सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।
उक्त अवसरमा बोल्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंकको पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेको उल्लेख गरे।
बैंकको चुक्ता पुँजी २ अर्बबाट नौ अर्ब ५५ करोड, निक्षेप परिचालन एक अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह एक अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको उक्त अवसरमा जानकारी गराइएको छ।
सो अवसरमा बैंकले लुम्बिनी आई इस्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्त्वपूर्ण उपकरण खरिदका लागि चार लाख दुई हजार दुई सय ८० रूपैयाँ, गोविन्द मेमोरियल एकेडेमी दिङ्ला भोजपुरमा विद्यार्थीका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष सुरेश बस्नेतलाई एक लाख रूपैयाँ सहयोग गरेको छ।
साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित भगवान कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार रूपैयाँ, नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई एक लाख सहयोग प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २९ फाल्गुन २०७८ ०३:२६ आइतबार