१३ असार २०७९ सोमबार
अर्थ

घरआँगनबाटै विदेश उड्न पाउँदा यात्रु दंगः गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु

सुनवल नगरपालिका ४ नवलपरासीका सूर्यप्रसाद खनाल पहिलो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्समार्फत सोमबार बिहान कुवेत हुँदै दुबई जान पाउँदा निकै खुसी देखिन्थे।

विगत २५ वर्षदेखि युनाइटेड अरब इमिरेट्सको दुबई सहरमा ‘सिभर स्पुन’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका उनी वर्षको तीन–चार पटक नेपाल ओहोरदोहोर गरिरहन्छन्। ‘पहिला विदेश जान काठमाडौं नगई सुखै थिएन’, भैरहवा विमानस्थलमा हातमा पासपोर्ट लिएर बसेका खनालले भने– ‘अहिले त घरआँगनबाटै विमान चढेर जान पाउँदा औधी खुसी लागेको छ।’

खनालको घरदेखि अहिलेको विमानस्थलको दूरी झण्डै ४० किलोमिटर रहेको छ। अहिले आफ्नै घरछेउँबाटै विदेश जान पाउँदा उनको मुहारमा खुसी छचल्किरहेको थियो। यसअघि उनलाई विदेश जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विकल्प थिएन् तर अहिले उनलाई विदेश जान भैरहवा अत्यन्तै सरल र उपयुक्त विमानस्थल बनेको छ।

सुनवलबाट काठमाडौं जान भैरहवा हुँदै आन्तरिक उडान र स्थलमार्ग दुईवटा मात्रै विकल्प थिए। दुईमध्ये कुनै एक माध्यमबाट जाँदा पनि पैसा र समय दुवै धेरै खर्च हुने गथ्र्याे। अहिले भने लुम्बिनी प्रदेश आसपासका जनतालाई आफ्नै घरदैलोमै बनेको अन्तर्राष्ट्रिय विमानस्थलले विदेश आउजाउ गर्न निकै सहज बनाइदिएको छ।

सुनवलबाट काठमाडौं जाँदा एकातर्फ आर्थिक खर्च धेरै हुन्थ्यो भने अर्काेतर्फ समय पनि धेरै लाग्ने गथ्र्याे। भैरहवा विमानस्थलबाट करिब ४० किलोमिटर मात्रै टाढा रहेका उनी अहिले गाउँनजिकको शहरबाट सोझै विदेश जान पाएका छन्। ‘विदेश जान पहिला त्रिभुवन विमानस्थल जानुको विकल्प थिएन’, उनले भने– ‘अहिले त घरआँगनबाटै विदेश जान पाउँदा एकातर्फ खर्च घटेको छ। अर्काेतर्फ समयको बचत भएको छ।’

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै खनालको पैसा र समय दुवैको बचत हुँदा निकै खुसी छन्। यशोधरा गाउँपालिका वडा नम्बर ४ कपिलवस्तुका रियाजुल्लाह मुसलमान पनि पहिलो पटक भैरहवा विमानस्थल हुँदै कतार जाँदैछन्। उनी पनि आफ्नै गाउँठाउँमा बनेको विमानस्थलबाट पहिलो पटक वैदेशिक रोजगारीको लागि कतार जाँदैछन्। ‘यहाँबाट काठमाडौं जान धेरै दिक्कत हुन्थ्यो। बाटो खर्च र होटेलमा बस्ने खर्च धेरै लाग्ने गथ्र्याे’, विमानस्थलमा भेट्टिएका उनले भने– ‘खर्च धेरै लाग्ने कारणले परिवारका सदस्यलाई बिदाइको लागि काठमाडौं लैजान सकिदैनथ्यो तर यहाँ त सजिलै ल्याउन सकियो नि।’

छोरा रियाजुल्लाहलाई बिदाइ गर्न आएका बाबु मिल्यातुल्लाह मुसलमानले आफ्नै ठाउँमा विमानस्थल हुँदा धेरै सजिलो हुने प्रतिक्रिया दिए। ‘हामीलाई काठमाडौं जान धेरै अप्ठेरो हुन्थ्यो’, उनले भने– ‘बिहान घरबाटै छोरालाई बाइकमा ल्याएर बिदाइ गर्न पाए।

यो धेरै सुखद् कुरा हो नि!’ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै सात दशकपछि सोमबारदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै लुम्बिनी प्रदेश र यस प्रदेशसँग जोडिएका अन्य प्रदेशका यात्रुलाई आउजाउ गर्न धेरै सहज हुने अपेक्षा गरिएको छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कुनै आकस्मिक कारणले त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नसकेको खण्डमा छिमेकी मुलुक भारत तथा बंगलादेशमा विमान डाइभर्ट गरेर अवतरण गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।

बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार  

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक औपचारिक कार्यक्रमकाबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरे। ‘आजको दिन नेपालको पर्यटन तथा नागरिक उड्डययन क्षेत्रको विकासको लागि ऐतिहासिक महत्व राख्ने दिन हो।

काठमाडौंपछिको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दूरगामी सकारात्मक योगदान पुग्नेमा कुनै दुई मत छैन’, प्रधानमन्त्री देउवाले भने– ‘यस विमानस्थलको सञ्चालनबाट शान्तिका अग्रदूत गौतमबुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचित गराउन र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने मैले विश्वास लिएको छु।’ प्रधानमन्त्री देउवाले आन्तरिक तथा अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्दै मुलुकलाई उन्नति र प्रगतिको पथमा अघि बढाउन, पर्यटन क्षेत्रको विकास गर्न तथा आय रोजगारीका अवसर सिर्जना गरी दिगो आर्थिक विकासका लक्ष्यहरू हासिल गर्न नियमित र भरपर्दाे हवाई सेवाको विकास गर्नु आवश्यक भइसकेको बताए। प्रधानमन्त्री देउवाले आजदेखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलको सफलताले नेपालको उड्डयन क्षेत्रको साथै समग्र अर्थतन्त्रको विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने सुनिश्चित भएको बताए।  

‘सरकारको अथक प्रयास, मित्रराष्ट्र तथा एडिवी लगायतका दातृ निकायहरूको सहयोगमा सम्पन्न भएको यस विमानस्थलको व्यावसायिक सञ्चालनले भविष्यमा नेपालको समग्र अर्थतन्त्र, यात्रुहरूको आवागमन, व्यापार र पर्यटन विस्तारमा ठूलो टेवा पुग्नेछ’ उनले भने– ‘सबैको संयुक्त प्रयासको कारणले अहिलेको अवस्थामा विमानस्थल आइपुगेको हो।’

प्रधानमन्त्री देउवाले विमानस्थलको सफल सञ्चालनको लागि नेपाल प्रवेश गर्ने सहज मार्गहरूको विस्तारका लागि नेपाल सरकारको तर्फबाट मित्रराष्ट्र भारतसँग समन्वय र सहकार्य भइरहेको बताए। प्रधानमन्त्री देउवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकीय पूर्वाधार निर्माण, बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार र आय तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने दाबी गरे।

पर्यटन प्रवर्दनमा कोसेढुंगाः एडिबीका कन्ट्री डाइरेक्टर

एसियाली विकास बैंक (एडिबी) नेपालका कन्ट्री डाइरेक्टर आर्नाे कोश्वाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै दक्षिण एसियामा बुद्धिष्ट सर्किटमार्फत पर्यटन प्रवद्र्धनमा कोसेढुंगा सावित हुने बताए। ‘विमानस्थल सञ्चालनमा आएसँगै बुद्धिष्ट सर्किटमार्फत सोझै गौतमबुद्धको जन्मस्थलमा पर्यटक आउन सक्ने वातावरण बनेको छ’, उनले भने– ‘यो नेपालको पर्यटन प्रवद्र्धनको लागि कोसेढुंगा सावित हुनेछ।’ यो परियोजनामा एसियाली विकास बैंक (एडिबी) को १२.७५ मिलियन अमेरिकी डलर अनुदान, एडिबीको ४२.७५ मिलियन अमेरिकी डलर ऋण, ओपेक फण्ड फर इन्टरनेशनलको १५ मिलियन अमेरिकी डलर, नेपाल सरकारको २३.७१ मिलियन अमेरिकी डलर र एसियन क्लिन इनर्जी फण्डको ३ मिलियन गरेर कुल ९७.२१ मिलियन अमेरिकी डलरमा निर्माण गरिएको हो।

‘यो विमानस्थलमार्फत लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको साथसाथै आर्थिक तथा सामाजिक उत्थानमा समेत मदत पुर्‍याउँदै मुलुककै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिनेछ’, एडिबी नेपालका कन्ट्री डाइरेक्टर काश्वाले भने– ‘व्यापार व्यवसायलाई समेत अझै टेवा पुर्‍याउनेछ।’ उनले श्रीलंका, बंगलादेश, म्यानमार, भुटान, कम्बोडिया लगायतका बुद्धिष्ट मुलुकहरूसँग नेपालको हवाई सम्पर्क तथा सञ्जाल विस्‍तारका लागि यो विमानस्थल लाभदायक हुने बताए।

पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने जजिरा एयरवेज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान कुवेतको जजिरा एयरवेजले गरेको छ। सोमबार बिहान सात बजेर आठ मिनेट जाँदा जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। अवतरण गरेको विमानलाई पानीको फोहोरा र गडगडाहट तालीले भव्य स्वागत गरिएको थियो। सोमबार बिहान ६ बजेर ५६ मिनेट जाँदा नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले पनि व्यावसायिक आन्तरिक उडान गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले करिब साढे ७ अर्ब रूपैयाँ खर्चेर विमानस्थल निर्माण गरिएको बताए।

चार वर्ष ढिलो सञ्चालनमा

तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले यो विमानस्थल ०७१ माघ १ गते शिलान्यास गरेका थिए। विमानस्थल चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसनले सन् २०१५ देखि निर्माण सुरु गरेर सन् २०१७ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। भूकम्प, नाकाबन्दी र कोभिड १९, निर्माण सामग्रीको अभाव लगायतका विविध कारणले यो आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन। यो आयोजना तोकिएको समयभन्दा झण्डै चार वर्षपछि मात्रै सञ्चालनमा आएको हो। यो आयोजनाको जग्गा र मुआब्जा तथा क्षतिपूर्तिमा करिब ३२ अर्बभन्दा धेरै रकम खर्च भएको छ। पहिलो चरणमा ६ अर्ब २२ करोडमा निर्माण गर्ने भनिए तापनि अहिले यो आयोजनाको लागत झण्डै आठ अर्ब रूपैयाँ पुगेको छ।

तत्कालीन युवराज वीरेन्द्रवीरविक्रम शाहदेवले भैरहवास्थित गौतमबुद्ध विमानस्थल वि. सं. २०२३ सालमा उद्घाटन गरेका थिए। उनले उद्घाटन गरेको ५६ वर्षपछि आन्तरिक विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिएको हो। अहिले यो विमानस्थलको धावनमार्ग ३ हजार मिटर रहेको छ। यसअघिको आन्तरिकतर्फको धावनमार्ग १५ सय मिटरको थियो। जसलाई अहिले ट्याक्सी वेको रूपमा परिणत गरिएको छ। अहिले ४५ मिटर चौडाइ भएको दुई वटा धावनमार्ग रहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताए। ‘त्रिभुवन विमानस्थलमा कुनै प्राविधिक कारणले विमान अवतरण हुन नसकेको अवस्थामा छिमेकी मुलुक गएर आकस्मिक अवतरण गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ’, उनले भने– ‘त्रिभुवन विमानस्थलको अत्यधिक चापलाई न्यून गर्दै मुलुकमा बढ्दो हवाई सुरक्षा र यातायातलाई सहज पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’ मन्त्री आलेले त्रिभुवन र गौतमबुद्ध विमानस्थल सोमबारदेखि २४ सै घण्टा सञ्चालन हुने जानकारी दिए।

सम्भावनाको ढोका खोल्योः निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गौतमबुद्ध विमानस्थल बनेसँगै पर्यटन, व्यापार र रोजगारीको सम्भावनाको ढोका खोलेको बताए। ‘अब विदेशी मुलुकबाट विदेशी पर्यटन सोझै लुम्बिनी आउने बाटो खुलेको छ’, उनले भने– ‘भैरहवा नाकासँगै विमानस्थल बनेकाले पनि आर्थिक गतिविधि बढेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सन्देश प्रभाव गर्न सफल भएको छ।’

प्रकाशित: ३ जेष्ठ २०७९ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App