coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

९५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा कालोपत्रे हुँदै

निर्माणधीन धरान-चतरा-सिन्धुली-हेटौडा (मदन भण्डारी) राजमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान-चतरा-सिन्धुली-हेटौडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पश्चिम खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको राजमार्गको पश्चिम खण्ड आयोजना कार्यालयले जनाएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौडासम्मको झण्डै ९५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ, मदनभण्डारी राजमार्ग आयोजना पश्चिम खण्डका इञ्जिनियर निरञ्जन थापाले भने बागमतीको पुल समेत सुचारु भइसकेकाले सवारी आवातजावतमा समेत सहज हुँदै गएको छ।

सिन्धुलीको सदरमुकाम स्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुरा बजारसम्मको ६ किलोमिटर सडक निर्माणमा लामो समयदेखि राजमार्ग अन्यन्त्रैबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो। राजमार्गको नक्साङ्कनको विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।

राजमार्ग निर्माण गर्दा कमालमाई नगरपालिका ६ धुराबजारका बासिन्दाले आफूहरू विस्थापित हुनुपर्ने भन्दै अन्य विकल्प खोजेर राजमार्ग लैजान माग गरेका थिए। यसक्रममा स्थानीयले अवरोध गर्दा चार वर्षदेखि विवाद भइरहेको थियो। हाल धुराबजारको सिरानदेखि खट्टारसम्म राजमार्गको चौडाइ घटाएर सोही स्थानबाट निर्माण गर्ने सहमति भएसँगै बजार क्षेत्रमा कालोपत्रे सुरु भएको छ।

मदनभण्डारी राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुराबजारदेखि खट्टार क्षेत्रसम्मको ६ किलोमिटर चौडाइ घटाएर ९ मिटर मात्रै कालोपत्रे गर्ने सहमति अनुसार काम भइरहेको छ। यस राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक पिच मात्रै ११ मिटर कायम गरिएको छ। 

धुराबजार–लोकतान्त्रिक चोक–अस्पतालरोड हुँदै विपी राजमार्गको शान्तिनगर चोकमा जोडिने गरी राजमार्गको काम भइरहेको पश्चिम खण्ड आयोजनाका इञ्जिनियर निरञ्जन थापाले जानकारी दिए। ‘सामान्य विवाद अझै आइरहेको छ’, उनले भने–‘विवाद समाधान गरेरै काम काम गर्छौ। पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेडौडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडक पर्छ।

२०७३ साल कात्तिकमा सम्झौता भएको उक्त राजमार्ग निर्माण गर्न पटकपटक समयावधि थप गरिएको थियो। समयवधि थपिएपछि २०७७ साल फागुन भित्र निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण पुनः निर्माण अवधि थप गरी काम भइरहेको आयोजनाले जनाएको छ।

राजमार्ग निर्माणको  जिम्मा पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइ इसी शर्मा एण्ड लामा जेभीले जिम्मा लिएको छ। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच भएको छ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच भएको र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच भएको आयोजनाले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App