१५ चैत्र २०८० बिहीबार
अर्थ

भक्तपुरे तोरीको तेललाई ब्रान्ड बनाइने

भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेसालाई ब्राण्ड बनाउने प्रयास थालिएको छ। जिल्लाका स्थानीय मानन्धर समुदायले तोरी पेलेर तेल निकाल्ने यो पेसालाई ब्रान्ड बनाउन तोरीको तेल उत्पादनसम्बन्धी अध्ययन समिति गठन गरिएको छ। भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन्। तेल पेल्नु यहाँंका मानन्धर थर भएका समुदायको परम्परागत पेसा हो।  

अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवालाई समेटेर परम्परागत पेसालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको बताए। त्यसै क्रममा सुरुमा पुख्र्यौली पेसाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्रान्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको संयोजक मानन्धरले बताए। समितिले यस क्रममा सरोकारवाला पक्षलाई सहभागी गराएर छलफल कार्यक्रम सम्पन्न गरिसकेको मानन्धरले बताए। मानन्धर समुदायको लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्रान्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको बताउँछन्।  

भक्तपुर चेम्बर अफ कमर्सले प्रवद्र्धन गर्ने भएपछि करिब हराइसकेको परम्परागत पेसालाई पुनरुत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका छन्। यस कार्यमा अन्य संघ–संगठनले पनि हातेमालो गर्न थालेका छन्। भक्तपुर जिल्ला मानन्धर युवा संघले यसमा सहयोगीको भूमिकामा खेलिरहेको छ। उसैको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको छलफल कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी भएको जनाइएको छ।

‘लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेसाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं,’ अभियानमा सहभायी मानन्धर युवाहरूको सामूहिक भनाइ छ। साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेसा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उनीहरूको बुझाइ छ। योजनालाई सफल बनाउन योजनाबद्ध रूपमा छलफल गर्दै अगाडि बढ्ने योजना बनाइएको छ।  

यो व्यवसाय विशेष गरेर भक्तपुरको साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी, मध्यपुर थिमिको चोडेलगायत देखिन्छ। तोरीको तेललाई मात्रै नभएर यहाँंको जुजु धौ, कालो टोपी, हस्तकला, लोकल रक्सी, चिउरा, चाकुलगायत स्थानीय उत्पादनलाई ब्रान्ड बनाउनुपर्ने देखिन्छ। तर सरकारी नीति तथा प्रोत्साहन अभावले करिब उस्तै उत्पादनहरू विदेशबाट आयात गरी उपभोग भइरहेको छ।

प्रकाशित: ९ माघ २०७८ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App