७ वैशाख २०८१ शुक्रबार
अर्थ

डेढ अर्बमा मौलाकालिका केबलकार र तारे होटल

चन्द्रागिरी केबलकारको सफलतापछि लुम्बिनीमा केबलकार निर्माण गरिरहेको आइएमई समूहले अर्को केबलकार परियोजना निर्माण सुरु गरेको छ।

आइएमई समूहले नवलपुर गैंडाकोटमा मौलाकालिका केबलकार परियोजना अघि बढाएको हो। रेमिटेन्स, बैंकिङ, बिमा, जलविद्युत् क्षेत्रको सफलतापछि आइएमई समूह आक्रामक रूपमा होटल तथा केबलकार परियोजना निर्माणमा अघि बढेको छ।

डेढ अर्ब लगानीमा गैंडाकोटको मौलाकालिका केबलकार र तारे होटल निर्माण सुरु गरेको आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना लिएर अघि बढेका छन्।

चन्द्रागिरि केबलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर दुर्गा माता र मौलाकालिका केबलकार चढेर गएपछि मौलाकालिका मन्दिरको दर्शन गर्न पाइनेछ। तीनवटै परियोजनामा ढकालले धार्मिक स्थलमा केबलकार र होटल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न लागि परेका छन्।

धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मौलाकालिकामा केबलकार निर्माण गर्न लागेको ढकालले बताए। ‘पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकासमा योगदान पुग्छ,’ ढकालले भने, ‘मौलाकालिकालाई पनि नयाँ गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएका छौं।’ आइएमई समूहको प्रमुख लगानी गरेको मौलाकाली केबुलकार प्रालिले केलबार र तारे होटल निर्माण गर्न सुरु गरेको छ। आइएमई समूहले पर्यटन प्रवद्र्धनमा नयाँ विशेषता जोडेको छ। केबलकारसँगै होटल, बाल उद्यान र धार्मिकस्थललाई प्राथमिकतामा राखिएको छ।

पछिल्लो समय ढकालले लगानी गरेका कम्पनीलाई स्थानीयको अपनत्व वृद्धि गर्न सेयर दिँदै आएका छन्। यो परियोजनामा स्थानीयले पनि लगानी गरेका छन्।

कम्पनीले करिब डेढ अर्ब रूपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो। निर्माण सकिएपछि सर्वसाधारणका लागि समेत प्राथमिक सेयर निष्कासन गर्ने कम्पनीको योजना छ।

मौलकालिका केबलकारको बटम स्टेसन गैंडाकोट नगरपालिका वडा नं १ धारापानीमा र टप स्टेसन गैंडाकोट वडा नं २ को मौलाकालिका मन्दिरनजिकै रहनेछ। बटम स्टेसनबाट टप स्टेसनसम्मको दुरी करिब १२ सय मिटर हुने परियोजनाका इन्जिनियर गोकुल साउदले जानकारी दिए। मौलाकालिका केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई मिटर हुनेछ।

केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिनेछ। केबलकारले दैनिक करिब ६ हजार यात्रुलाई ओसार्ने क्षमताको बनाउने योजना छ। केबलकारमा १२ वटा यात्रु बोक्ने, एक सामान बोक्ने र अर्को क्याबिन गरी १४ वटा गोन्डाला राख्ने योजना छ।

केबलकार र होटलले करिब २५ रोपनी जमिन प्रयोगमा ल्याउने जनाएका छन्। परियोजनाले व्यक्तिगत सामुदायिक र राष्ट्रिय वनको प्रयोग गरेको छ। एक वर्षमा केबलकार र दुई वर्षमा होटल पनि निर्माण सम्पन्न गर्ने योजना रहेको इन्जिनियर साउदले बताए।

चन्द्रागिरी केबलकारमा धेरै वन फँडानी भएको भनेर आरोप खेपेको आइएमई समूहले मौलाकालिकामा कम वन प्रयोग गर्ने नीति लिएको छ। केबलकारको टप स्टेसनमा प्रयोग हुने भवनलाई नै होटलको रूपमा प्रयोग गर्नेछ। ‘केबलकारको टप स्टेसनको भवनमाथि नै होटल निर्माण गर्छौं,’ इन्जिनियर साउदले भने, ‘यसले होटलको लागि छुट्टै जग्गा आवश्यक पर्दैन।’

मौलाकालिका केबलकार प्रालिले बनाउने होटल ५० कोठाको हुनेछ। थ्री स्टार होटलमा रेस्टुरेन्स, स्पा, साउना, स्विमिङ पुल लगायत सुविधा हुनेछन्। होटलको छतमा हेलिप्याड समेत राख्ने गरी डिजाइन गरिएको छ।

मौलाकालिका मन्दिर मुलुककै धार्मिक पर्यटकीय गन्तव्य हो। त्यहाँबाट हिमालसँगै गैंडाकोट, चितवनको नारायणगढ, भरतपुर, देवघाट, कालीगण्डकी नदी लगायत रमणीय स्थलको दृष्यावलोकन गर्न सकिन्छ।

मौलाकालिकासँग हिन्दु धर्मका मान्यताहरू जोडिएका छन्। मन्दिरको पूर्वमा पवित्र तीर्थस्थल देवघाटधाम, उत्तरमा कालीगण्डकी नदी तथा दक्षिणमा नारायणी नदी पर्छन्। पन्ध्रौं शताब्दीको अन्त्यतिर सेन राजाको पालामा स्थापना गरिएको मौलाकालिका मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ।चितवनको नारायणगढबाट चार किलोमिटरको यात्रापछि त्यहाँ पुगिन्छ। मौलाकालिका मन्दिरमा पुग्न अहिले करिब ढेढ किलोमिटर पैदलै उकालो सिँढी चढ्नुपर्छ। केबलकार बनेपछि सजिलै त्यहाँ पुग्न सकिनेछ।

मौलाकालिका फेदीबाट १ हजार ८ सय ८२ वटा सिँढी चढेर गएपछि मन्दिर परिसरमा पुगिन्छ। सिँढीमार्गको दायाँबायाँ रहेका ठूला ढुंगामा मूर्ति बनाइएको छ। ढुंगामा कलात्मक मूर्तिहरू बनाउने काम भएको छ। केबलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्र थप व्यवस्थित हुनेछ।

आइएमई समूहको नेतृत्वमा रूपन्देहीको बुटवलमा पनि लुम्बिनी केबलकार परियोजना निर्माणाधीन छ। लुम्बिनी केबलकारको निर्माण २०७७ फागुन पहिलो सातामा सुरु भएको थियो।

व्यवसायी ढकालले केबलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी, बुटवल र मौलाकालिकामा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे ३ अर्ब लगानीमा निर्माण भइरहेको छ। भारतीय र लुम्बिनी आउने विश्वका अन्य पर्यटकलाई लक्ष्य गरेर लुम्बिनी केबलकार परियोजना अघि बढाएको हो।

निर्माणाधीन लुम्बिनी केबलकार रूपन्देहीको बुटवल उपमहानगरपालिका ३ बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुर डाँडामा टप स्टेसन रहेको छ। चन्द्रागिरि केबलकारको अनुभवबाट नै नयाँ थप दुई केबलकारका परियोजना अघि बढाएको ढकाल बताउँछन्। 

प्रकाशित: १४ माघ २०७८ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App