८ वैशाख २०८१ शनिबार
अर्थ

अस्थिर नीतिले औद्योगिक विकास अघि बढेन: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।

‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सिर्जनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ। हामीकहाँ छोटो छोटो समयमा नीति परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायी लाग्ने गरेको देखिन्छ। यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,’ उनले भने।

शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघको ६३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवालासँग गहन छलफल गर्न आवश्यक रहेको बताए।

‘अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ। यसले गर्दा धेरै व्यवसायी साथीहरू आतंकित भएको जस्तो पनि देखिन्छ। केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरूलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो। त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए,’ उनले भने।

‘अहिले बजारमा देखिएको तरलताको अभाव भनौं वा आर्थिक गतिविधिमा देखिएका मन्दीहरू सबै अस्थिर नीतिसँग जोडिएका छन्,’ उनले भने, ‘यसले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ।’

सरकारी राजस्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेका बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्नुपर्नेमा जोड दिए।

‘सरकारी राजस्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी छ। यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ। यो धेरै नै महत्त्वपूर्ण छ। कतिपय नीतिहरू सम्बन्धित सरोकारवालासँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिँदैन, व्यवसायीको पनि अपनत्व हुँदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ,’ उनले भने।

त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालहरूसँग गहन छलफल गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष ढकालले जोड दिए। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App