coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीले सकिसके, आफूले गर्नुपर्ने कामको टुंगै छैन

निर्माण सकिन थालेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते भव्य समारोहबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरे। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो । तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो।  

कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा अहिलेसम्म ९३ प्रतिशत काम पुरा भएको विमानस्थल आयोजनाले बताएको छ। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि म्याद थपिएको छ। एकवर्ष म्याद थपिँदा आगामि जुलाई १० सम्म काम सम्पन्न भईसक्नुपर्ने हुन्छ। तर, निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै शनिबार नेपाललाई विमानस्थल हस्तान्तरण गरेको छ।

विदेशी निर्माण कम्पनिले सबैतिरको अप्ठेरोकाबीच विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, यो बीचमा नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिलेसम्म टुंगो लगाउन सकेका छैनन्। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने स्वदेशी निकायलाई नै थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्।  

विमानस्थल आयोजनाका एकजना उच्च अधिकारी भन्छन, ‘वर्षाैअघिका सामान्य समस्या समाधान भएकै छैनन। ती समस्या समाधान नभएसम्म विमानस्थल संचालनमा आउँदैन।’ हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढीको व्यवस्थापन, आउजाउँमा पहुँच पुग्नेगरि सडक बिस्तार लगायतका मुख्य काम बाँकी नै छन। ती काम कहिले सकिन्छन् भनेर कसैले पनि भन्न सक्दैनन।  

‘चारवर्षमा विदेशीले विमानस्थलका सबैजसो महत्वपूर्ण संरचना बनाईसक्दा हामी आफै (नेपाल सरकार) ले गर्नुपर्ने काम अघि बढाउन समेत सकेनौ,’ आयोजनाका ती अधिकारी भन्छन, ‘आन्तरिक रुपमा हुनुपर्ने ती काम नभएसम्म विमानस्थल संचालन सम्भव हुँदैन।’ ती अधिकारीका अनुसार आन्तरिक रुपमा हुुनुपर्ने ती काम नयाँ पनि होईनन। तर, सरोकारवाला निकायले आँखा चिम्लिँदा कामले पूर्णता पाउन सकेका छैनन्।  

‘यत्ति ठुलो विमानस्थलको सबैजसो संरचना पुरा हुँदा डाडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण र ढल व्यवस्थापन गर्न नसक्नु लाजमर्दाे कुरा हो,’ उनले भने, ‘आन्तरिक निकायले गर्नुपर्ने ती काम नभएसम्म विमानस्थल संचालनमा आउँदैन भन्ने सबैलाई थाहा छ। तर, कसैले तदारुकता देखाएनन्।’ उनका भनाईमा आन्तरिक निकायले तत्काल समाधान गर्नुपर्ने ती कामबारे विमानस्थल शिलान्यास हुनुअघि नै थाहा थियो, तर, ती विषयमा सरोकारवाला निकायले आँखा चिम्लेरै बस्दा यो अवस्था आएको हो।  

‘विदेशी कम्पनिले चारवर्षमा सिंगो विमानस्थल तयार पारिसके, तर, हाम्रा निकाय अहिलेसम्म पनि प्रक्रियाभित्र छौ भनेर बसिरहेका छन,’ उनले भने। विमानस्थल पदाधिकारीका अनुसार डाँडा कटानको काम अझै सुरु नै भएको छैन। पहुँचमार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को प्रक्रिया अहिले चलिरहेको छ। इआइए स्वीकृत नभई कटान सुरु हुँदैन। स्वीकृत भएपछि पनि टेण्डर आव्हान गरेर सुरु गर्दा पनि बैशाखभित्र काम सुरु हुने आयोजनाका पदाधिकारीको अनुमान छ।  

डाँडाको १४ मिटर उचाई घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर, नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइँ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्। ‘वर्षाअघि नै डाँडा काट्न सकिएन भने सकस हुनेछ। किनकी वर्षामा कटान अप्ठ्यारो हुन्छ,’ ती पदाधिकारीले भने।  

त्यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण। वर्षायाममा बजारतिरबाट सोहोरिएर बगेको भेलबाढीले विमानस्थलको पूर्वि भेगमा क्षति पुर्‍याउने गरेको छ। त्यो भेल व्यवस्थापन तत्कालको आवश्यकता हो। त्यस्तै दक्षिणतिरको भेगमा सिंचाइका लागि पानी पठाउन आवश्यक पर्ने नहर बनेको छैन। विमानस्थलको दक्षिणतिर पानी अभाव छ, तर, पूर्वतिर अनावश्यक पानी बग्दा पहिरोको जोखिम छ। पश्चिमको पानी दक्षिण पु¥याउनका लागि संरचना बनाउन ढिलाई भएको छ। 

 अर्काे टड्कारो समस्या हो विमानस्थल नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण। ल्याण्डफिल साइट व्यवस्थापन विमानस्थल संचालनको सबैभन्दा ठुलो बाधक मानिएको छ। तर, वर्षाैदेखिको यो समस्या ज्यूँ का त्यूँ छ। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट  विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा पर्छ।  

पोखरा महानगरपालिका –१४ बाच्छेबुडुवा ल्याण्डफिल साइट नजिक पर्ने भएकोले त्यहाँका चराचुरुङगी आहारा खोज्दै, घाम ताप्न र उड्ने क्रममा विमानस्थल नजिक बाक्लै आउजाउ गर्छन। बेलाबेला गिद्धको बथानै निर्माणाधिन विमानस्थलको धावनमार्ग क्षेत्रमा आइपुग्छन। ल्याण्डफिल साइट व्यवस्थापन नगरेसम्म उडान सुरु नहुने पदाधिकारीले बताउँदै आएका छन।  

‘विमानस्थलमा हामी आफैले गर्नुपर्ने काम नयाँ होईनन, आयोजना थालनी हुँदा नै पहिचान भएका समस्या हुन्। तर, ती समस्या अझै पनि पहिलेकै अवस्थामा छन,’ आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन, ‘तत्काल यी काम थालनी गर्नुपर्छ। अन्यथा ढिला हुनेछ। विमानस्थल तयार भएर मात्र हुँदैन, संचालनमा ल्याउँदा सबै तयारी हुनुपर्छ।’ डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण र ढल व्यवस्थापन सबैभन्दा छिटो गर्नुपर्ने काम भएको उनले बताए।

विमानस्थल निर्माणमा लागिपरेका अगुवा समेत रहेका विश्वशंकर पालिखे मागीखाने बानी परेकोले यस्तो अवस्था आएको बताउँछन्। ‘विमानस्थलको काम देख्दा लाग्छ, हामीलाई मागीखाने बानी लागेको छ, गरिखाने बानी लागेन, यो दुखद कारण हो,’ पालिखेले भने, ‘विदेशीले काम सकेर हस्तान्तरण गरिसक्यो, तर, ढल र  ल्याण्डफिल साइट व्यवस्थापन तथा डाँडा कटानको काम हमीले सकेनौ। यी तीन काम पुरा नभएसम्म विमानस्थल संचालन हुन सक्दैन।’  

सरोकारवाला निकायको कमजोरीले गर्दा यस्तो अवस्था आएको उनले बताए। पोखरा महानगरले बाच्छेवुडुवामा ल्याण्डफिल साइट बनाएर फोहर फ्याक्न थाल्दा नै विमानस्थलको बाधक मानिएर विरोध गरेपनि त्यो बेला सुनुवाई नभएको उनले बताए। ‘ठुलो पुर्वाधार तयार भयो, तर, साना काम थाती छन। तिनै थाती रहेका साना काम झनै महत्वपूर्ण छन,’ पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका पालिखेले भने।  

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पनि सरकारी निकायको काम देखेर असन्तुष्ट छन्। उनी भन्छन, ‘विदेशी ठेकेदारले सबै काम सके, तर स्वदेशी निकायले सामान्य काम गर्न सकेनन्। यो जत्तिको कमजोरी केही हँदैन।’ विमानस्थल शिलान्यास भएसगै गर्नुपर्ने कामको थालनी समेत नभएको उनले बताए।  

‘चिनियाँले योजनावद्ध काम गरेकोले तोकिएको समयमा सके। तर, यहाँ भोलि गरौला भनेर बसे वा कमिसनको अलमलमा परेर यो अवस्था आएको हो,’ भट्टराइले भने, ‘सानो भन्दा सानो र सहजै गर्न सकिने काम वर्षदिनमा सकिने अवस्थामा चारवर्षसम्म पनि पुरा भएनन। अझ कहिले हुन्छ भनेर भन्न सकिन्न। यो जत्तिको कमजोरी अरु हुन सक्दैन।’ सरकारी निकायमा इच्छाशक्ति नै नभएको र खालि फाइदाका लागि मात्र लागिपर्दा यो अवस्था आएको उनले बताए।  

प्रकाशित: १३ चैत्र २०७८ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App