भनाइ थियो।

‘८० प्रतिशतको कतै हिसाब देखिँदैन’ उनले भने-‘कि अन्डर भ्यालुएसन भएर आएको छ कि चोरी निकासी।’ सरकारले कडाइ गर्ने हो भने स्वदेशी उद्योग फस्टाउने थापाले बताए। व्यापार घाटा घटाउन अवसर र ठाउँ रहेको उनको धारणा थियो। उनले लत्ताकपडा, औषधि, जुत्ता लगायतको उत्पादन बढाउन सकिने धारणा राखे। थापाले अर्थमन्त्रीलाई राजस्व जम्मा गर्नेभन्दा पनि उद्योगको विकास कसरी गर्न सकिन्छ भनेर सोचिदिन आग्रह गरे।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App