७ वैशाख २०८१ शुक्रबार
अर्थ

आयात बढ्दा शोधानान्तर घाटा र बैंकमा तरलता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसके चुनौतीहरु थपिदै जाने बताएका छन्।  

उनले शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै आयात बद्दै जादा त्यही अनुसार विदेशी मुद्रा आर्जन पनि घट्दै गएकाले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीका रुपमा देखिएको बताए।  

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको जानकारी दिए। उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दै गएको पनि बताए।  

उनले भने, ‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्य वृद्धिले अन्य क्षेत्रमा पनि मूल्य वृद्धिमा चाप पर्ने अवस्था छ। आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा अप्रवाह स्रोतको सिमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सृजना भएको छ।’

अधिकारीका अनुसार बाह्य क्षेत्र सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंकले विनिमय दर तथा बाह्य सञ्चिति व्यवस्थापन गर्ने गर्छ। पछिल्ला केही महिनामा नेपालको बाह्य क्षेत्रमा दबाबको स्थिति छ। मुलुकमा कोरोना प्रभाव कम भएसँगै भएको कर्जा विस्तार,बढ्दो आयात तथा पर्यटन जन्य आम्दानीमा आएको कमिको कारण चालु खाता तथा सोधानान्तर स्थिति चालु आर्थिक वर्षको सुरुवात देखि नै निरन्तर रुपमा घाटामा छ। यस्तो अवस्थामा बाह्य क्षेत्र व्यवस्थापन हामी सबैको लागि चुनौतीपूर्ण बन्दै छ। हाल देखिएको चुनौतीपूर्ण बाह्य पृष्ठभूमिका रुपमा कोभिड पूर्वको अवस्था सम्झनुपर्छ। कारोनाको कारण २०२०मा विश्व भर नै बाह्य व्यापार तथा बाह्य रेमिटेन्स प्रभावित भयो।  

त्यस्तै गभर्नर अधिकारीले मुलुक विगत साढे चार दर्शक देखिनै बाह्य व्यापार घाटामा रहेको बताए। उनले चालु आर्थिक वर्षको सूरुवात देखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा  कुल वस्तुको निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भइ १४७ अर्ब ७५ करोड पुगेको जानकारी दिए।  

अधिकारीका अनुसार कुल बस्तु आयात ३८ दशमलव ६ ले वृद्धि भइ १३ सय ८ अर्ब ७३ करोड पुगेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहन्छ।  

उनले आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आगामी दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने बताए। ‘हामीले श्रीलंकाको अवस्था हेरेर पाठ सिक्नु पर्र्छ, अधिकारीले भने।  

अधिकारीका अनुसार निर्यातको आधार साधुरो भएको कारण निर्यातमा जम्मा ६७ अर्बले मात्रै वृद्धि भएकोमा आयात ३ सय ६५ अर्ब विस्तार भइ व्यापार घाटा करिब २ सय ९८ अर्ब झण्डै ३०० सय अर्बले वृद्धि भएको अवस्था छ। चालु आर्थिक वर्षको सुरुवात देखि घट्न थालेको रेमिटेन्स माघसम्म पनि जारी रह्यो। पछिल्लो समय नेपालको बाह्य रोजगारीमा भएको उल्लेखिय वृद्धिले रेमिटेन्समा सुधार भई चालु खाता तथा सोधानान्तर स्थिति सुधार हुने देखिन्छ।

प्रकाशित: २५ चैत्र २०७८ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App