coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पतञ्जली, डाबर र एभरेस्टको मह परीक्षण गर्ने तयारीमा प्रहरी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण गर्ने एकजनालाई पक्राउ गरेलगत्तै प्रहरीले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको परीक्षण गर्ने भएको छ। बजारमा गुणस्तरहीन मह बिक्रीवितरण भइरहेको पाइएपछि महानगरीय अपराध महाशाखाले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको गुणस्तर परीक्षण गर्न लागेको हो। ‘बजारमा गुणस्तरहीन मह खुलेआम बिक्री भइरहेको गुनासो आएपछि पतञ्जली, डाबर र एभरेस्टलगायत झन्डै एक दर्जन मह उत्पादक कम्पनीका मह परीक्षणको तयारी भइरहेको छ,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले गत साता काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा पक्राउ गरेको थियो। राजधानीमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरीको टोलीले ६ सय केजी गुणस्तरहीन तयारी मह, ६५ सय केजी कच्चा तथा गुणस्तरहीन मह, ७ सय केजी ग्लुकोज, एक सय केजी चिनी, एक थान तौल मेसिन, एक थान लेभल मेसिन, एक थान सिल मेसिन, एक थान पेट्राइज मेसिन, एक थान स्टोरेज मेसिन, स्टिकर र एक हजार पिस पेट जारलगायत सामग्रीसमेत बरामद गरेको थियो।  

‘सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–६ का नरबहादुर श्रेष्ठले विगत सात वर्षदेखि पत्नी रस्मिला श्रेष्ठका नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्रीवितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानमा पाइयो,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, ‘उनले नतिजा प्याकेजिङका नाममा कम्पनी दर्ता गरी स्पर्श हनी नामको लेबल टाँसी बिक्रीवितरण गर्ने रहेछन्। गुणस्तरहीन मह उपादन तथा बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा अपरेसन हनीमार्फत उनलाई पक्राउ गरिएको थियो।’ गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्रीवितरण भइरहेको प्रहरीले जनाएको थियो।  

उनले दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी गुणस्तरहीन मह बनाई दर्ता नभएको स्पर्श हनी ब्रान्ड प्रतिकेजी ६ सय ५० रूपैयाँमा बिक्रीवितरण गर्दै आएका थिए। उनले गुणस्तरहीन मह बनाउन ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्दै आएका थिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा स्पर्श हनी ब्रान्ड परीक्षण गराउँदा एचएमएफ र एफजीको मात्रा सरकारले तोकेको अनिवार्य गुणस्तरअनुरूप नरहेको र मह खान योग्य नरहेको जनाएको थियो।

गुणस्तरहीन मह उत्पादन गरी बिक्रीवितरण गरेको आरोपमा पक्राउ परेका नरेश श्रेष्ठले बजारको डिमान्डअनुसार त्यस किसिमको मह उत्पादन गरेको स्पष्टीकरण दिएका थिए। नेकपा एकीकृत समाजवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्षसमेत रहेका उनीविरुद्ध कालोबजारी ऐनअनुसार मुद्दा चलाउने प्रहरीले जनाएको थियो। 

‘पक्राउ परेका श्रेष्ठले बजारको डिमान्डअनुसार ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको बताएका थिए,’ महाशाखाका प्रमुख कुँवरले भने, ‘उनले ग्राहकले खरिद गर्न सक्ने स्तरको मह उत्पादन गरेको बताएका थिए। सबै उत्पादकले यसरी नै मह तयार गर्ने भनेपछि हामीले मह उत्पादन गर्ने पतञ्जली, डाबर र एभरेस्टलगायत मह कम्पनीको महको गुणस्तर परीक्षण गर्न खोजेका हौं।’

महाशाखाले उपत्यकालगायत देशका विभिन्न भागमा नक्कली तथा गुणस्तरहीन मह बिक्रीवितरण भइरहेको पाइएकाले त्यसतर्फ सचेत रहन आम नागरिक तथा उपभोक्ताहरूलाई आग्रह गरेको थियो। महाशाखाले थप अनुसन्धान कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।

प्रकाशित: १० माघ २०७८ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App