७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ कम्पनीद्वारा पूर्वाधार हस्तान्तरणको तयारी

विमानस्थलको ९३ प्रतिशत काम पुरा

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर्ने तयारी भएको छ। केही काम थाती रहेकै अवस्थामा चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विमानस्थल हस्तान्तरण गर्ने तयारी गरेको हो। विमानस्थलको ९३ प्रतिशत काम पूरा भएको आयोजनाले बताएको छ।  

श्रोतका अनुसार हालसम्म बनेका पूर्वाधार प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी छ। विमानस्थलको धावनमार्ग, टर्मिनल सहितका १४ वटा भवन तयार भएका छन्। त्यसबाहेक पार्किङ, ट्याक्सिवे लगायतका पुर्वाधार पनि तयारी अवस्थामा छन्। भवनभित्रको आन्तरिक सजावटका काम भने केही बाँकी छ। टावरमा अझै केही उपकरण जडान हुन बाँकी छन्। ‘सबै काम सकिएको होईन, तर, निर्माण कम्पनिले हस्तान्तरणको तयारी गरेको छ,’ प्राधिकरण श्रोतले भन्यो, ‘बाँकी रहेका काम ठुला होइनन, सानातिना केही अपुरा हुन्। ती काम पुरा गर्न खासै समय लाग्दैन।’

चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत ११ देखि १३ सम्म नेपाल भ्रमणमा आउने तय भएको र त्यही मौका पारेर पूर्वाधार हस्तान्तरण गर्ने तयारी भएको श्रोतले बताएको छ। ‘अहिलेसम्मको तयारी अनुसार विदेशी मन्त्रीबाट ती पूर्वाधार प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी छ,’ श्रोतले भन्यो, ‘केही सानातिना काम त बाँकी छन्। तर अहिले विदेशमन्त्री आएको बेला पारेर हस्तान्तरण गर्ने तयारी हो।  

यो विमानस्थल गत जुलाई १० मा तयार भएर हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणका कारण बेलैमा काम नसकिएको भन्दै एक वर्ष म्याद थपिएको थियो। एक वर्ष म्याद थपिएपछि सन् २०२२ को जुलाई १० सम्म विमानस्थल तयार गर्ने समय तोकिएको थियो। म्याद थपिएको मध्ये झन्डै साढे तीनमहिना बाँकी नै छ। ‘कोरोनाले गर्दा निर्माणमा अवरोध आएको भन्दै एकवर्ष म्याद थपिएको हो। साढे तीन महिना बाँकी रहेपनि अहिले नै बुझाउने तयारी छ,’ श्रोतले भन्यो।  

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ बैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए। शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो। विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो। विमानस्थलबाट २०२२ भित्रै व्यवसायिक उडानमा संचालनमा ल्याउने लक्ष्य पनि आयोजनाको छ। तर, केही काम बाँकी रहेकोले उडान कहिलेबाट सुरु हुने भन्ने यकिन छैन।  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ। त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ। जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ। पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ।  

पूर्वाधार हस्तान्तरण भएपछि तिनको रेखदेखको जिम्मा प्राधिकरणमा आउनेछ। त्यसबाहेक विमानस्थल संचालनमा पनि थप दवाव पर्नसक्ने श्रोतको भनाई छ। ‘विमानस्थल संचालनमा आउनुअघिका थुप्रै काम बाँकी छन। कतिपय पूर्वाधार नै बनेका छैनन। केही कागजी काम छन,’ श्रोतले भन्यो, ‘तर, मुख्य र अत्यावश्यक पूर्वाधार बनिसकेकोले उडान संचालनका लागि दवाव पर्छ। निर्माण कम्पनिले हस्तान्तरण गर्नु भनेको काम सकिनु भन्ने बुझाउँछ।’

विमानस्थल पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलबाट भन्दा पनि थोरै संख्यामा उडान हुने श्रोतले बताएको छ। ‘निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व–पश्चिम ‘रन–वे’को पश्चिमपट्टिको ‘रन–वे’ लाई मात्र ‘टयाक्सी–वे’ मा जोडिएको छ। यो विमानस्थलमा हवाई अवतरण पूर्वबाट मात्र सम्भव छ। तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन। यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ। यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडानहरु हुने श्रोतले बताएको छ। पूर्वको रनवेलाई ट्याक्सी वे ले जोड्ने कामको सुरुवातै भएको छैन।  

प्राधिकरणका अर्का एक उच्च अधिकारीका अनुसार नेपाल भ्रमणमा आउन थालेका चीनका विदेशमन्त्री वाङ यी को अवसर पारेर कार्यक्रम तय गरिएको हो। ‘चिनियाँ कम्पनिले आफ्ना विदेशमन्त्रीको भ्रमणको मौका पारेर पूर्वाधार हस्तान्तरण गर्न प्रस्ताव गरेको हो,’ ती अधिकारीले भने, ‘विदेशमन्त्री आएको बेला केही काम गरौं भनेर यो प्रस्ताव आएको हो। आगामि शनिबार कार्यक्रम आयोजना गर्ने तयारी छ।’ ती अधिकारीका अनुसार अहिले पनि विमानस्थलका काम बाँकी छन्। त्यसैले अहिले नै पूरै पूर्वाधार हस्तान्तरण भने भनिएको छैन। ‘प्रस्ताव नआएको होईन, तर, कतिसम्म हस्तान्तरण गर्ने भन्ने यकिन भईसकेको छैन,’ ती अधिकारीले भने।  

प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ। चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।  

प्रकाशित: १० चैत्र २०७८ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App