८ वैशाख २०८१ शनिबार
अर्थ

आयल निगमले तेल किनेको २२ अर्ब भुक्तानी गर्न सकेन

नेपाल आयल निगमले इन्धन खरिद गरे बापत इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट भुक्तानी गर्न सकेको छैन।

निगमले आईओसीलाई बुझाउनु पर्ने करिब २२ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन। आईओसीलाई तिनुपर्ने मध्ये २२ अर्ब रुपैयाँ बुझाउन नसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। ‘निगमले तेल खरिद गरे बापतको रकम भुक्तानी गर्न सकेका छैनौं,’ थानीले भने, ‘आपूर्ति व्यवस्था मिलाउन कठिनाई हुने देखिएको छ।’

निगमले तेल खरिद गरे बापतको रकम तिर्न नसके पछि इन्धन आपूर्तिमा कटौती गर्न सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर निगम घाटामा गए पछि इन्धन खरिद गरे बापतको रकम भुक्तानी गर्न नसकेको हो। आइओसीबाट प्राप्त पछिल्लो मूल्य विवरण अनुसार निगमलाई यो १५ दिनमा करिव चार अर्ब ४८ करोड रुपैयाँ घाटा रहेको छ।

पेट्रोलमा प्रति लिटर २२ रुपैयाँ ९४ पैसा, डिजेलमा ३५ रुपैयाँ ३३ पैसा, खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा खाएर बेचिरहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

निगमले यसै साता पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँ बढाएको भए पनि आइओसीबाट फेरी मूल्य बढेर आए पछि निगम संकटमा परेको हो। गत शनिबारदेखि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

प्रकाशित: ७ जेष्ठ २०७९ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App