७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘जजिराले नेपालको तराईलाई विश्वसँग जोडेको छ’

जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले जजिरा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको बताएका छन्।

उनले विश्वका विभिन्न मुलुक एवं क्षेत्रमा सेवा विस्तार गर्ने क्रममा भैरहवास्थित गौतम बुद्ध विमानस्थलसँग पनि जोडिएको बताए। राजधानीमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष भाराथनले नेपालमा जजिराको यो दोस्रो उडान सेवा भएको जानकारी दिए। यसअघि त्रिभुवन विमानस्थलमार्फत सेवामा जोडिएको जजिराले गौतम बुद्ध विमानस्थलबाट यही जेठ १ गतेदेखि उडान सुरु गरेको हो। जजिरा एयरवेज कुवेतको अग्रणी एयरलाइन कम्पनी हो।

उनले यो सेवाबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने समुदाय नेपालको दक्षिण–पश्चिमी तराई क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्ने बताए।

उनका अनुसार कुवेत र मध्य–पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावनमार्ग) ले सेवा दिन नसकेका यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। अब नेपाली एवम् विदेशी पर्यटकहरूलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ।

कार्यक्रममा सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहले ७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान जजिराको सेवासँगै नेपालको पश्चिमी भागसँग पनि जोडिएको बताए। उनका अनुसार यसले भैरहवाको आन्तरिक पर्यटनमा टेवा पुर्‍याउनुका साथै समग्र नेपालकै आर्थिक विकासमा सहयोग गर्नेछ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App