७ वैशाख २०८१ शुक्रबार
अर्थ

संघीय सरकारले सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशत बढायो

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा पाँच प्रतिशतसम्म वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले मंगलबार सार्वजनिक सूचना जारी गरेर यात्रुवाहक सवारीसाधनको भाडामा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ४.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ५.१ प्रतिशत वृद्धि गरेको छ।

विभागले यो नयाँ भाडा दर बुधबारदेखि नै लागू हुने जनाएको छ। यसअघि विभागले गत चैत २० गते लागू हुने गरी सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा १० देखि १५ प्रतिशत वृद्धि गरेको थियो।

विभागले सार्वजनिक यातायातको भाडा समयोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेकाले सोही अनुसार समायोजन गरेको जनाएको छ।

यसअघि भाडा निर्धारण गर्दा प्रतिलिटर डिजेलको मूल्य १३८ रूपैयाँ रहेको थियो। पछिल्लो समय डिजेलको मूल्य बढेर १५३ रूपैयाँ कायम भएको छ। यसअघि विभागले गत चैत २० गतेदेखि लागू हुने गरी १० महिनाको अवधिमा सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनमा ४३ प्रतिशत भाडा वृद्धि गरेको थियो। विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरेको हो।

नेपाल सरकारले २०६५ चैत २० गते तय गरेको वैज्ञानिक भाडा प्रक्रिया अनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत, र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बिमाकर, बैंक व्याज, पाटपुर्जा, टायर लुब्रिकेन्ट्स लगायतका अन्य कम्पोनेन्टहरूको आधारमा ६५ प्रतिशतलाई आधार मानेर प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र नेपाल सरकारको यातायात व्यवस्था विभागले समायोजन गर्नुपर्ने प्रावधान छ।

विभागले अभ्यास गर्दै आएको सार्वजनिक यातायात सेवा सञ्चालनका १३ सूचकहरूले बजार मूल्यमा आधारित वैज्ञानिक भाडादर समायोजन प्रणाली अन्तर्गत मुख्य पाँच सूचकहरूको बजार मूल्यमा आएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको उल्लेख गरिएको छ। संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेसँगै प्रदेश सरकारले पनि आफ्नो मातहत चल्ने एरियामा सार्वजनिक यातायातको भाडावृद्धि गर्नेछन्।

यसअघि बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री स्तरीय निर्णयबाट गत चैत २४ गते बाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको कम्तिमा १० देखि ११ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

प्रदेश मन्त्रिस्तरीय निर्णयले वैशाख १ देखि सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयनमा आएको थियो। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले अब २० रूपैयाँ तिर्नुपर्ने छ। यात्रुले १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रूपैयाँ भाडादर कायम गरेको थियो। मन्त्रालयका अनुसार १५ किलोमिटरसम्मको यात्रा गर्दा ३० रूपैयाँ भाडादर कायम गरेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App