८ वैशाख २०८१ शनिबार
अर्थ

भन्सारमा इ–पेमेन्ट सुरु

अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलमा विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको बुधबार सुरुआत गरेका छन्।

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यो प्रणाली सुरु गरेका हुन्। यो प्रणाली लागू भएपछि व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता दिने मन्त्री शर्माले बताए।

हरेक वर्ष २६ जनवरीलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा मनाउँदै आइएको छ। यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगायतका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ,’ उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मदत गर्नेछ।’

मन्त्री शर्माले भन्सार बिन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए। उनले भन्सार प्रशासन सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए। मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे।

‘हामीले इ–पेमेन्टको सुरुआत गरेका छौं। छिट्टै नै हामी प्रमुख भन्सार नाकाहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौं,’ उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्ट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि पनि यो महत्वपूर्ण साधन हुनेछ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे।

अर्थमन्त्री शर्माले भन्सार बिन्दुहरूमा निजी क्षेत्रले माग गरे बमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए। यस्ता कामलाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै शर्माले अर्थतन्त्र धराशयी नभएको बताए। कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै शर्माले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने दाबी गरे।

अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने र सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए। यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै मरासिनीले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो पर्ने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्यांकनमा सुधार गर्न माग गरे। परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले बताए। यसले नयाँ पिँढीलाई व्यवसायमा आउन निरुत्साहित गरेको दाबी उनले गरे।

कपिलवस्तुमा पनि भन्सार दिवस

यसैबीच, कपिलवस्तुमा पनि ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ। सुठौली र कृष्णनगर भन्सार कार्यालयमा दिवस मनइएको हो। सो अवसरमा सुठौलीमा आयोजित कार्यक्रममा प्रजिअ चक्रपाणि पाण्डेयले एउटै जिल्लामा २ वटा ठूला भन्सार कार्यालय हुनु राम्रो कुरा भएको बताए।

उनले ३ वर्षअघि स्तरोन्नति गरिएको सुठौली भन्सार कार्यालयको स्तर बढाउँदै लानुपर्ने बताए। उनले सुठौली भन्सारमा यार्ड, धर्मकाँटा लगायत सुविधा तत्कालै हुनुपर्ने बताए।

उनले भन्सारका कर्मचारी इमान्दारीपूर्वक राजस्व संकलमा लाग्नुपर्ने बताए। कार्यक्रममा सुठौली भन्सारका प्रमुख अभिषेक कन्ठले धर्मकाँटा नहुँदा टायल र मार्बल आउन रोकिँदा राजस्व संकलनमा असर परेको बताए। उनले धर्मकाँटा निर्माणका लागि बजेट आइसकेको र एक हप्ताभित्र टेन्डर निकालिने बताए।

भन्सार यार्ड निर्माणका लागि ८–१० बिघा जमिन आवश्यक पर्ने भएकाले आवश्यक जमिनका लागि पहल गर्न पनि उनले अपिल गरे। उनले भारतीय सवारी साधनलाई व्यवस्थित गर्नुपर्ने बताए।

कार्यक्रमा सुठौली भन्सारलाई जग्गा दान दिने सोमनाथ चौधरी, व्यवसायी श्रीराम मिश्रा, हबिबुल्ला मुसलमान, नासु रणबहादुर बुढा, कार्यालय सहयोगी ओमबहादुर थारु, र प्रथम डिजिटल पेमेन्ट गर्ने दिलीप कहारलाई दोसल्ला र कदरपत्रले सम्मानित गरिएको थियो।

प्रकाशित: १३ माघ २०७८ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App