१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मर्स्याङ्दी करिडोरका चारवटा सबस्टेसन चाँडै सक्न निर्देशन

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनको निर्माण कार्य जारी रहेको बताएको छ।

आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको हो। नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको बताइएको छ।

खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ। भौगोलिक रूपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने भएको छ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन्। दुवै सबस्टेसनको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने त्यहाँ आवश्यक उपकरणहरू पनि जडान भइरहेको छ।

खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन्। खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन अवस्थामा छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणधीन आयोजनको अवलोकन गर्दै मस्र्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।

लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ। उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरूको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको विद्युत् भने खुदी सबस्टेसनमा जोडिने छ।  

मस्र्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्नका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ।चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन्। तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रूपैयाँ रहेको छ।

प्रकाशित: १४ वैशाख २०७९ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App