१५ चैत्र २०८० बिहीबार
अर्थ

ग्रीनलाइनका सञ्चालक प्रहरी सम्पर्कमा

विदेशबाट आयातित महँगा मदिरा बिक्रेता ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ओमप्रकाश, अमित र अभिषेक अग्रवाल प्रहरी सम्पर्कमा आएका छन्।

बैंक तथा वित्तीय संस्थाको झन्डै ८० करोड रूपैयाँ जोखिममा राखेर गत पुस २२ देखि सम्पर्कविहीन रहेका उनीहरू बुधबार प्रहरीको सम्पर्कमा आएका थिए।

अग्रवाल परिवार बिहीबार काठमाडौं आइपुगेलगत्तै झन्डै ३५ दिनपछि प्रहरीको सम्पर्कमा आएका थिए। ‘ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले बुधबार बुबा आफ्नो सम्पर्कमा आइपुगेको जानकारी गराउनुभएको थियो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले भने, ‘त्यसलगत्तै हामीले फोनबाट उहाँहरूसँग कुरा गरेका थियौं। सोहीअनुसार उहाँहरू बिहीबार काठमाडौं आइपुगेको जानकारी पाएका थियौं।’ उजुरी दिने रजनी अग्रवालले आफन्त भेटिएको जानकारी गराएपछि थप अनुसन्धान नगरेको जानकारी उनले गराएका थिए।

यसअघि बुधबार प्रहरीमा पुगेर रजनीले ओमप्रकाशसहित परिवारका सबै सदस्य काठमाडौं फर्किन चाहेको बताएकी थिइन्। ‘रजनीले मेरो परिवारसँग कुराकानी भयो भनेर जानकारी गराउनु भएपछि प्रहरी परिसरलाई खबर गरेका थियौं,’ कमलपोखरी वृत्तका डिएसपी मीनबहादुर कुँवरले भने, ‘झन्डै पाँच मिनेटको फोन सम्पर्कमा अग्रवाल परिवारले आर्थिक कारोबार बिग्रिएपछि भारत पुगेको जनाएका थिए।’ एक महिनाअघि ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले बुबासहित माइतीका परिवार सम्पर्कविहिन भएको निवेदन प्रहरीमा दिएकी थिइन्।

अनुसन्धानको क्रममा प्रहरीले ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका नौ सदस्य वीरगञ्ज हुँदै भारत पुगेको तथ्य फेला पारेको थियो। सो क्रममा प्रहरीले अग्रवाल परिवारको ज्ञानेश्वरस्थित घरबाट नोटसमेत फेला पारेको थियो। अग्रवाल परिवारले मेगा, ग्लोबल आइएमई, एभरेष्ट र इन्भेस्टमेन्ट बैंकका उच्च पदाधिकारीहरूसँग सम्पर्क गरेर कर्जा तिर्न थप समयसमेत मागिरहेका छन्।

राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट झन्डै २४ करोड, ग्लोबल आइएमई बैंकबाट साढे सात करोड, एभरेस्ट बैंकबाट झन्डै २० करोड र इन्भेस्टमेन्ट बैंकबाट झन्डै ३० करोड रूपैयाँ कर्जा लिएको थियो। सन् १९९९ मा ओमप्रकाश अग्रवालले स्थापना गरेको ग्रीनलाइन सेन्टरलाई उनका छोराहरू अभिषेक अग्रवाल र अमित अग्रवालले सञ्चालन गर्दै आएका थिए।

विदेशबाट आयातित महँगा मदिरा स्टकमा राखेर सञ्चालकहरू फरार भएसँगै जमल र दरबारमार्गमा रहेको ग्रीनलाइनको पसल र ज्ञानेश्वरस्थित अग्रवाल निवासमा तीन सातादेखि चार वटा बैंकहरूले सूचना टाँसेर ताला लगाएका छन्। उनीहरूले बैंकहरूबाट ऋण लिन ग्रीनलाइनको स्टक मदिरा, ज्ञानेश्वरको १३ आना जग्गा र घर, सुरज अपार्टमेन्टको फ्ल्याट, कालिमाटीको २२ आना जग्गा धितो राखेका थिए।

अग्रवाल परिवार फरार भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको थियो। ब्यूरोका अनुसार मिटरब्याजीहरूले धम्क्याउन थालेपछि अग्रवाल परिवार पसल बन्द गरेर भारत पुगेका थिए।

व्यापार विस्तार गर्न उनीहरूले मिटरब्याजमा झन्डै २० करोड रूपैयाँ ऋण लिएका थिए। अग्रवाल परिवारले केही साझेदारसँग मिलेर विसं. २०७३ सालमा नवलपरासीमा सागर डिस्टिलरी नामको मदिरा उद्योग स्थापना गरेका थिए। सो प्लान्ट सञ्चालनमा नआउँदै अग्रवाल परिवारले सेयर किनबेच गरेका थिए।

प्रकाशित: २८ माघ २०७८ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App