coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सन् २०२१ को जुलाइ १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना महामारी फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो।

अहिलेसम्म ९३ प्रतिशत काम पूरा भएको विमानस्थल आयोजनाले जनाएको छ। कोरोना महामारीका कारण तोकिएको समयमा सबै काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ। एक वर्ष म्याद थपिएपछि २०२२ को जुलाई १० सम्म सबै काम सक्नुपर्ने हुन्छ। निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै शनिबार नेपाललाई विमानस्थल हस्तान्तरण गरेको छ। विदेशी निर्माण कम्पनीले सबैतिरको अप्ठेरोबीच विमानस्थललाई करिबकरिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ।

तर सरकार र स्थानीय तहले गर्नुपर्ने कामको अहिलेसम्म टुंगो लाग्न सकेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने स्वदेशी निकायलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल सञ्चालनमा आउनेछ। तर स्वदेशी निकायले यसतर्फ तदारुकता देखाएका छैनन्।

विमानस्थल आयोजनाका एक उच्च अधिकारी भन्छन्, ‘सामान्य समस्या समाधान भएकै छैनन्। ती समस्या समाधान नभएसम्म विमानस्थल सञ्चालनमा आउँदैन।’ हवाईजहाजको पहुँच मार्गमा पर्ने लेखनाथको रिट्ठेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, भेलबाढी व्यवस्थापन, आउजाउमा पहुँच पुग्नेगरी सडक विस्तारलगायतका काम बाँकी छन्।

‘चार वर्षमा विदेशीले विमानस्थलका सबैजसो महत्वपूर्ण संरचना बनाइसक्दा हामी आफैँ (नेपाल सरकार) ले गर्नुपर्ने काम अघि बढाउन सकेनौं,’ आयोजनाका ती अधिकारी भन्छन्, ‘सरकारी तवरबाट हुनुपर्ने ती काम नभएसम्म विमानस्थल सञ्चालन सम्भव हुँदैन।’ ती अधिकारीका अनुसार आन्तरिक रूपमा हुुनुपर्ने ती काम नयाँ पनि होइनन तर सरोकारवाला निकायले आँखा चिम्लिँदा समस्या भएको छ। ‘विदेशी निर्माण कम्पनीले यत्ति ठुलो विमानस्थलको सबैजसो संरचना पूरा गर्दा हामी आफैंले डाँडा कटान, ल्याण्डफिल साइट र ढल व्यवस्थापनजस्ता काम गर्न नसक्नु लाजमर्दाे हो,’ ती अधिकारीले भने।

विमानस्थल पदाधिकारीका अनुसार डाँडा कटानको काम अझै सुरु भएको छैन। पहुँच मार्गमा पर्ने रिट्ठेपानीको डाँडा चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया अहिले चलिरहेको छ। इआइए स्वीकृत नभई कटान सुरु हुँदैन। इआइए स्वीकृत भएपछि पनि टेण्डर आह्वान गर्नुपर्छ। यति सबै गर्दा वैशाखभित्र काम सुरु हुने आयोजनाका पदाधिकारीको अनुमान छ।

डाँडाको १४ मिटर उचाइ घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्। ‘बखाअघि नै डाँडा काट्न सकिएन भने सकस हुनेछ। किनकी बर्खामा काट्न अप्ठेरो हुन्छ,’ ती अधिकारीले भने।

त्यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण। वर्षायाममा बजारतिरबाट सोहोरिएर आउने भेलबाढीले विमानस्थलको पूर्वी भेगमा क्षति पुर्‍याउने गरेको छ। त्यो भेल व्यवस्थापन गर्नुपर्छ। त्यस्तै दक्षिणतिरको भेगमा सिँचाइका लागि पानी पठाउन आवश्यक पर्ने नहर बनेको छैन। विमानस्थलको दक्षिणतिर पानी अभाव छ तर पूर्वतिर अनावश्यक पानी बग्दा पहिरोको जोखिम छ। पश्चिमको पानी दक्षिण पुर्‍याउनका लागि संरचना बनाउन सकिएको छैन।

विमानस्थल नजिकैको ल्याण्डफिल साइट पनि स्थानान्तरण हुन सकेको छैन। ल्याण्डफिल साइट स्थानान्तरण र व्यवस्थापन हुन नसके पनि विमानस्थल सञ्चालनमा आउन गाह्रो हुनेछ। पोखरा महानगरपालिकाले वर्षाैंदेखि सहरको फोहोर व्यवस्थापन गर्दै आएको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट विमानस्थलबाट करिब दुई किलोमिटर दूरीमा छ।

बाच्छेबुडुवा ल्याण्डफिल साइटमा जनावर र चराचुरुंगी आहारा खोज्दै आउँछन्। त्यसक्रममा ती चराचुरुंगी र जनावर विमानस्थलभित्रै आउन सक्छन्। ल्याण्डफिल साइट व्यवस्थापन नगरेसम्म उडान सुरु नहुने सम्बद्ध अधिकारीले बताउँदै आएका छन्। ‘विमानस्थलमा हामी आफैंले गर्नुपर्ने काम आयोजना थालनी हुँदा नै पहिचान भएका हुन्। तर अहिलेसम्म ती काम हुन सकेको छैन,’ आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘तत्काल यी काम सुरु गर्नुपर्छ। अन्यथा विमानस्थल सञ्चालनमा विलम्ब हुनेछ।’ डाँडा कटान, ल्याण्डफिल साइट र ढल व्यवस्थापन सबैभन्दा छिटो गर्नुपर्ने उनले बताए।

विमानस्थल निर्माणमा लागिपरेका विश्वशंकर पालिखे मागीखाने बानी परेकाले यस्तो अवस्था आएको बताउँछन्। ‘विमानस्थलको काम देख्दा लाग्छ, हामीलाई मागीखाने बानी लागेको छ, गरिखाने बानी लागेन, यो दुखद हो,’ पालिखेले भने, ‘विदेशीले काम सकेर हस्तान्तरण गरिसक्दा हामीले ढल, ल्याण्डफिल साइट व्यवस्थापन र डाँडा कटान गर्न सकेनौं।

यी तीन काम पूरा नभएसम्म विमानस्थल सञ्चालन हुुन सक्दैन।’ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका पालिखेले भने, ‘ठुलो पूर्वाधार तयार भयो तर सानासाना काम बाँकी छन्।’ अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पनि सरकारी निकायको काम देखेर असन्तुष्ट छन्। उनी भन्छन्, ‘विदेशी ठेकेदारले सबै काम सके तर स्वदेशी निकायले सामान्य काम पनि गरेका छैेनन्। सहजै गर्न सकिने काम चार वर्षसम्म पनि भएन।’ सरकारी निकायमा इच्छाशक्ति नै नभएको उनले बताए।

प्रकाशित: १६ चैत्र २०७८ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App